अन्तर्राष्ट्रिय महिला दिवस मनाईँदै : यस्तो छ इतिहास

2330 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 International-Womens-Day-2017

काठमाडौं : विभिन्न कार्यक्रम गरी बुधबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस नेपालमा पनि मनाईदै छ । हरेक वर्षको मार्च ८ का दिन मनाईने महिला श्रमिक दिवसका लागि नेपालमा विभिन्न कार्यक्रमहरुको तयारी गरिएको छ ।

नारी हक हितको क्षेत्रमा काम गर्दै आएका संघ संस्था र विभिन्न राजनीतिक दलका भ्रातृ संस्थाहरुले मार्च ८ को दिनलाई अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस तथा नारी दिवसका रुपमा मनाउँदै आएका छन् ।

सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो ।

यस पटकको अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको नारा परिवर्तनका लागि साहसी बनौँ (बी बोल्ड फर चेन्ज) तय गरिएको छ ।

सन् १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्विट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो ।

अहिले नेपाली महिलाले पनि यो आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग गाँसेर दिवस मनाउने क्रमले निरन्तरता पाउंदै आएको छ । पुरुष सरह महिलाको अधिकार हुनुपर्ने आवाज उठाउँदै यो दिवस मनाइन्छ ।

नेपालको संविधान २०७२ ले सबै निकायमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको छ । त्यस अनुसार राष्ट्रपति, सभामुखमा महिलाले नै नेतृत्व गरेका छन् ।

विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति र ओनसरी घर्ति पहिलो महिला सभामुख बनेका छन् । यस्तै सुशीला कार्की पहिलो महिला प्रधान न्यायाधीश बनेकी छन् ।

दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री पुष्पकमल दाहालले शुभकामना सन्देश दिएका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा नारीलाई सम्मान गर्न सके सबैलाई सम्मान प्राप्त हुने धारणा व्यक्त गरेका छन् ।

-नेपाल ताराबाट