वैदेशिक रोजगारीको लागि मलेशिया जानु अघि नै लुटिन्छन् युवा

694 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली युवाहरुको लागि रोजगारीको एउटा प्रमुख गन्तब्य हो, मलेशिया । अहिले पनि मलेशियामा करिब ६ लाखको हाराहारीमा नेपाली कामदारहरु कार्यरत छन् । वार्षिक करिब १ लाख ५० हजार युवायुवती रोजगारीका लागि मलेशिया जाने गरेका छन् । तर मलेशिया जानका लागि अहिले यो वा त्यो नाममा तगारो राखेर युवाहरु लुटिंदै छन् ।

रोजगारी
अहिले १ जना नेपाली युवाले मलेशिया कामका लागि जानुपरेमा भिसा आउने बेलासम्ममा कम्तीमा पनि १७ हजार ६ सय रुपैयाँ तिर्नुपरेको छ । एकजना युवा म्यानपावर कम्पनीमा पुगेर अन्तरवार्ता दिएपछि उसले सुरुमै माइग्रामका लागि भन्दै म्यानपावर कम्पनीलाई ३ हजार २ सय रुपैयाँ बुझाउनुपर्छ । मेडिकल गर्नुभन्दा पहिले मेडिकल रजिस्ट्रेसन गर्नुपर्ने भन्दै माइग्रामका नाममा कामदारले आफ्नो नाममा मलेशियाको माइग्रामको पैसा तिर्नुपर्छ ।
माइग्राम रजिस्ट्रसन भएपछि उसले बायोमेडिकलका नाममा ४ हजार ५ सय रुपैयाँ बुझाउनुपर्छ । फिङ्गरप्रिण्टसहितको मेडिकल चेकजाँच भन्दै यहाँका ३७ वटा स्वास्थ्य संस्थाहरुले प्रतिव्यक्ति ४ हजार ५ सय उठाइरहेका छन् ।
बायोमेडिकलका नाममा ४ हजार ५ सय तिरिसकेपछि पैसा बुझाउनुपर्ने अर्को स्थान हो जिएसजी कम्पनी । मेडिकल पास भएपछि नेपाली युवाले महाराजगञ्जमा रहेको जिएसजी कम्पनीलाई ३ हजार २ सय रुपैयाँ बुझाउनुपर्छ । आइएससी अर्थात् इमिग्रेन सेक्युरिटी क्लिरेन्सका नाममा प्रतिव्यक्ति ३ हजार २ सय असुल्छ यस कम्पनीले ।
मलेसियामा पहिले बसे नबसेको, गल्ती वा अपरोध गरे नगरेको आदि हेर्ने र इमिग्रेसन सेक्युरिटी क्लिरेन्स सर्टिफिकेट दिने भन्दै यस कम्पनीले यसरी पैसा उठाइरहेको छ । यद्यपि नेपालमा आइएससी पास भएकाहरु पनि मलेसियाको इमिग्रेसनले फर्काइदिने गरेको छ न्यूज 24 नेपाल टिभिमा खबर छ ।

जिएसजी कम्पनीले ३ हजार २ सय लुटेपछि लुटिने अर्को स्थान हो, भीएलएन नेपाल र वान स्टप सेण्टर । पहिले भीएलएन का नाममा प्रतिव्यक्ति ३ हजार २ सय लिँदै आएको भीएलएन नेपाल नामक कम्पनीले अहिले यसमा वान स्टप सेण्टर थप गरेर प्रतिव्यक्ति ६ हजार रुपैयाँ असुली रहेको छ । मलेशियाको दूतावासलाई भिसा प्रोसेसिङमा सघाउ गर्नेगरी भीएलएन नेपाल खडा गरिएको थियो । र अहिले भिसा प्रोसेसिङसमेत एकै ठाउँबाट गर्ने भनी यी दुई संस्थाले एकमुष्टरुपमा ६ हजार र भिसा शुल्कका लागि थप ७ सय गरी कुल ६ हजार ७ सय रुपैयाँ असुली रहेको छ ।

जबकि नेपाल सरकारले भने मेडिकलका लागि जम्मा ४ हजार ५ सय रुपैयाँ लिन पाउने र भिसा शुल्क ७ सय गरी जम्मा ५ हजार २ सय लिन पाउने भनेको छ । तर मलेशिया जाने कामदारहरुमाथि विभिन्न स्थानमा तगारो राखेर विभिन्न व्यक्ति र संस्थाले प्रतिव्यक्ति १७ हजार ६ सय रुपैयाँ लुटिरहेका छन् ।