धादिङ र काभ्रेमा  बिषादीजन्य रोगको अध्ययन हुने

1009 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

f0849b8cca7bcce92a54d2c9fc52b43c_Lधादिङ । नेपालमै सबैभन्दा बढी बिषादी प्रयोग गरी तरकारी उत्पादन हुने दुई जिल्लामा बिषादीका कारण सर्वसाधारणमा लाग्ने रोगको बारेमा अध्ययन गरिने भएको छ । अर्गानिक उत्पादनलाई प्रोत्सान गर्दै अभियान सञ्चालन गर्दैआएको नेपाल पर्माकल्चर समूहले दुई वटा जिल्लामा बिषादीका कारण उत्पन्न भएको रोगको बारेमा अध्ययन गर्न लागेको हो ।


पर्माकल्चर समूहका अध्यक्ष ठाकुर भण्डारीकाअनुसार पहिलो चरणमा धादिङ र काभ्रेमा जिल्लामा बिषादीको प्रयोग र बिषादीबाट प्रभावित भएका व्यक्तिहरुको बारेमा अध्ययन गर्न लागिएको छ । दोश्रो चरणमा बारा र इलाममा अध्ययन गरिनेछ ।

‘बिषादीको नियमित सम्पर्कमा रहने र बिषादी प्रयोग गरी उत्पादन गरिएका तरकारी तथा खाद्य पदार्थ सेवन गरेका कारण विभिन्न प्रकारका घातक रोगबाट सर्वसाधारण प्रभावित भएका छन्’, भण्डारीले भने,‘बिषादीका कारण क्यान्सरजन्य, मृगौला विग्रने, हर्ट अट्याक हुने, मस्तिक्स पक्षाघात हुनेलगायतका रोगबाट प्रभावित हुनेको सर्वसाधारणको संख्या दिनानुदिन बढ्दै गएको छ । उक्त जिल्लामा बास्तविक अवस्था कस्तो छ भनेर अध्ययन गर्न लागेका छौं ।’

उनकाअनुसार नेपालमा बर्षेनी तीन सय ४५ मेट्रिक टनको हाराहारीमा बिषादीको आयात हुन्छ । त्यसमध्ये ९५ प्रतिशत हरियो तरकारीमा प्रयोग हुँदैआएको छ । आयात हुने कूल बिषादीमध्ये ९५ प्रतिशत धादिङ र काभ्रे र बारा जिल्लाका किसानले प्रयोग गर्दैआएका छन् । असुरक्षित रुपमा बिषादी प्रयोग गरिएका कारण उक्त जिल्लाका कूल किसानको संख्यामध्ये ७०.५ प्रतिशत किसानमा टाउको दुख्ने, ६८ प्रतिशतमा आँखाजन्य रोग लाग्ने, ३० प्रतिशतमा ज्वरो आउने, २८ प्रतिशतमा अचेत हुने समस्या, २१ प्रतिशतमा घाँटी दुख्ने र १९ प्रतिशतमा वाकवाकी आउने समस्या भेटिएको पर्माकल्चरले जनाएको छ ।

बिषादी नियन्त्रणकै नाममा दातृ निकायको सहयोगमा बढी बिषादी प्रयोग हुने जिल्लामा सरकारले ४५ करोडभन्दा बढी रकम खर्चेर आईपीएम कार्यक्रम सञ्चालन गरेपनि बिषादी दर घट्नुभन्दा बढ्दै गएको ठाकुरले औल्याए ।