क्षेत्र निर्धारण आयोगका अध्यक्ष र सदस्यहरूबाट सपथ ग्रहण , आयोगले मंगलवारबाटै औपचारिक रूपमा काम थाल्यो

645 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ, १२ असार(धादिङन्युज ) । निर्वाचन क्षेत्र निर्धारण आयोगका पदाधिकारीहरूले मंगलवार  पद तथा गोपनीयताको सपथ लिएका छन् । आयोग गठन भएको १२ दिनपछि अध्यक्ष तथा सदस्यहरुको सपथ भएको हो । यसअघि आयोगका अध्यक्ष ताहिर अलि अन्सारीलाई कसले सपथ गराउने भन्ने विवादले गर्दा सपथ कार्यक्रम हुन सकेको थिएन ।
मंगलपवार कामुप्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले अध्यक्ष अन्सारीलाई सपथ गराउनुभएको हो । त्यसपछि  अरू सदस्यहरुलाई अन्सारीले सपथ गराउनुभएको हो । सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अन्सारीको अध्यक्षतामा पाँच सदस्यीय निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरेको हो । आयोगका सदस्यमा नेत्र धिताल, मधुनीधि तिवारी र डम्बर चेम्जोङ हुनुहुन्छ भने प्रधानमन्त्री कार्यालयका सचिव राजुमान सिंहलाई आयोगको सदस्यसचिव तोकिएको छ । सपथपछि आयोगले मंगलवारबाटै औपचारिक रूपमा काम थालेको छ । २ सय ४० वटा निर्वाचन क्षेत्रलाई थपघट नगरी एक महिनाभित्र पुननिर्धारण गर्नुपर्ने जिम्मेवारी आयोगलाई दिइएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगको कार्यालय नयाँ बानेश्वरस्थित सम्मेलन केन्द्र परिसरमा रहेको छ ।