मनसुन अझै कमजोर, ठूलो वर्षा नहुने

1022 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

100_5621काठमाडौं : मनसुन भित्रिएको साता बिते पनि पूर्वीभागमा मात्र सक्रिय हुँदा वर्षा हुन सकेको छैन । झन् मनसुन कमजोर रूपमा बदली भइरहेकाले वर्षा हुन साता बढी समय लाग्ने मौसमविद्ले बताएका छन् । उपत्यकामा सातादेखि मौसमी प्रणाली नियमित भएको छैन ।

सोमबारदेखि पूर्वी र मध्यक्षेत्रमा मनसुनमा क्रमिक सुधार हुन थालेकाले कमजोर वर्षा सुरु हुने जलवायु तथा मौसम पूर्वानुमान महाशाखा एयरपोर्ट शाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । वर्षा हुन नसकेपछि सातादेखि आइतबारसम्म क्रमिक रूपमा तापक्रम वृद्धि भइरहेको थियो । आइतबार मात्र काठमाडौंको अधिकतम तापक्रम ३१ दशमलव ८ डिग्री सेल्सियस थियो भने सोमबार २९ दशमलव ८ डिग्री सेल्सियस रह्यो । सोमबार सबैभन्दा धेरै तापक्रम भैरहवामा ३८ डिग्री सेल्सियस मापन भएको थियो ।

सोमबार रातिदेखि पूर्वी र मध्यभागमा सामान्य वर्षा सुरु भए पनि पश्चिमी क्षेत्रमा वर्षाको सम्भावना नभएको कँडेलले जानकारी दिनुभयो । पूर्वीक्षेत्रबाट भित्रिएको मनसुन अझै पश्चिमी क्षेत्रसम्म फैलिन सकेको छैन । आइतबारको तुलनामा सोमबार तापक्रममा समेत गिरावट आएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

मंगलबारदेखि क्रमिक रूपमा मनसुन सक्रिय हुँदै जाने भएकाले देशभर सामान्य वर्षा हुने महाशाखाको पूर्वानुमान छ । मौसम बदली सुरु भएकाले पश्चिमी क्षेत्रमा फैलिँदै गएकाले ठूलो वर्षा हुन केही दिन लाग्न सक्ने महाशाखाले जनायो । पूर्वीमनसुनी वायुको तुलनामा पश्चिमी मनसुन सक्रिय हुँदा देशभर मनसुन फैलन नसकेको हो । वर्षा नहुँदा अधिकांश किसानले रोपाइँ गर्न सकेका छैनन् ।

महाशाखाले क्षेत्रगत रूपमा दैनिक तीन घन्टा फरकमा १६ स्थानबाट र चार सय बढी स्थानबाट मासिक रूपमा मौसमी अवस्था संकलन गरी रिपोर्ट दिँदै आएको छ । देशभर मनसुन सक्रिय हुन अझै केही दिन लाग्ने महाशाखाको पूर्वानुमान छ । यो वर्ष केही समयअघि नै मनसुन भित्रिने प्रक्षेपण गरेको भए पनि केही समय ढिलो मनसुन भित्रिएको हो । गत वर्ष असार १ गते मनसुन भित्रिएको थियो यस वर्ष तीन दिनअघि नै मनसुन भित्रने अनुमान थियो । पूर्वी नेपालबाट भित्रिएको मनसुनी वायु सुदूरपश्चिमसम्म पुग्नलाई अझै एक साता लाग्नसक्ने मौसमविद् कँडेलले बताउनुभयो । वर्षाको प्रणाली सक्रिय नहुँदा उपत्यकामा समेत सुक्खा र गर्मी बढेको हो ।

नेपालमा जुनदेखि सेप्टेम्बरसम्मको अवधिलाई मनसुनी अवधि मानिन्छ । यो मनसुनी अवधिमा ८० प्रतिशत वर्षा हुने गर्छ । प्रिमनसुनमै राम्रो वर्षा भएकाले त्यसैको प्रभावले मनसुनी अवधिमा वर्षा नियमित हुन नसकेको महाशाखाको बुझाइ छ । प्रिमनसुनमा भएको वर्षाले गहुँ, तरकारी, चैते धानजस्ता बालीलाई पर्याप्त पानी पुग्दा किसान लाभान्वित भएका थिए ।