सलबलायो राधे ग्याङ, अशान्त बन्यो शान्तबजार

1891 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

radhe (1)(1)धादिङ ६ असार  – धादिङका गुण्डा नाइके राधे भण्डारीले खुँडा प्रहार गर्दा आयुप तामाङ गम्भीर घाइते भएका छन् । गुण्डा नाइके राधे भण्डारीको समूहले अन्धा धुन्दा खुँडा प्रहार गर्दा धादिङकै आयुप तामाङ गम्भीर घाइते भएका हुन् ।

धादिङ बेसीस्थित शान्ताबजार चोकमा सोमबार बेलुका पौन ८ बजेतिर खुँडा हानाहान भएको थियो । शान्ताबजारमा रहेको एक होटलमा आयुप तामाङ खाजा खाइरहेको बेला गुण्डा नाइके राधेको समूहले उनीमाथि खुँडा हानेको हो ।

राधे भण्डारी, उनका भाइ गोपीकृष्ण भण्डारी, सन्देश तामाङ, प्रकाश तामाङ, व्रिजेश गुप्ता र मोहन पाण्डेको समूहले उनीमाथि खुँडा हानेको प्रहरीले जनाएको छ । खुँडा प्रहारबाट आयुप तामाङको एउटा हात छिन्नै लागेको छ । टाउकोमा खुँडा प्रहार गरेको बेला हातले छेक्दा उनको हात छिन्न लागेको प्रहरी स्रोतको भनाई छ ।

त्यस्तै उनको टाउकोमा पनि गम्भीर चोट लागेको छ । खुँडा प्रहारबाट बिच सडकमै ढलेका तामाङ अचेत अवस्थामा थिए । ६ वटा मोटरसाइकलमा आएका समूहले तामाङमाथि अन्धा धुन्दा खुँडा प्रहार गरेपछि उनीहरु फरार छन् ।

‘मोटरसाइकलमा आए र फिल्मी शैलीमा आक्रमण गरे । वरिपरीका मान्छेहरु वाल्ल परेर हेरे, दुई मिनेटमा सबै काम सकेर राधेको समूह फरार भयो’ स्थानीय बासिन्दालाई उद्धृत गर्दै एक प्रहरीले भने ।

गम्भीर घाइते आयुप तामाङको अवस्था चिन्ताजनक छ । तामाङलाई तत्कालै एम्बुलेन्समार्फत काठमाडौं स्थित न्यूरो अस्पताल ल्याइएको छ । उनको अहिले न्यूरो अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ । उता खुँडा प्रहार गर्ने राधे समूह भने फरार छ ।

घटना हुनको कारण यस्तो छ

धादिङका गुण्डा नाइके राधे भण्डारीको समूहले केही दिनअघि आयुपको गाडी तोडफोड गरेका थिए । आफ्नो गाडी तोडफोड भएपछि आयुपले प्रहरीको उजुरी हालेका थिए । प्रहरी प्रशासनले मिलापत्र पनि गरेको थियो ।

त्यही घटनालाई कारण बनएर प्रहरीकोमा उजुरी किन हालिस भन्दै राधे समूहले आक्रमण गरेको भन्ने खबर बाहिर आएको छ । गुण्डाहरुका बारेमा अनुसन्धानमा संलग्न एक प्रहरी भने यो कुरामा विश्वास गर्दैनन् । राधे भण्डारी नेपाली कांग्रेस निकट मानिन्छन् । उनी गुण्डागर्दीमा लाग्दै पटक पटक पक्राउ पर्दै राजनीतिक दबाबमा छुट्दै आएका छन् ।

उता आयुप तामाङ पहिला चरी समूहका गुण्डाका रुपमा चिनिएको प्रहरी स्रोतको भनाई छ । चरीको ज्यान गएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अहिले उनी धादिङको नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्रका नगर सभापति हुन् ।

यी दुई बिच धादिङमा ठेक्का पट्टाका बारेमा पटक पटक विवाद हुने गरेको प्रहरीको बुझाई छ ।

धादिङका गुण्डा नाइके राधे प्रहरीको गुण्डा लिस्टको ‘बि’ ग्रेडमा छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिशन राधेले लिनेको गरेको बुझाई छ ।

गुण्डा नाइके दिनेश अधिकारी (चरी) समूहले राधेका भाइको हात काटिदिएपछि राधे समूह सक्रिय भएको थियो । प्रहरी मुढभेडमा मारिएका गुण्डा नाइके दिनेश अधिकारी (चरी) माथि त्यही रिसिइबीमा २०७० असार २१ मा धादिङबाट राजधानी फर्किने क्रममा राधेको समूहले ज्यान मार्ने उद्देश्यसहित गोली हानेको थियो । यो घटनामा राधे पक्राउ परेपनि राजनीतिक दबाबमा डेढ लाख रुपैयाँ धरौटीमा राधे छुटेका थिए ।

-उज्यालो अनलाइनबाट