खानेपानी पैँचो चलाउँछन् बुस्रबाङका चेपाङ

1101 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

ब्रुसबाङ (धादिङ)- चाउरिएका गाला। सेतै फुलिसकेका कपाल। पुरानो भइसकेको गन्जी। त्यस्तै पुरानो लुङ्गी लगाएकी। दुई घुँडा मारेर सकिनसी जाँतोमा मकै पिन्दै छिन् फुलमायाँ चेपाङ। उनी भन्दै थिइन् ‘बलियाबाङ्गाहरु पानी बोक्न गए, म बुढीको काम यही त हो नि।’

दक्षिणी धादिङको महादेवस्थानस्थित ब्रुसबाङका चेपाङ समुदायले खानेपानी छिमेकीसँग पैचो मागेर खान बाध्य छन्। ‘एक गाग्रो पानी ल्याउन ४ घण्टा हिँड्नुपर्छ। बच्चा र बुढाहरु पानी लिन जान सक्दैनन्। सुर्जीमाया चेपाङले भनिन्- ‘पानीबोक्न नसक्नेहरुलाई घरको काम लगाउनु हाम्रो बाध्यता हो। यसो गरिएन भने त पानी पैचो मागेर खानुपर्छ।’

यो बुस्रबाङका चेपाङ समुदायको साझा समस्या हो। बुस्रबाङमा ३५ घरधुरी चेपाङ छन्। पानीको एक मात्र मुहान गाउँदेखि दुई घण्टा तल बाङ्कुतिर्को भीरमा छ। कुवाबाट जम्मा गरेको पानी यहाँका चेपाङ समुदायलाई सुन बराबर नै छ।

बिहानै उठ्नु, आखाँ मिच्दै ग्रागी समातेर कुवातिर कुद्नु यहाँको दैनिकी हो। फर्किदा आधा विहान गइसक्छ। अरुले उछिन्ला भनेर भिसमिसेमै कुवासम्म म्याराथुन जस्तै चल्छ। सुर्जिमायाँले थपिन् ‘वस्तुभाउको पानी खाने पालो दुई/तीन दिनमा मात्र आउँछ।’

घरमा बिरामी परेको बेला त झनै समस्या थपिन्छ। ‘घरधन्दा कस्ले गर्ने? पानी लिन को जाने? एक/दुई दिन त छिमेकीसँग पैचो मागेर काम चल्छ, छिमेकीले पनि कति दिन देओस्’ प्रेमबहादुर चेपाङले भने, ‘बिरामी परेको बेलासमेत पेटभरी पानी खान पाइँदैन।’

फूलमाया चेपाङ ज्वरोले दुई हप्ता थला परिन्। ज्वरो आउने, टाउको दुख्ने समस्याले पानी ल्याइदिने कोही भएन। फूलमायाको ५ वर्षे छोरा छ। श्रीमान कामका लागि मनाङ गए। बिरामी हुदाँ न पानी ल्याउन सकिन् न औषधी किन्न। उनले भनिन्, ‘दश दिनसम्म छिमेकीसँग दिनहुँ एक लोटा पानी पैचो मागेर खाएँ, बिरामी बिसो भएपछि पानीको पैचो तिर्न झण्डै आधा महिना लाग्यो।’ सुत्केरी भएका र बिरामी परेकाहरुले छरछिमेकबाट पानी पैचो मागेरै चलाउने गरेको उनले सुनाइन्।

गाउँमा पानी नभएका कारण हरेक वर्ष खाद्यन्न संकट भोग्नुपरेको छ। उत्पादन भएको अन्नबालीले ३ महिनासम्म जेनतेन पुग्छ। बाँकी ९ महिना सिस्नु र गिठ्ठा खोजेर पेट भर्ने गरेको स्थानीयहरु सुनाउँछन्। गाउँ पुगेका जोकोहीलाई घरबाट पानी निकालेर पेटभरी खानदिनसक्ने अवस्था छैन। पाहुना आउँदा समेत पानी नभएका कारण खाना पकाएर खुवाउन समेत समस्या रहेको पूर्णबहादुर चेपाङले बताए।

पानीका कारण बु्रससबाङका चेपाङ महिलाको दैनिकी अझ बढी कष्टकर बन्दै गएको छ। फलस्वरुप महिलाहरुमा पाठेघर खस्ने समस्या, बालबालिकाहरुमा कुपोषणको समस्याले विकराल रुप लिएको छ। पानीकै कारण भूकम्पले भत्किएको घर पुननिर्माण गरेर बस्न सक्ने अवस्था छैन।

गाउँमा पानी ल्याउनका लागि जिल्ला विकास समितिले गरेको सर्भेअनुसार ४५ लाख रुपैयाँ लाग्छ तर १५ लाख रुपैयाँभन्दा बढी रकम गाउँमा अनुदान नआएकाले पानी खानका लागि गाउँबासी अझै कयौँ वर्षसम्म तिर्खाएरै बस्नुपर्ने बाध्यता छ यो खबर हामीले नागरिक दैनिकबाट लिएका हौं ।