आज तीसौँ विश्व एड्स दिवस मनाइँदै

876 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bc39da34722e01fad9874c5e66736c151512089240काठमाडौं । आज तीसौँ विश्व एड्स दिवस ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ मनाइँदैछ । महामारीका रूपमा विश्वभर फैलिएको एचआइभी एड्स रोगको संक्रमण घट्दो क्रममा रहेको जनाइएको छ । एक तथ्यांकअनुसार सन् २०१० देखि २०१६ सम्ममा विश्वव्यापीरूपमा एचआइभी संक्रमण ११ प्रतिशतले घटेको छ ।

एड्स रोगबाट सबैभन्दा धेरै व्यक्तिको मृत्यु भएको वर्ष सन् २००५ मानिएको छ । उक्त वर्षलाई आधार मान्दा सन् २०१६ सम्ममा एड्स रोगबाट मर्नेको संख्या ४८ प्रतिशतले घटेको छ । सन् २०१६ को अन्त्यसम्ममा विश्वभर तीन करोड ६७ लाख व्यक्तिमा एचआइभी संक्रमण रहेको अनुमान छ । सन् २०१६ सम्ममा विश्वमा कुल एचआइभी संक्रमित व्यक्तिमध्ये ५३ प्रतिशत (एक करोड ९५ लाख) मात्र एआरभी उपचारमा छन् ।

नेपालमा पनि एचआइभी संक्रमितको संख्या सन् २०१० को तुलनामा सन् २०१६ सम्ममा ५७ प्रतिशतले घटेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । बच्चाहरूमा हुने संक्रमण ६८ प्रतिशतले घटेको र एड्सका कारणले मृत्यु हुनेको संख्या ३० प्रतिशतले घटेको केन्द्रले जनाएको छ । सन् २०१६ सम्ममा नेपालमा ३२ हजार ७५३ जना संक्रमित रहेको अनुमान छ । यीमध्ये ४० प्रतिशत (१४ हजार ५४४ जना) एआरभी (एन्टी रेट्रो भाइरल) उपचारमा रहेको केन्द्रले जनाएको छ ।

सन् २०२० सम्म ९० प्रतिशत एचआइभी संक्रमितलाई उपचारमा पहुँच पु¥याउने सरकारको प्रतिबद्धता छ ।

नेपालमा संक्रमितमध्ये पुरुषको संख्या २० हजार २३२ र महिलाको संख्या १२ हजार ५०३ छ । केन्द्रका अनुसार यीमध्ये ७० प्रतिशत असुरक्षित यौन सम्पर्कका कारणले संक्रमित भएका हुन् ।जनचेतनाको कमी र सुरक्षा अपनाउने साधनको सावधानीपूर्वक प्रयोग नगर्दा यस्तो जोखिम बढेको केन्द्रले जनाएको छ । अहिले १४ हजार ५ सय ४४ जना एचआइभी संक्रमितले मात्रै उपचार गराइरहेका लामिछानेले जानकारी दिनुभयो । धेरै संक्रमित परिवारको डरका कारण भारतमा गएर उपचार गराउन बाध्य भएको उहाँको भनाई छ । एचआइभी रोकथामका लागि सरकारले यस वर्ष ५० करोड र निःशुल्क औषधिका लागि १४ करोड विनियोजन गरेको छ ।

 विश्व एड्स दिवसका अवसरमा बिहीबार उक्त तथ्यांक सार्वजनिक गरिएको हो । सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा दिन विश्व एड्स दिवस मनाउने गरिएको छ । यसपटक तीसौँ विश्व एड्स दिवस ‘मेरो स्वास्थ्य, मेरो अधिकार’ भन्ने नाराका साथ मनाइँदैछ ।

विश्वमा सन् २०३० सम्ममा एचआइभी÷एड्सको महामारी अन्त्य गर्ने दिगो विकासको लक्ष्य छ । उक्त लक्ष्य हासिल गर्न कार्यक्रमहरू सञ्चालन भएका छन् ।

बिहीबार आयोजित एक कार्यक्रममा केही आलोचकहरूले देशमा एचआइभी एड्स संक्रमितको संख्या घट्दै गएको भन्ने तथ्यांकमा अविश्वास प्रकट गरे । सहभागी केही चिकित्सकले  सरकारी पक्षबाट एड्सको विषयमा कुनै विश्वासिलो सर्भेक्षण हुन नसकेको आरोप लगाए ।

विश्वमा एचआइभी संक्रमण पत्ता लागेको ३६ वर्ष भएको छ ।