प्रदेश ३ मा कस्ले बाजी मार्ला मुख्य मन्त्रीमा ?

3057 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

3_Gm5Qm7VXDU

धादिङ- पूर्वमन्त्री तथा दर्जनौं पूर्वसांसदहरू प्रदेशसभामा विजयी बनेपछि ३ नम्बर प्रदेशसभाले केन्द्रीय संसद्कै झल्को दिने देखिएको छ । संसदीय अभ्यासमा अभ्यस्त एमालेका पूर्वप्रमुख सचेतक राजेन्द्र पाण्डेदेखि  दर्जनौं सांसद ३ नम्बर प्रदेशसभातर्फ विजयी भएका छन् ।प्रदेशसभामा ‘हेभीवेट’ को बाढी लागेपछि यो प्रदेशको भावी मुख्यमन्त्रीबारे अनेक अड्कल काटिन थालेको छ । पूर्वमन्त्री एवं एमाले नेता पाण्डे ०४८ सालदेखि (०६४ को संविधानसभा) बाहेक संसदीय भूमिकामा सक्रिय छन्।एमालेको प्रमुख सचेतकसमेत बनिसकेका पाण्डेलाई ३ नम्बर प्रदेशमा एमालेको भावी मुख्यमन्त्रीका रूपमा चर्चा गर्न थालिएको छ। प्रदेश ३ को प्रदेशसभामा प्रत्यक्ष निर्वाचित हुने जम्मा सिट ६६ रहेकोमा एमाले एक्लैले ४२ सिट जितेको छ। यहाँ माओवादी केन्द्रले १५, नेपाली कांग्रेस ७, नयाँ शक्ति पार्टी १ र मजदुर किसान पार्टीले १ सिट जित हात पारेको छ। प्रदेश ३ का लागि एमालेबाट पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, अरुण नेपाल,केशव स्थापित र माधव पौडेलको दाबी छ।तर, एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं, सानु श्रेष्ठ पनि प्रदेशसभाको उम्मेदवार बनेकाले एमालेले मुख्यमन्त्री कसलाई बनाउँछ भनेर सहज अनुमान लगाउन गाह्रो छ ।

संघीय र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धन बनाएर लडेका एमाले र माओवादी केन्द्रबीच ३ नं प्रदेशको सरकार गठनमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ  । एमालेका मात्र यो प्रदेशमा धेरै प्रभावशाली नेताहरु प्रदेश सभामा निर्वाचित भएका छन् । त्यस्तै माओवादी केन्द्रका पनि प्रभावशाली नेताहरुले प्रदेश सभामा निर्वाचित  भएका छन् । त्यसैले  ३ नम्बरमा मुख्यमन्त्रीका लागि रोचक प्रतिस्पर्धा हुने देखिएको हो ।

एमाले  उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले काठमाडौ क्षेत्र नं ८ को ख प्रदेश सभाबाट ५ हजार १ सय ६९ मत ल्याएर विजयी भएकी छन् । एमालेको ३ नम्बर प्रदेशमा सबै भन्दा सिनियर नेता उनी नै हो ।  उनलाई ३ नं प्रदेशको मुख्यमन्त्रीको रुपमा हेरिएको छ । उनी दुई पटक मन्त्री भइसकेकी छन् । शाक्य पछि धादिङका राजेन्द्र पाण्डे मुख्यमन्त्रीको दाबेदार मानिन्छन् । पाण्डे धादिङ क्षेत्र नं १ को प्रदेश सभा क बाट २७ हजार ३ सय ३३ मत ल्याएर विजयी भएका हुन् ।   पाण्डे २०६५ सालमा स्थानीय विकास मन्त्री भएका थिए । उनले आफुलाई मुख्यमन्त्रीको रुपमा प्रचार गरेका थिए । उनले ३ प्रदेशको मुख्यमन्त्री भए सो क्षेत्रको विकास  र समृद्धिमा नयाँ आयाम थप्ने दाबी गर्दै भोट मागेका थिए । पाण्डे प्रतिनिधिसभामा धादिङ क्षेत्र नम्बर ३ बाट २०४८, ०५१ र २०५६ मा विजयी भएका थिए । २०५१ सालमा प्रतिनिधिसभामा नेकपा एमालेको प्रमुख सचेतक भएका पाण्डे २०६५ साल जेठ ८ देखि चैत १५ गतेसम्म स्थानीय विकास मन्त्री भएका थिए । २०६४ सालको संविधानसभा चुनावमा धादिङ क्षेत्र नम्वर ३ बाट पराजित भएका पाण्डे ७० सालको दोस्रो संविधानसभा चुनावमा त्यही क्षेत्रबाट विजयी भए ।

 एमालेका केशव स्थापितले पनि आफूलाई मुख्यमन्त्रीको दाबेदार भएको बताउँदै आएका छन् ।
उनी  काठमाडौं क्षेत्र नं ६को प्रदेश सभा क बाट ८ हजार २२ मत ल्याएर विजयी भएका हुन् ।  उनी यो भन्दा पहिला काठमाडौको मेयर भइसकेका छन् । पछिल्लो समय भएको स्थानीय तहको निर्वाचनमा पनि  उनले पुन काठमाडौंको मेयर हुने हरसम्भव कोसिस गरेका थिए । तर सफल हुन सकेनन् ।

3-noमाओवादी केन्द्रका शाकिलराम जमरकट्टेल पनि मुख्यमन्त्रीका प्रमुख दाबेदार मानिन्छन् । उनी माओवादी केन्द्रको मजदुर संगठनका प्रमुख हुन् । उनी धादिङ क्षेत्र नं १को प्रदेश सभा ख बाट २३ हजार ३ सय ८२ मत ल्याएर विजयी भएका हुन् । एमाले नेत्तृत्वले सर्वसम्मतबाट मुख्य मँन्त्री टुंगो लगाउन नसके  जमकट्टेललाई पनि मुख्य मन्त्रीको रुपमा अघि सार्न सक्ने सम्भावना बढ्दै गएको छ । यदि माओवादीले ३ नं प्रदेशको मुख्यमन्त्री हुने अवसर पाए उनीनै  प्रमुख दाबेदार हुनेछन । यसो त जम्कटेलपछि   राधिका तामाङलाई पनि मुख्यमन्त्रीको रुपमा लिइएको छ । पूर्व कृषि विकास राज्यमन्त्री समेत रहेकी उनी नुवाकोटको क्षेत्र नं १ को क प्रदेशबाट १८ हजार १ सय ३७ मत ल्याएर विजयी भएकी हुन् ।

 एमालेका दोलखाको क्षेत्र नं १ को ख बाट पशुपति चौलागाई विजयी भएका छन् । उनी एमालेका प्रभावशाली नेतामा पर्छन् । यीनले पनि आफूलाई मुख्यमन्त्रीको रुपमा प्रचार गरेर भोट मागेका थिए । उनी २३ हजार ५८ भोट ल्याएर विजयी भएका हुन् ।   उनी एमालेभित्र मुख्यमन्त्रीको लागि प्रमुख दाबेदार मानिन्छन् ।

सिन्धुपाल्चोकबाट एमालेका प्रभावशाली नेता अरुणप्रसाद नेपाल क्षेत्र नं १ को क बाट २१ हजार ७ सय १२ मत ल्याएर विजयी भएका छन् ।  उनलाई पनि मुख्यमन्त्रीको रुपमा हेरिएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं २ को क बाट एमालेका सानुकुमार श्रेष्ठ ८ हजार ९ सय १३ मत ल्याएर विजयी भएका छन् । एमालेका पोलिटव्युरो सदस्य श्रेष्ठ काठमाडौंका पार्टी इन्चार्ज पनि हुन् । उनको पनि मुख्यमन्त्रीको रुपमा चर्चा हुने गरेको छ ।

‘प्रतिनिधिसभा जत्तिकै प्रदेशसभालाई हामी संसदीय अभ्यासको राम्रो स्थल बनाउनेछौं,’ एमाले नेता पाण्डेले भने, ‘३ नम्बर प्रदेशको विकास निर्माणका लागि नीति र योजना बनाउने तथा कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका हुनेछ। जनताले संघीयताको वास्तविक अनुभव र उपभोगको उदाहरणीय काम गर्ने अठोट छ।’

 माओवादीसँगको गठबन्धनपछि ३ नम्बर प्रदेशमा एमालेको पक्षमा राम्रो नतिजा  आएको छ भने प्रदेशसभामा गएका सबै ‘हेभीवेट’हरू मुख्यमन्त्री भन्दै उनीहरू निकटले चर्चा चलाउन थालेका छन्।