तेस्रो पटक मन्त्रिपरिषद् विस्तार

827 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं, २ चैत्र  – प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । उहाले केही समय अघि मन्त्रिपरिषद् विस्तार गरी ११ मन्त्री थप गर्नुभएको हो । नेकपा एमालेबाट मन्त्री र माओवादी केन्द्रबाट मन्त्री थप गर्नुभएको हो ।

 

नवनियुक्त मन्त्रीहरुमा प्रदिप ज्ञवाली परराष्ट्र, गोकर्ण विष्ट श्रम तथा रोजगार, रविन्द्र अधिकारी पर्यटन रहनु भएको छ । यसैगरी रघुविर महासेठ भौतिक पूर्वाधार, जगत विश्वकर्मा युवा तथा खेलकुद, शेरबहादुर तामाङ कानुनमन्त्री बन्नु भएको छ ।

माओवादी केन्द्रबाट वर्षमान पुन उर्जा, शक्ति बस्नेत वन, गिरिराजमणि पोखरेल शिक्षा, चक्रपाणि खनाल कृषि तथा सहकारी र विना मगर खानेपानी मन्त्री बन्नु भएको छ । नवनियुक्त मन्त्रीहरुलाई शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ गराउनु भएको छ ।

यसैगरी चार जना राज्यमन्त्री पनि नियुक्त भएका छन् । गोकुल बास्कोटा सुचना तथा सञ्चार, पद्या अर्याल स्वास्थ्य, रामकुमारी चौधरी कृषि र धनबहादुर बुढा पर्यटन राज्यमन्त्री भएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले आफुले शपथ लिएकै दिन लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाउनु भएको थियो । त्यसपछि दोस्रो पटक इश्वर पोखरेललाई रक्षा, रामबहादुर थापालाई गृह, डा. युवराज खतिवडालाई अर्थ, मातृक यादवलाई उद्योग मन्त्री बनाउनु भएको थियो ।