मतदाता नामावलीमा नयाँ नाम दर्ता अभियान शुरु

1513 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – निर्वाचन आयोगले आईतबार देखि मतदाता नामावलीमा नयाँ नाम दर्ता अभियान शुरु गरेको छ । आयोगले सबै क्षेत्रीय तथा जिल्ला निर्वाचन कार्यालयबाट नयाँ मतदाता नामावली संकलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गर्न दर्ता खुला गरेको हो ।

धादिङ लगायत  ७७ वटै जिल्ला तथा क्षेत्रीय कार्यालयबाट मतदाता नामावली संकलन तथा मतदाता नामावलीमा नाम रहेका मतदाताको विवरण अद्यावधिक गरिने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । नामावली अन्यत्र सार्न, विवरण सच्याउन र नामावलीबाट नाम हटाउन आवश्यक भएमा पनि गर्न सकिने आयोगले जनाएको छ ।

यसअघि दर्ता नभएका र नागरिकता प्राप्त गरेका सबैले नाम दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ । १६ वर्ष उमेर पुगेका व्यक्तिले पनि नाम दर्ता गराउन सक्ने तर परिचयपत्र भने १८ वर्ष उमेर पूरा भएपछि मात्रै दिइने छ ।

फोटोसहितको मतदाता नामावली सङ्कलन तथा दर्तासम्बन्धी प्रायः सोधिने प्रश्नहरू

१. मतदाता कसलाई भनिन्छ ?
मतदाता नामावलीमा नाम दर्ता भएको व्यक्तिलाई मतदाता भनिन्छ ।

२. मतदाता नामावली भनेको के हो ?
कम्प्युटर प्रविधिको प्रयोग गरी मतदाताको फोटोसहितको व्यक्तिगत विवरण रहेको एकीकृत नामावलीको सूची नै  मतदाता नामावली हो ।

३. मतदाता हुनको लागि के योग्यता चाहिन्छ ?
मतदाता हुन देहायअनुसारको योग्यता चाहिन्छ ।

(क) नेपाली नागरिक,
(ख) १८ वर्षउमेर पूरा भएको,
(ग) कुनै निर्वाचन क्षेत्रभित्रको गाउँ विकास समिति वा नगरपालिकाको सम्बन्धित वडामा स्थायी बसोबास भएको र
(घ) मतदाता नामावलीमा नाम दर्ता भएको ।

४. १६ वर्षउमेर पुगेका नेपाली नागरिकहरूको  विवरण किन सङ्कलन गरिएको हो ?
नेपाल सरकारले १६ वर्षउमेर पूरा गरेका सबै नेपाली नागरिकहरूको पूर्ण परिचय खुल्ने गरी विधुतीय माध्यमबाट राष्ट्रिय परिचयपत्र पनि बनाउने भएकोले सो प्रयोजनका लागि १६ वर्षउमेर पुगेका नागरिकहरूको विवरण सङ्कलन गरिएको हो ।

५. नयाँ मतदाता नामावली तयार गर्न किन आवश्यक छ ?
मतदाता नामावली त्रुटिरहित भएमात्र मतदाताले ढुक्कसँग मतदान गर्न पाउँछन् र निर्वाचन स्वतन्त्र, निष्पक्ष एवं विश्वसनीय हुन्छ । पुरानो मतदाता नामावलीमा एउटै मतदाताको नाम एकभन्दा बढी स्थानमा रहेको, योग्यता नपुगेको, मृत्यु भइसकेका र बसाइँ सरेका व्यक्तिहरूको नाम पनि मतदाता नामावलीमा समावेश भएको जस्ता त्रुटिहरू सुधार गर्नुपर्ने भएकोले फोटोसहितको नयाँ मतदाता नामावली तयार गर्न लागिएको हो ।

६. मतदाता नामावलीमा फोटो र औँलाको छाप किन आवश्यक पर्छ ?
प्रत्येक मतदाताको वास्तविक पहिचान गर्न फोटोसहितको विवरणले सजिलो बनाउँछ । कुनै एक मतदाताको एकभन्दा बढी स्थानको मतदाता नामावलीमा नाम भएको पाइएमा निर्वाचन आयोगले निजको औँलाको छापलाई विधुतीय उपकरणको प्रयोगद्वारा पहिचान गरी एक ठाउँमा मात्र नामावली कायम गर्दछ ।

७. नाम दर्ता गर्न मतदाता आफू स्वयम् नै किन उपस्थित हुनु पर्छ ?
यो प्रक्रियामा मतदाताको व्यक्तिगत विवरणको अतिरिक्त विधुतीय प्रविधिबाट फोटो र औँलाको छाप पनि लिनु पर्ने हुँदा नाम दर्ता गर्न मतदाता स्वयम् नै उपस्थित हुनुपर्छ ।

८. नाम दर्ताका लागि के प्रमाण चाहिन्छ ?
१६ वर्ष उमेर पूरा भएका सबै नेपालीहरूले नागरिकताको सक्कल प्रमाणपत्र देखाई नाम दर्ता गर्न सक्दछन् ।

९. स्थानीयस्तरमा टोली आएको बखत उपस्थित हुन नसक्ने मतदाताको लागि नाम दर्ता गर्ने के व्यवस्था छ ?
स्थानीयस्तरमा नाम दर्ता गराउन छुट भएका वा स्थानीयस्तरबाट नाम दर्ता टोली फिर्ता भएपछि मतदाता हुन योग्यता पुगेका व्यक्तिले आफ्नो अनुकूल समयमा सार्वजनिक विदाको दिन बाहेक कार्यालय समयमा जिल्ला निर्वाचन कार्यालयमा गई मतदाता नामावलीमा नाम दर्ता गराउन सक्ने व्यवस्था छ ।

१०. पेशा, व्यवसाय, अध्ययन वा अन्य कारणले आफ्नो स्थायी ठेगानामा बसोबास नगरेको अवस्थामा मतदाता नामावलीमा कसरी नाम दर्ता गर्न सकिन्छ ?
पेशा, व्यवसाय, अध्ययन वा अन्य कारणले देशभित्रका अन्य जिल्ला वा स्थानमा रहेका नागरिकता प्राप्त नेपाली नागरिकहरूले हाल अस्थायी रूपले बसोबास गरिरहेकै जिल्लाको जिल्ला निर्वाचन कार्यालय वा सो कार्यालयले तोकेको अन्य स्थानमा नागरिकताको प्रमाणपत्रसहित गई नाम दर्ता गर्न सक्दछन् । यसरी दर्ता गरिएको विवरण सम्बन्धित मतदाताको मतदान गर्ने स्थायी ठेगानामा पठाइन्छ र त्यहीँको मतदाता नामावलीमा नाम समावेश गर्ने व्यवस्था मिलाइन्छ।

११. विदेशमा रहेका नेपालीहरूले यस फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यक्रममा कसरी भाग लिन  सक्दछन्?
फोटोसहितको मतदाता नामावली सङ्कलनमा व्यक्ति स्वयम् उपस्थित हुनुपर्ने भएकोले विदेशमा भएका नेपाली नागरिकहरूले नेपालमा आएको बखत नागरिकताको सक्कल प्रमाणपत्रसहित कार्यालय खुलेको समयमा नेपालभरिका आफूलाई पायक पर्ने जुनसुकै जिल्ला निर्वाचन कार्यालयमा गई नाम दर्ता गराउन सक्दछन् ।

१२. एउटा जिल्लाबाट नागरिकताको प्रमाणपत्र लिई नागरिकताको प्रमाणपत्रमा उल्लेखित ठेगानाभन्दा अर्कै ठेगानामा घरबास गरी बसेका व्यक्तिको नाम दर्ता गर्न के प्रमाण चाहिन्छ ?
नागरिकतामा भएको स्थायी ठेगाना र हाल बसोबास गरिआएको ठेगाना फरक परेमा  मतदाताले हाल बसिआएको ठेगानाबाट नाम दर्ता गराई मतदान गर्न चाहेमा नागरिकताको प्रमाणपत्रका साथमा देहायबमोजिमका प्रमाणहरूका आधारमा नाम दर्ता हुनसक्ने व्यवस्था छ ;

(क)    स्थानीय पन्जीकाधिकारीले दिएको बसाइ-सराइको प्रमाणपत्र, वा
(ख)    घरजग्गाको प्रमाणपत्र, वा
(ग)    विवाह गरी आएको भए विवाह दर्ताको प्रमाणपत्र, वा
(घ)    बसोबास गरेको जनिने अन्य कागजातहरू ।

१३. नाम दर्ता गरिएका नेपालीहरूको विवरण के केमा प्रयोग गरिन्छ ?
नाम दर्ता गरिएका नेपालीहरूको विवरण दुई उदेश्यका लागि प्रयोग गरिन्छ ।

(क) १८ वर्ष उमेर पूरा गरी मतदाता हुन योग्यता पुगेका सबै नेपाली नागरिकहरूको विवरणबाट निर्वाचन आयोगले  फोटोसहितको नयाँ मतदाता नामावली तयार गर्छ ।
(ख) यसै विवरणका आधारमा नेपाल सरकारले १६ वर्ष उमेर पुगेका सबै नेपाली नागरिकहरूको राष्ट्रिय परिचयपत्र तयार गर्ने कार्यक्रम रहेको छ ।

१४.फोटोसहितको मतदाता नामावलीसँग सम्बन्धित थप कुरा बुझ्नुपर्ने भएमा कहाँ सम्पर्क राख्नु पर्छ ?
मतदाता नामावली कार्यक्रमका बारेमा थप जानकारी लिन चाहेमा जिल्ला निर्वाचन कार्यालय र निर्वाचन आयोगको मतदाता नामावली महाशाखा तथा मतदाता नामावली शाखाका  फोन नम्बरमा सर्म्पर्क गरेर पनि बुझन सकिन्छ।