तुईन मुक्त बन्ने क्रममा त्रिशूली नदीको धादिङ खण्ड

822 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -तुइन र खिरखिरेमार्फत जोखिमपूर्ण तरिकाले त्रिशूली नदी वारपार गर्दै आएका धादिङ र गोरखा जिल्लाका स्थानीय वासीमा झोलुंगे पुल बनेपछि खुसियाली छाएको छ। बालबालिका विद्यालय जान होस् या स्थानीय कृषिउपज बजारसम्म लैजान, झोलुंगे पुल बनेपछि त्रिशूली नदीपारिका स्थानीयलाई धेरै सहज भएको छ। त्रिशूलीको धादिङ खण्डमा मात्र ११ वटा तुइन थिए।तुइन विस्थापित गरी साबिक जिविसमार्फत जोगिमारामा, चौकीटार, कृष्णभीर, सिद्धलेक, चालिसे र बेल्खुमा झोलुंगे पुल निर्माण  भएको छ ।

      २०७२ साल असोजमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्रै देशभरका तुइन हटाएर झोलुंगे पुल बनाउने भने पनि त्यो निर्णय कार्यान्वयनमा आउन समय लागेको हो । गोरखा हुइलिङटारका सोमबहादुर चेपाङसँग तुइन तर्न नसकेरै पढाइ छाड्नुपरेको नमीठो अनुभव छ। ‘दिनहुँ त्रिशूली नदीमा ट्युबमार्फत पौडी खेलेर पढ्न जानुपथ्र्यो’, उनी भन्छन्, ‘तुइन एक्लै तान्न नसकेपछि ट्युबमार्फत पौडी खेलेर जानेभन्दा अरू उपाय थिएन। त्रिशूली तर्नै समस्या भएपछि विद्यालय नै जान छाडें।’ सोमबहादुरले भाइबहिनीलाई भने जोगीमास्थित चेपाङ छात्रावासमा राखेरै पढाए।त्रिशूली नदीको धादिङ खण्डमा ११ वटा तुइन थिए। अहिलेसम्म ६ वटा तुइन विस्थापन गरी झोलुंगे पुल बनिसकेका छन् भने दुईवटा निर्माण चरणमा छन्।आफूले ट्युब र तुइन प्रयोग गरेको ठाउँमा झोलुंगे पुल बनेपछि सबैभन्दा बढी खुसी उनै सोमबहादुर देखिएका छन्। भन्छन्, ‘अहिले झोलुंगे पुलबाट नदी वारपार गर्दा त जहाज चढेजस्तै लाग्यो।’ पुल नहुँदा कृषिउपज बजार पुर्‍याउन, बिरामीलाई अस्पताल लैजान अनि विद्यार्थीहरू विद्यालय जान निकै कठिनाइ हुने गरेको थियो।तुइन चुँडेर कयौंले ज्यानसमेत गुमाउनुपरेको थियो। ज्यान माया मारेर तुइन र तुइनभन्दा पनि जोखिमपूर्ण खिरखिरेको प्रयोग गरी नदी तर्दै आएका स्थानीय झोलुंगे पुल बनेपछि खुसी भएका छन्।  कुम्पुर निबुवाटारका गोविन्द पण्डित भन्छन्, ‘पहिले बजार निक्लिँदा बेलुका घर आइन्छ/आइन्न ठेगान हुन्थेन, अहिले त्रिशूली नदी वारपार गर्दा ढुक्क भएर वारपार गर्न पाएका छौं।’पृथ्वी राजमार्गअन्तर्गत गजुरी बजारपारि रहेको कुम्पुरका स्थानीयले तुइन भएको ठाउँमा पुल राख्नका लागि लामो समय संघर्ष गरेका थिए। उनीहरू तत्कालीन जिविसदेखि स्थानीय प्रशासन हुँदै मन्त्रालयसम्म पुगेका थिए। त्यही संघर्षको प्रतिफलस्वरूप अहिले झोलुंगे पुल बनेको कुम्पुर खरमटारका रवीन्द्र नेपाल बताउँछन्। ‘बालबालिकालाई विद्यालय पठाउनका लागि तुइन तार्न एकजनाको ड्युटी नै हुन्थ्यो’, उनी स्मरण गर्छन्, ‘कुम्पुरटारमा उत्पादित तरकारी गजुरी बजारसम्म बेच्न लैजाँदा तुइनबाट खसेर त्रिशुलीले कति बगायो, लेखाजोखा नै छैन।’ अहिले पुल बन्दा सबै गाउँले दंग रहेको उनी सुनाउँछन्। अब कृषि उत्पादनसमेत वृद्धि हुने निबुवाटारका पण्डितको आकलन छ। ‘पहिले बेच्न लैजानकै समस्याले गर्दा सिँचाइ सुविधा भए पनि बारीमा खेतीपाती हुन्थेन’, उनी भन्छन्, ‘अब पुल बनेको छ, बेच्न लैजान सहज हुन्छ, खेतीपाती पनि राम्रो हुन्छ। तुइन हटाएर झोलुंगे पुल बनाउन थालेसँगै त्रिशूलीको धादिङ खण्डअन्तर्गतका आठ स्थानका जोखिमयुक्त तुइन हटिसकेका छन्। स्थानीय विकास मन्त्रालयअन्तर्गत झोलुंगे पुल महाशाखामार्फत जोगीमारामा तीन, चौकीटार, कृष्णभीर, कुम्पुर खरमटार, चालिसे, बैरेनी गरी चालू आर्थिक वर्षमै आठवटा पुल निर्माण सम्पन्न हुँदै छ।

त्रिशूली नदीमाथि पाँचओटा मोटर गुड्ने पुल बनाइँदै

धादिङको त्रिशूली नदीमाथि पाँचओटा मोटर गुड्ने पुल निर्माण गरिने भएको छ ।

विभिन्न गाउँपालिकालाई जोड्न सरकारले मोटरेवल पुल निर्माण गर्न लागेको हो । उत्तरी क्षेत्रका दुर्गम गाउँसँग सहज सम्बन्ध बनाउन पुल निर्माण थालिएको हो ।

अहिले जिल्लाको सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिका जोड्नका लागि पृथ्वी राजमार्गको घाटबेसी र जहरे भन्ने स्थानमा पुल निर्माणको काम भइरहेको छ ।

आगामी तीन वर्षभित्र सबै स्थानमा पुल निर्माण गरिसक्ने बताइएको छ ।