वालगृहबाट उद्धार गरिएका धादिङका ३ बालिकालाई परिवार पुनर्मिलन

1323 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी–काठमाडौको बुढानीलकण्ठमा रहेको हिमाली नवीन समाज संस्थाले धादिङका ३ बालिकाहरु उनीहरुको अभिभावकको जिम्मा लगाएको छ ।
जिल्ला बाल कल्याण समिति धादिङको रोहवरमा कटुन्जे घर भएकी बर्ष १३ को निर्मला  (नाम परिवर्तन) निजको दाइ अमृत लम्सालसँग, नीलकण्ठ–१३ , बटुवागाउँको बर्ष ९ को रन्जिता(नाम परिवर्तन)लाई हजुरबुबा गंगानारायण श्रेष्ठसँग र खाल्टेकी बर्ष १२ को हसिना (नाम परिवर्तन)लाई निजको बुबा बिष्णुबहादुर पाण्डेसँग गत शुक्रबार परिवार पुनर्मिलन गरिएको हो ।
केन्द्रीय बालकल्याण समितिको समन्वयमा गत श्रावण ३ गते ललितपुरको ठैबस्थित न्युनतम मापदण्ड पुरा नगरिकन संचालित मित्रता नेपाल नामक बालगृहबाट १३ जना बालबालिकाहरु जिल्ला बालकल्याण समिति ललितपुरले उद्दार गरी पारिवारिक पुनस्र्थापनाको लागि हिमाली नवीन समाज संस्थामा स्थानान्तरण गरिएको थियो । जिल्ला बाल कल्याण समिति ललितपुरले अनुगमन गर्ने क्रममा उक्त बालगृह नेपाल सरकारको बालगृह संचालन सम्वन्धी मापदण्ड २०६९ को विपरित संचालनमा रहेको पाईएपछि त्यहाँ रहेका वालवालिकालाई उद्धार गरी परिवारको जिम्मा लगाउने निर्णय गरिएको थियो ।
पछिल्लो समय बालबालिकाहरुलाई निशुल्क पढ्नलेख्न र बस्न दिने प्रलोभन देखाइ वालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाट समेत रकम असुल गरी बालबालिकाहरुलाई कमाइ खाने माध्यमको रुपमा प्रयोग गर्ने प्रवृति बढ्दो रहेको वाल कल्याणको क्षेत्रमा कार्यरत व्यक्तिहरु वताउँछन । राजधानीको नजिक रहेका कारण धादिङबाट बर्षेनी धेरै बालबालिकाहरु निशुल्क गुणस्तरीय शिक्षाको बहानामा बालगृहमा ओसारपसार हुने गरेको छ । बालबालिका र उनीहरुको अभिभावकहरुलाई अनाबश्यक प्रलोभन देखाई बालबालिकाहरुलाई अवैध ढंगले अभिभावक भएका बालबालिकाहरुलाई पनि बालगृहमा भर्ना गर्ने प्रचलन बढेकोले सम्वन्धित निकायले यस सम्वन्धमा चासो दिनुपर्ने हिमाली नवीन संस्थाका पुनर्मिलन ब्यबस्थापक सुरेन्द्र लामा तामाङले जानकारी दिनुभयो । त्यसैगरी जिल्ला बाल कल्याण समिति धादिङका बाल संरक्षण अधिकृत केशव सुवेदी बालगृह कुनैपनि बालबालिकाको लागि अन्तिम विकल्पको रुपमा  प्रयोग गर्नुपर्ने बताउनुहुन्छ । पालन पोषण गर्ने अभिभावक नभएका बालबालिकाहरुलाई वालगृहमा पठाईने गरिएपनि अभिभावक भएका वालवालिकालाई कुनैपनि हालतमा बालगृहमा सिफारिस नगर्ने गरेको सुवेदीले वताउनु भयो ।
सरकारी निकायले सिफारिसमा कडाई गरेपछि कतिपय वालगृहका संचालकले गाउँ गाउँमा एजेण्ट खटाएर अभिभावकहरुसंग उल्टो रकम लिएर किर्ते कागजात तयार पारी वालवालिकालाई वालगृहमा लैजाने गरेको समेत पाईएको छ ।