शनिबार त्रिशूली नदीमा जलयात्रा उत्सव हुने

1520 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । ‘पर्यटन र वातावरणका निम्ति हाम्रा नदीको संरक्षण गरौँ’ भन्ने मूल नाराका साथ यही जेठ १२ गते शनिबार त्रिशूली नदीको बाँदरेदेखि फिस्लिङसम्म ३०औँ वार्षिक जलयात्रा उत्सव हुने भएको छ ।

नेपाल एशोसिएसन अफ र्याफ्टिङ एजेन्सिज (नारा) बिहीबार पत्रकार सम्मेलन गरी नेपालमा साहसिक जलयात्रा र्याफ्टिङको विकास, विस्तार, संरक्षण र प्रर्वधन गर्ने उद्देश्यले जलयात्रा उत्सव गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नाराका महासचिव शिव अधिकारीले जलयात्राका माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटनको विकास, विस्तार र प्रर्वधन गर्नका लागि उत्सव आयोजना गरिएको जानकारी दिए ।

‘नेपालका जलसम्पदालाई साहसिक जलयात्रा उद्योगका लागि अधिकतम सदुपयोग गरेर मुलुकको अर्थतन्त्र र रोजगारी वृद्धि गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने ।

पर्यटन पुर्नउत्थानका लागि सहयोग, साहसिक जलयात्रा सुरक्षित भएको सन्देश प्रवाह गर्नु, आन्तरिक तथा बाह्य जलयात्रीलाई जलयात्रामा आकर्षण गराई रोजगार सिर्जना गर्नु उत्सवको मुख्य उद्देश्य रहेको छ ।

यसैगरी साना ठूला नदीनालालाई पर्यटन र वातावरणका लागि संरक्षित गराउन, पर्यटन विकास, जलयात्रा र वातावरण संरक्षणका लागि खोलानाला जोगाउनुपर्छ भन्ने सन्देश दिनु, नाराका सदस्यलाई व्यवस्थित, मर्यादित र थप परिस्कृत गराउनु उत्सवको मूल उद्देश्य रहेको नाराले जनाएको छ ।

नेपालमा रहेका करीब छ हजार नदी नालामध्ये कर्णाली, कालीगण्डकी, त्रिशूली, भोटेकोशी, सुनकोशी, अरुण, तमोरलगायतका १६ नदीमा साहसिक जलयात्राका लागि खुल्ला गरिएको छ ।

नाराका कोषाध्यक्ष शिशिर खनालले उत्सवमा ४०० जना नेपाली जलयात्रीले भाग लिने जानकारी दिए । पन्ध्र वर्षदेखि ६० वर्षसम्मका जलयात्रीले भाग लिन पाउने उत्सवको खर्च १८ लाख लाग्ने उले बताए ।

नाराका निवर्तमान अध्यक्ष चन्द्रबहादुर दाहाल, पूर्व अध्यक्ष सूर्यप्रसाद जोशीले नेपालमा र्याफ्टिङ गर्ने उत्कृष्ट नदीहरु भए पनि सरकारले यसलाई बेवास्ता गरेको भन्दै नदी नीति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

उत्सवमा भाग लिने स्वदेशी तथा विदेशी जलयात्रीका लागि प्रतिव्यक्ति दुई हजार शुल्क लाग्ने नाराले जनाएको छ ।