रानीझरनामा शुरु भयो क्यानोनिङ, जेठ २५ र २६ गते महोत्सव हुँदै (फोटो फिचर )

1961 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी

थांक्रे, (धादिङ) साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल धादिङको थांक्रे गाउँपालिका–६ रानीझरनामा शुरु भएको छ ।

मुलखोलाको रानीझरनालाई पर्यटनको आकर्षण केन्द्र बनाउने लक्ष्यका साथ शनिवार देखि क्यानोनिङ (छाँगावरोहण) सञ्चालन गरिएको हो । हिमाल आरोहण, पदयात्रा,जलयात्रा, प्याराग्लाइडिङ, वञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै थांक्रे गाउँपालिकामै पहिलोपटक क्यानोनिङ सञ्चालन अभियानका अगुवा रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

एक बर्ष अघि देखि सम्भाव्यता अध्ययन गरी क्यानोनिङ सञ्चालनमा ल्याइएको कार्कीले बताउनुभयो । पृथ्वीराजमार्गको महादेवबेसी वजारबाट झण्डै ५ किमीको दूरीमा अवस्थित उक्त स्थानलाई पर्यटकीय केन्द्रका रुपमा विकास गरिने थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले वताउनु भयो ।
जिल्लाको समग्र पर्यटन क्षेत्रको विकासका लागि यस क्यानोनिङको महत्वपूर्ण योगदान रहने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्प कँडेलले वताउनु भयो । शनिवारदेखि शुरु भएको क्यानोनिङका लागि प्रशिक्षक तालिमको शुभारम्भ गर्दै उपाध्यक्ष कँडेलले नेपालको आर्थिक उन्नतीका लागि संस्कृति र प्रकृतिले ठुलो योगदान पु¥याईरहेकोले यस्ता स्थानहरुको पहिचान गरी प्रचार प्रसार र प्रवद्र्धनका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनु भयो ।

पृथ्वी राजमार्गबाट उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ सडक रहेको छ भने कच्चि सडकबाट २ सय मिटर जति तल खोलामा पुग्नका लागि गोरेटो वाटो वनाईएको छ । काठमाण्डौंबाट २ घण्टामै पुग्न सकिने भएकाले रानीझरना आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने क्यानोनिङ एशोसिएसनका पुर्व अध्यक्ष कर्ण लामाले वताउनु भयो ।

थांक्रे गाउँपालिका संग साझेदारी गर्दै नेपाल क्यानोनिङ एशोसिएसन द्वारा सञ्चालनमा ल्याइएकोे क्यानोनिङमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई बस्न तथा खानका लागि पूर्वाधार निर्माण तथा अन्य विविध कार्यका लागि समुदायस्तरबाट तयारीसमेत भइरहेको स्थानीयवासीले वताएका छन् ।
नेपालका लमजुङ, कास्की, काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोटलगायत पर्वत, मनाङ, चितवन लगायतका जिल्लाका २० भन्दा बढी झरनामा हाल क्यानोनिङ सञ्चालन हुँदै आएको छ ।

अहिलेसम्म नेपालमा वार्षिकरुपमा स्वदेशी तथा विदेशी गरी करिब १० हजारले क्यानोनिङ गर्दै आएकामा यो झरनामा पनि वार्षिक ५ सय पर्यटकलाई ल्याउन सकिने स्थानीयको विश्वास रहेको छ ।
रानीझरनामा क्यानोनिङ सञ्चालनका लागि नेपाल पर्यटन बोर्ड,टान तथा अन्य पर्यटन क्षेत्रसँग सरोकार राख्ने निकायका बिच समन्वयसमेत भइरहेको बताइएको छ । यस क्षेत्रमै पहिलोपटक नमूनाका रुपमा सञ्चालन गर्न लागिएको क्यानोनिङका कारण आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने, स्थानीय तहमा होमस्टे तथा होटलको व्यवसाय प्रवद्र्धन हुने र केही मात्रामा रोजगारीसमेत सिर्जना हुने नेपाल पर्यटन वोर्डका सदस्य पूर्णवहादुर कुँबरले वताउनु भयो । अहिले परीक्षणका क्रममा सहभागी आन्तरिक पर्यटक र क्यानोनिङ विज्ञहरुले समेत उक्त झरनामा प्रचुर सम्भावना रहेको र यहाँ एकपटक क्यानोनिङ गर्नेहरु सधैँ लोभिने टानका पुर्व अध्यक्ष चन्द्र रिजालले जानकारी दिनुभयो ।

शनिवार रानी झरनामा आयोजित एक हप्ते क्यानोनिङ गाईड ट्रेनिङ साईट प्रशिक्षण कार्यक्रम जेठ २४ गते सम्म संचालन हुने र प्रशिक्षण पश्चात जेठ २५ र २६ गते चौथो क्यानोनिङ महोत्सव आयोजना गरिने भएको छ । सन २००२ मा फ्रान्सेली नागरिक मौरिस ड्युशेनले नेपालमा शुरुवात गरेको क्यानोनिङ सन २०११ देखि संस्थागत हुंदै गएको हो ।
पर्वतिय साहसिक पर्यटनको विकास र प्रवद्र्धनमा विभिन्न कार्यक्रमहरु गर्दै आएको एशोसिएशनले सन २०१३ देखि प्रत्येक बर्ष क्यानोनिङ महोत्सव आयोजना गर्दै आईरहेको एशोसिएशनका पुर्वअध्यक्ष कर्ण लामाले वताउनु भयो । यस पटकको महोत्सवमा ५०० जना भन्दा धेरैले छाँगावरोहण गर्ने लक्ष्य राखिएको पनि लामाले जानकारी दिनु भयो ।

तालिम शुरुवात कार्यक्रमलाई थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्य, ट्रेकिङ एजेन्सी एशोसिएशन नेपाल ( टान)का पुर्व उपाध्यक्ष रामप्रसाद सापकोटा,पुर्व अध्यक्ष चन्द्र रिजाल, नेपाल पर्यटन वोर्डका सदस्य पूर्णवहादुर कुँबर, धादिङ क्षेत्र नम्बर १ का सांसद भुमि त्रिपाठी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्प कँडेल लगायतले सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, नेकपाका नेता उमेश थापा, नेत्रराज पौडेल,थांक्रे गाउँपालिकाका उपाध्यक्ष अम्विका रुपाखेती, थाँक्रे गाउँपालिकाका वडा अध्यक्षहरु, क्यानोनिङ क्षेत्रका अगुवाहरु,पर्यटन व्यवसायीहरु, स्थानीय अगुवा, सामाजिक कार्यकर्ता, पत्रकार तथा सर्वसाधरणको उपस्थिति रहेको थियो ।