नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा धादिङका लक्ष्मण शर्मा विजयी

2074 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा लक्ष्मण शर्मा निर्वाचित भएका छन् । संगठनको १२ औं राष्ट्रिय महाधिवेशनले निवर्तमान महासचिव समेत रहेका शर्माको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

शर्मा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ आदमटारका स्थायीवासी एवम सोही ठाउँमा रहेको सत्यवती माध्यमिक बिद्यालयका पुर्व प्रधानाध्यापक हुन ।

शर्माले अध्यक्षका अर्का प्रत्यासी भिम बहादुर बस्नेतलाई ४८ मतले पराजित गरेका हुन् । शर्माले २२८ मत ल्याउँदा बस्नेतले १८० मत मात्रै पाएका थिए ।  पूर्व नेकपा एमाले निकट मानिने संगठनमा प्यानलै बनाएर प्रतिस्पर्धा भएको थियो ।   वरिष्ठ उपाध्यक्षमा शर्मा प्यानलबाट ज्ञावनशेर राई १९९ मतका साथ निर्वाचित भएका छन् ।  बस्नेत प्यानलबाट उठेका कृष्णप्रसाद घिमिरेले १९८ मत ल्याएर पराजित भएका छन् ।महिला उपाध्यक्षमा बस्नेत प्यानलकी  इला मल्ल शाही २०६ मतका साथ बिजयी बन्दा शर्मा प्यानलकी कमला थापाले २०५ मत प्राप्त गरिन् ।  यसैगरी, समावेशी उपाध्यक्षमा बस्नेत प्यानलबाट जमुना काफ्ले चापागाईं २२२ मतका साथ विजयी बन्दा शर्मा प्यानलका शंकरलाल श्रेष्ठले १८४ मत मात्रै ल्याएका थिए ।

प्रदेश उपाध्यक्षहरुमा भने प्रदेश नम्बर २ मा भरतप्रसाद शाह, प्रदेश नम्बर ४ बाट जंगबहादुर गर्बुजा मगर र प्रदेश नम्बर ५ बाट बदरे आलम खाँ पहिल्यै निर्विरोध निर्वाचित भइसकेका छन् ।अन्य प्रदेश उपाध्यक्षहरुमा प्रदेश नम्बर १ मा शर्मा प्यानलबाट झनलाल तेम्बे निर्वाचित हुँदा बस्नेत प्यानलका गोविन्दराज श्रेष्ठले १८७ मतमात्रै प्राप्त गरे ।

प्रदेश नम्बर ३ मा शर्मा प्यानलबाट विष्णु प्रसाद पोखरेल २०७ मतले विजयी बन्दा बस्नेत प्यानलका टोम प्रसाद काफ्लेले २०२ मत मात्रै प्राप्त गरे । प्रदेश नम्बर ६ मा शर्मा प्यानलबाट नन्दराम देवकोटाले २१७ मसहित विजयी बन्दा बस्नेत प्यानलका शिवप्रसाद पाण्डेयले १८८ मत मात्रै ल्याए ।  साथै, प्रदेश नम्बर ७ मा शर्मा प्यानलबाट तुलाबहादुर थापा २२२ मतका साथ विजयी भए भने बस्नेत प्यानलका हरिदत्त जोशीले १८२ मत प्राप्त गरे ।

महासचिवमा शर्मा प्यानलबाट हंशबहादुर शाही २२८ मतका साथ निर्वाचित हुँदा  बस्नेत प्यानलका शिवप्रसाद उपाध्यायले १८२ मत पाए ।  यसैगरी, सचिवमा बस्नेत प्यानलबाट अम्विका चापागाईं २२७ मतका साथ निर्वाचित हुँदा शर्मा प्यानलकी यदु सुवालले १८३ मतमात्रै प्राप्त गरिन् ।  कोषाध्यक्षमा शर्मा प्यानलका विष्णुप्रसाद भण्डारी २२६ मतका साथ विजयी बने भने बस्नेत प्यानलका एकराज शर्माले १८४ मत प्राप्त गरे ।

सह–कोषाध्यक्षमा भने बस्नेत प्यानलकी पार्वती प्याकुरेलले २१४ मत सहित विजयी बन्दा शर्मा प्यानलकी ममता शाहले १९२ मत मात्रै प्राप्त गरिन् । निर्वाचनमा  कुल ४२० मतदाता रहेपनि ४०० मात्रै  मत खसेको थियो । शुक्रवार साँझ निर्वाचन शुरु भएपनि  विद्युतीय मेसिन भएकाले  रातीनै निर्वाचनको परिणाम आएको थियो । महाधिवेशनले अध्यक्ष सहित ३२ जनाको कार्यसमिति निर्वाचित गरेको हो ।