पचास प्रतिशत महिलामा पाठघेर मुखको क्यान्सर

1164 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गजुरी । कान्छीमाया गुरुङले दश वर्षअघिदेखि पाठेघरको समस्या बोकिरहनुभएको छ ।

निकै समस्या भएपछि पाठेघरभित्र राख्न रिङ लगाउनुभएकी उहाँले गाउँ समाजको डरले शल्यक्रिया पनि गराउनुभएको छैन । उहाँले घरमा समस्याबारे जानकारी भएपनि छरछिमेकमा थाहा नभएको बताउनुभयो ।

“आम्मै कसरी यस्तो कुरा भन्नु, गाउँमा भने त बसिनसक्नु हुन्छ, यस्तो भएको त गाउँमा निकै नराम्रो मान्छन्, उपचार गर्न आउँदा पनि लुकेर आउनुपर्छ,” उहाँले गुनासो गर्नुभयो ।

बहत्तर वर्षीया शान्ति ढकाल पाठेघर खसेपछि काम गर्न उहालाई निकै समस्या भयो । मजदुरी, खेतीकिसानी गर्ने शान्तिले एउटा चुरामा कपडा बेरेर यौनाङ्गभित्र राख्नुभयो ।

गजुरीको प्राथमिक स्वास्थ्य केन्द्रमा पाठेघरको मुखको क्यान्सर परीक्षण शिविरमा जाँचको क्रममा उहाँको यौनाङ्गमा चुराका कारण संक्रमण पाइएको वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्राडा आरती शाहले बताउनुभयो ।

“हामीले कपडा बेरिएको चुरा निकालेर नयाँ रिङ राखिदिएका छौँ, अहिले पनि समाजमा पाठघेर खसेपछि अस्पताल गएर उपचार गराउने परिपाटी कम छ,” उहाँले भन्नुभयो ।

धादिङको गजुरी वरपर क्षेत्रका अधिकांश महिलामा पाठेघर खस्ने, यौनाङ्गमा संक्रमण देखिएको न्यूज 24 नेपाल टिभि डट कमले खबर लेखेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले बढ्दै गएको पाठेघरको मुखको क्यान्सर रोगबारे धादिङको गजुरीमा राखेको दुईदिने स्वास्थ्य शिविरमा आएका ५० प्रतिशतभन्दा बढी महिलामा यस्तो समस्या देखिएको छ ।

“अधिकांश महिलाको पाठेघर खस्ने, संक्रमण, तल्लो पेट दुख्नेसमस्या देखिएको छ, हामी पाठेघरको क्यान्सर छ कि छैन भनेर पाठेघरको मुखको पानी जाँच गर्न नमुना संकलन गरेका छौँ,” वीर अस्पतालक क्यान्सर रोग विशेषज्ञ सहप्रध्यापक डा सन्ध्या चापागाइँले भन्नुभयो ।

कति महिलामा धेरै समयदेखि समस्या देखिएको भएपनि उपचार नगर्दा अन्य समस्या पनि देखिन थालेको उहाँको भनाइ छ । धेरै सन्तान जन्माएका, शारीरिकरुपमा बढी परिश्रम गर्ने, भारी बोक्ने, उकालीओराली गर्ने महिलामा पाठेघर खस्ने समस्या देखिएको छ ।

वर्षौदेखि पाठेघर खसेको समस्या झेलेर बसेका महिलाले घरछिमेकमा लाज हुने डरले समस्या लुकाउने गरेको चिकित्सकको भनाइ छ ।

क्यान्सरका बिरामी बढ्न थालेपछि वीरको क्यान्सर विभागले स्थानीय तहमै पुगेर यो रोगको परीक्षण गर्ने, जानकारी र उपचार सेवा दिन विभिन्न शिविरहरू आयोजना गर्ने कार्यक्रमअनुसार गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा दुई दिने शिविर राखेको थियो ।

शिविरमा ५०० बढी महिलाको पाठेघरको मुखको पानीको नमुना संकलन गरिनुका साथै स्तनको परीक्षण जाँच गरिएका छ ।

गजुरी गाउँपालिकाका आठवटा वडा र वरपरका गाउँपालिकाका महिलाको पाठेघर परीक्षण गरिएको हो ।

स्थानीय तहमै पाठेघरको परीक्षण गर्नसकेमा क्यान्सर हुने सम्भावनाबारे थाहा पाउन सकिने भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञको टोलीले धादिङका विभिन्न स्थानका स्वास्थ्य संस्था कार्यरत ३० स्वास्थ्यकर्मीलाई क्यान्सर रोगबारे अभिमुखीकरण तालिम पनि दिनुभएको थियो ।