धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माण हुने

852 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

रसुवा, २३ जेठ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारको निर्णयबाट रसुवावासी उत्साहित भएका छन् ।

गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत्को अभावमा कार्यान्वयनमा आउन सकेको थिएन । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२ मेघावाट विद्युत् उत्पादन गरेसँगै गोसार्इंकुण्डमा केबलकार निर्माण गर्ने आवधारणाले मूर्तरुप लिन सक्ने भएको छ ।

जिन्दगीमा एक पटक पुग्नै पर्ने तीर्थ गोसाईंकुण्डको यात्रा सहज बनाउन प्रदेश नं. ३ का सरकारले गरेको निर्णयले अब धुञ्चे-गोसाईंकुण्ड केबलकार निर्माणमा सहज भएको नागरिक समाजले जनाएको छ ।

केबलकारको निर्माणले प्राकृतिक छटाको अवलोकन गर्दै गोसाईंकुण्ड सरर जान सहज हुनेछ । धुञ्चे गोसार्इंकुण्ड केबलकार निर्माणका लागि प्रारम्भिक प्रतिवेदन तयार भइसकेको, केबलकारको दुरी धुञ्चेबाट गोसार्इंकुण्ड आठ किलोमिटर रहेको, भगवानशंकर गोसाईंबाबाले निलाद्रिपर्वत जाँदा प्रयोग गरेको मार्गलाई नै अनुशरण गरिएको तथा गोसार्इंकुण्ड गाउँपालिकाकै वडा नं ५ र ६ अन्तर्गत धार्मिक मार्गमा पाँच वर्षभित्र केबलकार निर्माण गरीसक्ने लक्ष्य लिइएको छ ।

केबलकार निर्माणका लागि दुई अर्ब लागतअनुमान गरिएको छ । रसुवाका– ५ वटै गाउँपालिका र केही निजी क्षेत्रको समेत लगानीमा केबलकार निर्माण गर्ने तय भइसकेको र त्यसमा चिनियाँ लगानीकर्ताले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको स्थानीय अध्ययन तामाङले बताए।

स्याफ्रु-मैलुङ सडक निर्माण भइसकेको र धुञ्चे जोड्ने करीब पाँच किमि. सडकको निर्माण प्र्रक्रिया पनि अगाडि बढिसकेकाले अब बेत्रावतीबाट मोटरद्वारा एक घण्टामा धुञ्चे पुग्ने वातावरण सृजना भएको गोसाईंकुण्ड गाउँपालिकाले जनाएको छ ।

भगवान शंकर हिँडेको मार्गलाई पहिल्याइ शास्त्रीय विधिअनुरुप धुञ्चे गोसाईंकुण्ड केबलकार निर्माण गर्ने प्रस्तावले सम्पूर्ण लामा गुरुहरुमा उत्साह बढाएको बताउँदै पुरोहित टंकप्रसाद ढकालले भने, ‘स्थानीय सरकारले लिएको नयाँ नीतिबाट अब लाखौंलाख भक्तजनलाई तीर्थ पुग्न सहज हुनेछ ।’

गोसाईकुण्डमा स्नान एवं पूजा गर्नाले आफूले मागेका सबै वर भगवानले दिने, शरीरमा रोग लाग्न नदिने, लागेका रोग हट्ने, घर परिवारमा सुख शान्ति मिल्ने र कामका लागि गएका सबै परिवारको लक्ष्य पूरा भई धन धान्य हुने विश्वास रहिआएकाले जो कोही मानिसले पनि जिन्दगीमा एक पटक भए पनि यो कुण्डमा पुग्नैपर्ने मान्यता रहिआएको पुरोहित ढकालले बताए ।रासस