खुकुरी प्रहारबाट रि गाउँमा एक जना घाईते

1956 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२३ जेठ –  धादिङको उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका वडा नं १ रीगाउँमा  खुकुरीप्रहारबाट एकजना सख्त घाईते भएका छन् ।
दुई पक्षका युवाहरुबीच आपसी विवादमा भएको खुकुरी प्रहारका कारण नेत्रावती गाउँपालिका कटुन्जेका २२ वर्षीय सञ्जय तामाङ सख्त घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । घाइते तामाङलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । घाईतेको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
गाउँमा सडक निर्माण भइरहेको ठाउँमा जम्मा भएका स्थानीयहरुका बिच भनाभन हुदाँ बुधवार दिउँसो ११ वजे तिर एक्कासी खुकुरी प्रहार भएको स्थानीयले बताएका छन् । खुकुरी प्रहार गर्ने समूहको खोजी कार्य भइरहेको धादिङका प्रहरी उपरीक्षक डम्बर बिकले जानकारी दिनु भयो ।
घटनास्थल जिल्लाको उत्तरी भेगको विकटमा पर्दछ । घटनास्थलमा पुग्न सबै भन्दा नजिक रहेको दार्खाको इलाका प्रहरी चौकीबाट ४ घण्टा उकालो पैदल हिँड्नु पर्छ । सडक सुविधाले नछोएको रि गाउँमा सडक निर्माण कार्य भईरहेको छ । उत्तरी धादिङका विकटका बस्तीमा सडक निर्माणका बिषयमा पटक पटक झडप भई धारिलो हतियार तथा गोली समेत प्रहार हुने गरेको भएपनि यस्को नियन्त्रण गर्न स्थानीय प्रहरी प्रशासनको प्रयास फितलो हुने गरेको छ ।