धादिङको खनियाबास र नेत्रावतीमा पहिरोः ५ जनाको मृत्यु (UP DATE)

1123 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १४ असार । पहिरोमा पुरिएर उत्तरी धादिङको विकटमा रहेको खनियाबास र नेत्रावती गाउँपालिकामा दुई परिवारका ५ जनाको मृत्यु भएको छ । खनियाबास गाउँपालिका–५ मा एकै परिवारका तीन जना र खनियाबास–४ मा दुई जना सदस्य गरी पाँच जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा खानियाँबास ५ का राजकुमार गुरुङकी श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, १० वर्षकी छोरी लक्ष्मी र पाँच वर्षकी छोरी सरस्वतीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी डम्बर बिकले जानकारी दिनुभयो ।  उनीहरुको छोरा १० वर्षका विकास गुरुङ सामान्य घाइते भएका छन् । उनको नजिकको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् ।यसैगरी खनियाँबास–४ चिउरीबोट गाउँमा पहिरोमा पुरिएर ६० वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको एसपी विकले जानकारी दिनुभयो ।

गएराति करिब साढे १२ बजेतिर झरेको पहिरोले उनीहरुलाई पुरेको थियो । लगातारको वर्षाको कारण सो क्षेत्रमा १६ घर परिवार प्रभावित भएको प्रहरीले जनाएको छ ।

यसैगरी, सोही गाउँपालिका–४ चिउरीखर्कमा घरमाथिबाट आएको पहिरोले शमशेर घलेको घर पहिरोले पुरेको छ । पहिरोमा पुरिएका ६५ वर्षीय शमशेर घले र उनकी श्रीमती कोप्ची घलेको मृत्यु भएको छ ।

सुतेको अवस्थामा पहिरो आएपछि उनीहरु कँही भाग्न नसकेर पुरिएका थिए । मृतकको शव आज बिहानमात्र प्रहरीले गाउँवासीको सहयोगमा निकालेका थिए ।

यसैगरी, सोही वडाको टोड्केमा पहिरो आएर हरिबहादुर रिजाल, लालबहादुर थापामगरको घर पुरिएर क्षति पुगेको छ । गाउँमाथिबाट पहिरो आएका कारण सोही क्षेत्रको खड्करी गाउँका १२ घर रातिदेखि जोखिम बढेपछि विस्थापित भएर मड्किला गाउँमा आश्रय लिएर बसेको गोपाल रिजालले जानकारी दिनुभएको छ ।

घटनास्थलमा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली पठाइसकिएको एसपी विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको र घटनास्थलमा जतिसक्दो छिटो प्रहरी पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा पाँच घर पहिरोले बगाएकोे छ । घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षातका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर चल्न छाडेको छ । इलाका प्रहरी कार्यालय, दार्खाको प्रहरी टोली चिउरीखर्क पुगिसकेको छ भने साईश्वाँरा भने अझै पुग्न सकेको छैन ।

अयोग्य ठाउँमै बस्न बाध्य

बस्ती बस्न अयोग्य भनिए पनि गाउँवासीले सोही गाउँमा घर बनाएर बस्न थालेका थिए । लगातारको पानीका कारण गाउँमाथिबाट पहिरो खस्न थालेपछि एकबहादुर थापामगरसहितका १२ परिवारले राति नै गाउँ छाडेका हुन् ।

यसैगरी, नेत्रावती डपजोङ गाउँपालिका–१ मार्पाकस्थित ढोकरपुर गाउँमा पहिरो गएपछि पाँच घरमा क्षति पुगेको छ । गाउँका दीपक गुरुङ, मानबहादुर गुरुङ, सन्तमान गुरुङ, वीरबहादुर गुरुङ तथा दलमान श्रेष्ठको घर पहिरोले पुरेको हो ।

वर्षाका कारण आएको पहिरोमा परेर ६९ वर्षीय हीरामायाँ तामाङ, ६५ वर्षीय सन्तमान तामाङ र ६० वर्षीया मीनाकुमारी श्रेष्ठ घाइते भएकाले उपचारका लागि स्वास्थ्यचौकी लगिएको छ ।

खनीयाबास गाउँपालिका–४, पाख्रीबोटमा पहिरो गएर तीन घर पुरिएको छ । घटनामा २३ वर्षीय रविन गौतम, २३ वर्षीया कल्पना गौतम तथा दुई वर्षीया रेश्मी गौतम घाइते भएका छन् ।

सडक भत्किँदा उद्धारमा समस्या 

घटनास्थल सदरमुकामबाट एक दिनको पैदल दूरीमा पर्दछ । वर्षाका कारण जिल्लाको उत्तरी भेगतर्फ जाने सडक भत्किएकाले सदरमुकामबाट मोटर जान सकेको छैन जसले गर्दा दार्खास्थित इलाका प्रहरी कार्यालयमा रहेका प्रहरीको टोली विभिन्न घटनास्थलमा गएको छ ।

वर्षको शुरुवातमै पहिरोले धनजनको क्षति पुगेकाले घटनास्थलमा राहत पुर्याउन जिल्ला प्रशासन कार्यालयबाट राममणि मिश्रको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको, मृतकको गाउँमै परीक्षण गर्नका लागि डाक्टरको टोलीसमेत पठाउने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले बताउनुभयो ।