सडकको अवरोध पन्छाउँदै गाउँ पुगेर पहिरो पिडितलाई राहत बितरण

1613 पटक पढिएको

सम्पादक: धादिङ न्यूज



धादिङ, १७ असार – उत्तरी धादिङको खनियावास र नेत्रावती डवजोङ गाउँपालिकामा पहिरोमा पुरिएका मृतकका परिवारलाई तत्कालिन राहत उपलव्ध गराईएको छ । जिल्ला दैवि प्रकोप उद्धार समिति धादिङले जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रको नेत्तृत्वमा खटाएको चिकित्सक, सुरक्षाकर्मी,रेडक्रसकर्मी सहितको उद्धार टोलीले गाउँमै पुगेर मृतकका परिवारलाई भेटि राहत उपलव्ध गराएको हो ।
जिल्लाको उत्तरी भेगमा पर्ने खनियाबास गाउँपालिकामा बुधवार राती पहिरोले पुरिएर दुई परिवारका पाँच जनाको मृत्यु भएको थियो । रातीको समयमा आएको पहिरोले घर वगाउँदा खनियाबास गाउँपालिका–५ साइश्वाँरा बस्ने राजबहादुर गुरुङो श्रीमती ३३ वर्षीया बसुदा गुरुङ, उनका छोरीहरू १० वर्षीया लक्ष्मी गुरुङ र पाँच वर्षीय सरस्वती गुरुङको ज्यान गएको थियो ।
त्यस्तै गरी सोही समयमा खसेको पहिरोमा परेर खनियाबास–४ चिउरीबोटका ६५ वर्षीय शमशेर घले र उनका श्रीमती ६२ वर्षीया कोप्ची घलेको पनि मृत्यु भएको थियो । राहत बितरणका लागि जिल्लाबाट खटिएको टोली घटनास्थल पुगेर मृतकका आफन्तलाई भेटि उनिहरुलाई तत्कालका लागि एक थान त्रिपाल,लत्ता कपडा, भाँडा कुँडा, एक एक बोरा चामल उपलव्ध गराईएको जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रले जानकारी दिनु भयो ।
राहत बितरणका लागि गाउँ गएको टोलीे पहिरो खसेर अवरुद्ध भएको ग्रामीण सडकमा ठाउँ ठाउँमा रहेको अवरोध पन्छाउँदै घटनास्थल पुगेको नेपाल रेडक्रस सोसाईटी धादिङका सदस्य नारायणकुमार श्रेष्ठले वताउनु भयो । राहत बितरण गरेर फकिंदा टोलीले पहिरोमा परी घाइते भएकाहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको थियो । गम्भिर घाईतेहरुको भने घटना भएकै दिन हेलिकप्टरबाट उद्धार गरी काठमाण्डौं लगिएको थियो । घाईतेहरु रविन गौतम, विकास गुरुङ र हिरामाया तामाङको काठमाडौमा उपचार भईरहेको छ । बर्षातको कारण ग्रामीण भेग तर्फ चल्ने सवारी साधन नल्न नसक्दा घटनास्थल पुग्न समेत निकै कठिनाई भोग्नु परेको उद्धार तथा राहतका लागि गाउँ गएको टोलीले वताएको छ । घटना स्थल सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल यात्रा पछि मात्रै पुग्न सकिने भएका कारण उद्धार टोली गाउँ पुग्न समेत ढिलाई भएको थियो । जिल्लाबाट खटिएको राहत तथा उद्धार टोली शनिवार सांझ जिल्ला सदरमुकाम फर्किएको छ ।

बुधवार राती आएको पहिरोको कारण जिल्लाको खनियाबास र नेत्रावती गाउँपालिकामा गरी १५ घरगोठमा क्षति पुगेको छ । आठ घर उच्च जोखिममा रहेको, १७ चौपाया र ५९ पंक्षीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिल्ला विपद व्यवस्थापन समितिको बैठकले मृतक परिवारलाई राहतस्वरूप १ लाख र घाइतेलाई १० हजार रकम दिने निर्णय गरेकाले आवश्यक प्रकृया पुरा गरी सम्वन्धित स्थानीय तह मार्फत गाउँमै सो रकम दिने व्यवस्था मिलाईएको धादिङका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले बताउनु भयो ।