धादिङबेसीमा सरकारी कार्यालय अगाडीको सडकको यो हालत

1578 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जिल्लाको ग्रामीण भेग र दुरदराजका बस्तीमा मात्रै होइन जिल्ला सदरमुकामकै सडकको वेहाल छ धादिङ जिल्लामा । सदरमुकाम भित्र त्यो पनि मुख्य सरकारी कार्यालयहरु रहेको स्थानमा सामान्य बर्षात हुनासाथ आवातजावत गर्नै मुस्किल पर्दछ ।यो कुनै ग्रामीण बस्तीको सडक होइन । धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीको सरकारी कार्यालय आवात जावत गर्ने मुख्य सडक हो । जहाँ बाट जिल्लाका उच्च पदस्थ सरकारी कर्मचारी देखि जनप्रतिनिधि, विकास निर्माणमा काम गरिरहेका सरकारी तथा गैर सरकारी तथा विदेशी निकायका प्रतिनिधि मात्रै होइन आम सर्वसाधरण आवत जावत गरिरहेका हुन्छन ।
जिल्ला प्रशासन कार्यालय हुंदै जिल्ला भुसंरक्षण, जिल्ला वन, शिक्षा कृषि,रेडक्रसको जिल्ला कार्यालय पुग्न यहि सडक प्रयोग गर्नु पर्दछ । पानी पर्ना साथ यस्तो हालतमा पुग्ने यो सडकबाट मोटरमा यात्रा गर्नेलाई मात्रै होइन पैदलयात्रा गर्ने सर्वसाधरणलाई निकै सकस हुने गरेको छ । मर्मत सम्भारका लागि यहाँका सरकारी कार्यालयले किन चासो देखाउँदैनन ? असारे विकासका लागि जिल्लाका सबैजसो सरकारी कार्यालय,विकास साझेदार गैसस,विदेशी सहयोगी नियोगलाई यति बेला भ्याई नभ्याई छ तर सरकारी कार्यालय रहेको क्षेत्र भित्र यो हालत हुनुले जिल्लाको विकास अवस्था कस्तो छ सहजै अनुमान लगाउन सकिन्छ ।भत्किएको सडक मर्मत गर्ने जिम्मेवारी कस्को हो , नीलकण्ठ नगरपालिका, सडक विभाग, शहरी विकास या अरु कुन कार्यालयको हो । सम्वन्धित कार्यालयको ध्यान पुग्न नसकेको हो या जिल्लाका सरकारी कार्यालयहरुका बिच समन्वयमा समस्या देखिएका कारण यो दुर्दशा कायम रहेको हो ?

(तस्बिरहरु : चन्द्रकान्त अधिकारी  केन्द्रिय सदस्य नेपाल उद्योग वाणिज्य महासंघ)