रुबिभ्यालीमा इलेप खोला जलविद्युत् आयोजना निर्माण हुने

1242 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको रुबिभ्याली गाउँपालिकामा निर्माण हुने २३ दशमलव ६ मेगावाटको इलेप (तातोपानी) खोला जलविद्युत् आयोजनाको विद्युत् खरिद—बिक्री सम्झौता (पिपिए) भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाकातर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनीका अध्यक्ष तिलक लामाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

पिपिएअनुसार आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम अर्थात् १६ मंसिरदेखि १५ जेठसम्म ८ रुपैयाँ ४० पैसा र वर्षायाम अर्थात् १६ जेठदेखि १५ मंसिरसम्म प्रतियुनिट ४ रुपैयाँ ८० पैसामा खरिद गर्नेछ ।

आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि (स्कालेसन) पाउनेछ । आयोजनाबाट वार्षिक रूपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्य आयोजनाले राखेको कम्पनीका अध्यक्ष लामाले बताए ।

पिपिएअनुसार आयोजनाले व्यापारिक रूपमा विद्युत् उत्पादन गर्नुपर्ने मिति डिसेम्बर २०२४ तय गरेको छ । निर्माण अवधिको ब्याजसहित आयोजनाको कुल अनुमानित लागत ४ अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ ।

अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउनेलगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए ।

उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिशूली ३ बी हब सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।