बस्ती माथि जमीन चिरियो,ज्यामरुङ्गका १ सय ५० घर परिवार त्रसित

1441 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ , ५ साउन – बस्ति भन्दा माथिको जमिन चिरा परेर पहिरो खस्ने अवस्था आएपछी धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ज्यामरुङ्गका १ सय ५० घर परिवार त्रसित हुन पुगेका छन् ।
भुकम्पका कारण हल्लिएर चिरा चिरा भएको जमिन माथि सडक खन्ने काम भएपछि बस्तीमा जुनसुकै वेला पहिरो आउन सक्ने अवस्था आएको स्थानीयले वताए । आफुहरुले पटक पटक त्यस्तो ठाउँमा सडक नखन्न आग्रह गर्दा समेत नगरपालिकाले अटेर गरी सडक खनेका कारण यस्तो अवस्था आएको त्यहाँका स्थानीय रामवहादुर थापा मगरले बताए ।
सडक छेउमा गहिरो खाडल परेर जमिन चिरिएपछि ज्यामरुङ्गको दमैचौतारा भन्ने ठाउँ जुन सुकै समयमा पनि पहिरिने खतरा बढेको छ । जमिन चिरा परेका ठाँउ वरपर स–साना पहिरोे खस्न सुरु गरिसकेको छ । पहिरोका कारण दमै चौताराका लम्साल गाँउ,लामिछाने गाँउ,सिम्ले ज्यामरुङ्ग र पाङ्ग्रे गाँउका करिव एक सय पचास घरधुरी पहिरोको उच्च जोखिममा रहेको छ । जमिन चिरिएर जोखिम वढेको स्थानबाट बस्ती निकै नजिक सिधा तल रहेकाले जुनसुकै वेला पहिरोको त्रासमा स्थानीय परेका छन ।
फाटेको जमिनको सतहले पहिरोको रुप लियो भने, ज्यामरुङको लम्साल गाउँ, लामिछाने, सिम्ले, पाङ्ग्रे गाउँका १ सय ५० घर धुरी विस्थापित हुने नीलकण्ठ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष तिलकबहादुर थापामगरले बताए ।
विहिबार बसेको वडा स्तरिय दैविक प्रकोप उद्दार समितिको वैठकले समेत उक्त प्रभावित क्षेत्रका स्थानिय १ सय ५० घर परिवारलाई सुरक्षित स्थानमा सार्न जिल्ला स्थित सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने निर्णय गरेको समेत अध्यक्ष थापाले जानकारी दिए ।

निरन्तरको वर्षाले पहिरोको जोखिम बढे सँगै स्थानियहरु त्रासमा रात विताउन वाध्य भएका छन् । दमैचौतारा डाँडाको उत्तर तर्फको पाखामा सडक खन्ने क्रममा डोजरले थर्काए पछि र सडकले पाखाको तह तहमा खण्डित गरेका कारण नै जमिन फाटेको स्थानियको भनाई छ ।
जिल्ला दैविक प्रकोप उद्दार समिति धादिङको संयोजक प्रमुख जिल्ला अधिकारीको निर्देशनमा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको नेतृत्वमा शुक्रवार स्थलगत अनुगमनमा गएको टोलिले पनि उक्त स्थानमा जुनसुकै समयमा पहिरोजान सक्ने हुनाले स्थानियलाई सचेत रहन आग्रह गरेको छ ।
यता नीलकण्ठ नगरपालिका वडा नम्बर ११ ले सार्वजनिक सुचना जारी गर्दै मञ्जुश्री मावि प्राङ्गणबाट पश्चिम तर्फ र स्वाथ्यचौकी रहेको पाङ्ग्रेबाट पूर्व तर्फ पर्ने सबै भुभाग (साविकको ज्यामरुङ गाविसका वडाहरु ३ र ४ को सबै भुभाग) का स्थानियहरुलाई सुरक्षित बसोबास गर्न अनुरोध समेत गरेको छ । पहिरोका कारण आफुहरुलाई खतरा भएको भन्दै नगरपालिका संग सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन गाउँवासीले आग्रह गर्दैआएपनि सुनुवाई नभएको स्थानीयको आरोप छ ।
नीलकण्ठ नगरपालिका ११ नम्बर का वडाका अध्यक्ष थापाका अनुसार पानी परेको समयमा जुनसुकै बेला पनि पहिरो खस्न सक्ने भन्दै स्थानीयहरुलाई सुरक्षित स्थानमा सर्न आग्रह गरिसकिएको छ । सो स्थानमा सुख्खा पहिरो खस्न सक्ने सम्भावना पनी त्यतिकै रहेको अध्यक्ष थापाले वताए ।
यसै गरी नगरपालिकाले सो वस्तिलाई सुरक्षित स्थानमा सार्न विषेश पहल गरिरहेको र भु–गर्वविद ल्याई सो स्थानको जमिनको भौगर्भिक अवस्था जाँचबुभका लागी पहल भई रहेको नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीले जानकारी दिए ।