गैरीगाउँमा न्वारनको भोजखाँदा ५० जना बिरामी

1605 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ – धादिङको गजुरी गाउँपालिका वडा नम्बर ४ गैरीगाउँमा न्वारनको भोजखाँदा ५० जना जना स्थानीयबासिन्दा बिरामी परेका छन् ।

अनिल चेपाङको छोरीको न्वारनको भोज खाएपछि भोजमा आएर खाना खाएका गाउँवासीहरु बिरामी परेको स्थानीय बिजय चेपाङले वताउनु् भयो । खानेकुरा खाएको केही बेरमा वाकवाक लाग्ने, रिंगटा लाग्ने, केही समयपछि बेहोस भएर नबोली बस्ने, तथा कोही डर लाग्यो भन्दै रुने कराउने गर्न थालेपछि भोजनै रोकिएको गाउँलेहरुले वताए ।

उनीहरु सबैलाई दही, घ्यूलगायतको खाने कुरा खुवाएर होसमा ल्याउने गरी प्राथमिक उपचार गरिएको थियो । गाउँसम्म पुग्न आदमघाटबाट ५ घण्टा लाग्छ । लगातार पानी परिरहेको र कच्ची सडकमा पहिरो समेत आएका कारण गाउँसम्म पुग्नका लागि कठिनाइ उत्पन्न भएको छ । न्वारनको भोज खान करीब १०० जना जम्मा भएका थिए । शुरुमा पुरोहित शुक्रबहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने वीरसिं चेपाङले खाना खाएका थिए । खाना खाएपछि उनीहरुले सामान्य रिंगटा लागेको बताएका थिए ।खाना खाएका चेपाङ संघका सन्तमान चेपाङ, संगिता चेपाङ, विमला चेपाङ लगायतका चेपाङ अगुवाहरु समेत बिरामी परेका थिए ।  भोजमा भात, आलु र कालो दाल, मासु र तरकारी पकाइएको छ । खानेकुरा संगै सगुनका रुपमा जाँड र रक्सी समेत राखिएको वीरसिंह चेपाङले बताउनुभयो । बेहोस हुनेमा वच्चा र ठुला मानिसहरु रहेका छन् ।दाल वनाएर पकाएको मासमा गाँजाको दाना भाङ मिसिएको कारण समस्या उत्पन्न भएको स्थानीयले वताएका छन ।

चार बर्ष अघि   गहुंको  रोटी खाँदा धादिङको पिडा गाविसमा एकै परिवारका ६ जनाको ज्यान गएको थियो । किराले नखाओस् भनेर बिषादी हालेर जोगाएर राखिएको गहुं पिसेर रोटी वनाएर खांदा एकै घरका तीन पुस्ताले अकालमा ज्यान गुमाउनु परेको थियो । जिल्लाको दक्षिणी भेगमा पर्ने पिडा गाविस वडा नं. ८ पुकुनमा रोटी खाएपछि २० जना सिकिस्त विरामी भएका थिए । सिकिस्त भएका मध्ये ६ जनाले ज्यान गुमाएका थिए । स्थानीय सन्जबहादुर तामाङका घरमा  खाजाको लागि पकाएको रोटी खाँदा घरका सबैजना एकै साथ विरामी परेका थिए । घट्टधनी तिलक बहादुर तामाङको परिवारले सन्ज बहादुरको घरमा रहेको गहुँ पिनी सकेपछि लगत्तै कोदो पिसेको र त्यही कोदोको रोटी खांदा उनिहरुको परिवार समेत विरामी भएका थिए । ज्यान गुमाउनेमा ६२ वर्षिय सन्जबहादुर तामाङ, उनका माईली बुहारी २८ वर्षिय फूलमाया तामाङ, फुलमायाका छोरा ५ वर्षिय अर्जुन तामाङ, ७ वर्षिया छोरी सविता तामाङ र २ वर्षिया छोरी अनिता तामाङ र ५ वर्षिय रमेश तामाङ रहेका थिए ।