भुकम्प पिडितलाई दुःख नदिन प्रजिअ पाण्डेको सुझाव

1186 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ३० साउन । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले पुनर्निर्माणका क्रममा समस्या नआउने गरी कामगर्न सम्बन्धित सबै निकायहरुलाई आग्रहगर्नुभएको छ । धादिङमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सञ्चालनगर्दै आएको भुकम्प पछिको पुनर्निर्माणमा सदाचार परियोजना अन्तर्गत बुधवार सदरमुकाम धादिङबेसीमा भएको छलफल कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारीले यस्तो आग्रह गर्नुभएको हो ।

       कार्यक्रममा बोल्दै प्रजिअ पाण्डेले सबैले समस्या समाधानको लागि पहलगर्न आग्रह पनि गर्नुभयो । उहाले अझै पनि बैंकमा भुकम्प पिडितहरुलाई केही समस्या परेको गुनासो आएको भन्दै बैंकका कर्मचारी तथा गाउँमा खटिएका प्राविधिकले भुकम्प पिडितहरुलाइ पनि आफ्नै बुबाआमा जस्तो सम्झेर कामगर्न आग्रहगर्नुभयो । उहाले गाउँपालिकातथा वडा कार्यालयहरुप्रतिलक्षितगर्दै कुनै गाउँमाजोखिमभए के कस्तो जोखिमहो र त्यसको विकल्प के हुनसक्छ सुझाव दिन आग्रह गर्नुभयो । ‘जिल्ला प्रशासनमा १० मिनेटमा नागरिकता बन्छ, तर स्थानीयतहमा एउटा सिफारिस लिन ४ दिनलागेको पनि भेटिएको छ ।’ स्थानीयतहको कामप्रति लक्षितगर्दै प्रजिअ पाण्डेले भन्नुभयो ।

       कार्यक्रममा गैर सरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा धादिङका अध्यक्ष दामोदर अर्यालले भुकम्प पिडितहरुलाई गाँउँमा खटिएका प्राविधिहरुले राम्रो व्यवहार नगरेका, अनाहकमा दुःखदिने काम गरेका, प्रभावितलाई बैंकले पनि समयमा पैसा नदिएकोले समस्याभएको बताउनुभयो । यस्तै इन्सेक प्रतिनिधि सिताराम अधिकारीले भुकम्प पिडित नागरिक र अन्य सेवाग्राहीलाई बैंकले छुट्टै व्यवहार गरेको, भुकम्प पिडितलाई चर्को घाममा दिनभरी लाइनमा राख्ने गरेको, अन्य सेवाग्राहीलाई भने तुरुन्तै काम गरिदिने गरेकोले विभेद गरेको आरोप लगाउनुभयो ।

       यस्तै कार्यक्रममा दलित अधिकारकर्मी श्यामबहादुर मगरातीले गाउँमा कामदार नपाएर बाहिरबाट ल्याउनुपरेको, पहिरोको जोखिमभएको ठाउँमा स्थानीय घर बनाउन बाध्यभएका, पुनर्निर्माणको काममा सरकारी निकायभन्दा गैर सरकारी निकाय बढि सक्रिय रहेको बताउनुभयो । धादिङ उद्योग बाणिज्य संघका इश्वर धरेलले गाउँमा खटिएका इन्जिनियरहरुका विचमा तालमेल नहुने गरेको, पहिला जाने प्राविधिकले दिएका डिजाइन पछि जाने प्राविधिकले हुँदैन भनेका, बनाउँदै गरेका र बनिसकेका घरमा समेत समस्यापार्ने काम गरेको बताउनुभयो ।

       ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व महासचिव मुकुन्दबहादुर प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्लाआयोजनाकार्यान्वयनइकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको समेत जिम्मेवारी सम्हाल्नु भएका जिल्ला प्राविधिक कार्यालयका प्रमुख राजेन्द्र केसीले पुनर्निर्माणको जिल्लाको पछिल्लो अवस्थाको बारेमा प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाई भवन, जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरु तथा नागरिक समाजका प्रतिनिधिहरु सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।