गजुरीका उपभोक्ताले पाए नमुना प्रविधिबाट सफा पानी

2464 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । सफा पिउने पानीको अभावमा स्वास्थ्यसम्बन्धी विभिन्न खाले समस्या भोग्दै आइरहेका धादिङको गजुरी गाउँपालिका–१ का बासिन्दाले अब भने जिल्लामै पहिलोपटक नमुना प्रविधिबाट सफा पानी पिउन पाउने भएका छन् ।

आमउपभोक्तालाई सफा खानेपानी वितरण गर्ने सरकारको नीति र स्थानीय आवश्यकतालाई ध्यानमा राखी खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङले “पानी शुद्धीकरण प्रविधि” जडान गरी खानेपानी आयोजना सञ्चालनमा ल्याएको हो ।

डिभिजन कार्यालयले पानी फिल्टर गरी खानेपानी वितरण कार्यलाई सहज बनाउन आर्थिक तथा प्राविधिक सहयोग गरेको कार्यालयका इन्जिनियर हेराकाजी महर्जनले बताए । यो प्रविधिबाट धमिलो पानीलाई कञ्चन बनाउन सम्भव हुन्छ । पानी जम्मा गर्ने पोखरीलाई चार भागमा विभाजन गरी निर्माण गरिएको हुन्छ । पहिलो पोखरीलाई कोगुलेसन च्याम्बर, दोस्रो पोखरीलाई सेडिमेन्टेसन च्यानल, तेस्रो पोखरीलाई रिजेन्टर रकिङ फिल्टर र चौँथो पोखरीलाई स्लो स्यान्ड फिल्टर भनिने इन्जिनियर महर्जनले जानकारी दिए ।

यसरी पानी फिल्टर गर्दा पानीको निर्मलीकरण हुने भएकाले यो प्रविधि प्रयोग गरिएको हो । धेरै पहिला सम्पन्न भएको योजना भए पनि उपभोक्ताहरुको माग र आवश्यकताले फेरि काम गर्नु परेको र पानी शुद्धीकरण प्रविधि परीक्षण सफल भएकोले उपझोक्ता समितिलाई जिम्मेवारी हस्तान्तरण गर्ने कार्यमात्र बाँकी रहेको पनि इन्जिनियर महर्जनले जानकारी दिए ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धादिङको १ करोड २९ लाख आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको करिब २५ लाख ८० हजार नगद तथा श्रमदानबाट पानी शुद्धीकरण योजना सम्पन्न भएको उपभोक्ता समितिको समेत जिम्मेवारी सम्हालेका गजुरी गाउँपालिका वडा अध्यक्ष राजकुमार पण्डितले बताए ।

खानेपानी योजना पुरानै हो, तर नयाँ प्रविधि भियाएकाले उपभोक्ताहरु खुसी भएका छन् । यो योजनामार्फत हाल ५५७ वटा निजी धारो वितरण भएको छ । सरकारी कार्यालय, निजी घर सबैमा मिटर प्रणाली लागू गरिएको छ । सहर उन्मुख उपभोक्तालाई गुणस्तरीय खानेपानी सेवा प्रदान गर्न ४ जना कर्मचारी परिचालन गरिएको छ । निजी घर र सरकारी कार्यालयलाई एक/एक धारो तथा मिटर र स्थानीय सैनिक अड्डा देवीदत्त गणलाई चारवटा धारो र चारवटा मिटर दिएको समितिले जनाएको छ । समितिले न्यूनतम १० हजार लिटर पानीको ९० रूपैयाँ शुल्क तोकेको छ ।

कार्यालय सञ्चालन गर्न मासिक ५५ हजार रूपैयाँ खर्च हुने अध्यक्ष पण्डितले बताए । उपभोक्ता समितिको कार्यकाल पूरा भएको र नयाँ समिति चयन नभएकाले वडा अध्यक्षको हैसियतमा जिम्मेवारी आफैँले लिएको उनले भने । केही महिनामै नयाँ उपभोक्ता समिति चयन गरेर जिम्मेवारी हस्तान्तरण गर्ने कार्ययोजना बनाएको पनि उनले जानकारी दिए ।

धमिलो पानीबाट आजित भएका गजुरी बजारका उपभोक्ता अहिले कञ्चन पानी देखेर दंग परेका छन् । खानेपानीको मुहानमाथितिरको धमिलो पानी मिसिएर खानेपानी धमिलो भएर वर्षौंदेखि समस्या भोगिरहेका उपभोक्ताको अहिले बर्खामा समेत घरको धारोमा कञ्चन पानी आइरहेको छ । त्यतिमात्र होइन, २०६१ सालबाट सुरू भएको खानेपानी योजनाले २०६५ सालसम्म आइपुग्दा २२ वटा सार्वजनिक धारो बनाएको थियो । सार्वजनिक धारोमा आफूअनुकूल र आवश्यकताअनुसार पानी नपाएको उपभोक्ताको गुनासो सम्बोधन गर्दै २०६७ सालबाट निजी धारो वितरण गरी मिटर प्रणाली लागू गरिएपछि उपभोक्ताहरु दंग भएका हुन् ।

पानी प्रशोधन केन्द्रभन्दा ७ किलोमिटर टाढाको खारा खोला र कटुवा खोलाको पानी ल्याएर प्रशोधन गरी वितरण गरेको गजुरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति गजुरीका व्यवस्थापक सुनिता पाण्डेले बताइन् ।

‘पहिले धमिलो पानी पिउन पथ्र्याे, खोलाको पानी मिसिएर फोहोर हुन्थ्यो’, उपभोक्ता शान्ति परियार भन्छिन्, ‘बालबच्चा, आफू तथा घरका सदस्य कति बिरामी भए भनिसाध्यै छैन । पहिले रूघाखोकी, ज्वरोजस्ता रोगले बेस्सरी सताउने गर्दथ्यो भने अहिले फिल्टर गरिएको पानी घरकै धारामा पाउँदा खुसी लागेको छ ।’

त्यस्तै, धारामा कपडा धोइरहेकी स्थानीय विमला खतिवडा पनि पानीको सहजताले गर्दा खुसी र सुख थपिएको बताउँछिन् । ‘टाढाबाट पानी बोक्दा शरीरलाई मार पर्दथ्यो र रोगी भइन्थ्यो, अहिले घरकै धारामा फिल्टर गरिएको पानी आएपछि सुखको सास फेर्न पाएका छौँ’, उनले भनिन् ।

-पत्रकार राजेन्द्र बस्नेत को सहयोगमा