भाइरल बन्दै ह्रस्व, दीर्घ पढाउने तीज गीतको भिडियो

1785 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : यति बेला चोक, पसल, घर, कार्यालय, गाडी हरेक ठाउँमा तीज गीत घन्किरहेका छन्। तीजका लागि दर्जनौं संख्यामा नयाँनयाँ गीत बनेका छन्। पुराना गीत पनि उत्तिकै बजिरहेका छन्। तीजका अधिकांश गीतमा माया, प्रेम, धर्म, संस्कार र परम्परालाई रमाइलो ढंगले प्रस्तुत गरिन्छ। ती गीत स्कुले बालबालिकाका लागि उपयुक्त हुँदैनन्। तर पनि स्कुले बालबालिका तिनै गीत गुनगुनाउँदै नाचिरहेका हुन्छन्। उनीहरूका लागि यसको अर्को विकल्प नहुँदा यो बाध्यता बनेको छ।

यही बाध्यता तोड्ने प्रयास गरेको छ शंखमूलको अवेरनेस इन्टरनेसनल एकेडेमीले। विद्यालयका प्रबन्ध निर्देशकसमेत रहेका नेपाली शिक्षक विमल घिमिरेले यस्तो गीतको रचना गरेका हुन्। विद्यालयभित्रकै संगीत, नृत्य शिक्षक र विद्यार्थीको मेहनतमा गीतको भिडियोसमेत बनेको छ।

शिक्षक घिमिरे व्याकरण पढाउँदा विद्यार्थीले ध्यान नदिने समस्या समाधान गर्न यस्तो गीत तयार पारेको बताउँछन्। गीतमा विद्यालयकै कक्षा ९ र १० का विद्यार्थीले स्वर दिएका छन्। गीतको ‘लिड’ गायन भने कक्षा १० की छात्रा शारदा पराजुलीले गरेकी हुन्। संगीत शिक्षक राजकुमार घिमिरेले संगीत भरेका छन् भने नृत्य शिक्षक अनिश लामाले नृत्य निर्देशन गरेका छन्। विद्यालयभित्रै तयार पारिएको भिडियोको छायांकन विकल्प जीसीले गरेका हुन्।

यसरी सुरु हुन्छ गीत 
‘साधारण नियम यो सुरुको र बीचको
ह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरिलै…
हात्ती, स्वामी, खसी, सम्धी चारवटा अपवाद
पुलिंगी नाम आए, ह्रस्व घुमाऊ हात…
नेपाली व्याकरण सिकाउने यो गीतलाई तीजको रमाइलोसँग जोडिएको छ। विद्यालयका छात्रछात्राले विद्यालय पोसाकमै नृत्य गरेका छन्। तीजको समयमा तीजकै लयमा आएकाले हुनसक्छ, गीत अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। गीतमा ह्रस्व, दीर्घको नियम सिकाइएको छ। विद्यालयले नै आयोजना गरेको तीज विशेष कार्यक्रममा विद्यार्थीले यो गीत प्रस्तुत गरेका हुन्। सोही भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

कसरी लेखियो गीत ? 
गीत सामाजिक सञ्जालमा चर्चित बन्दै गएपछि लेखक विमल घिमिरे उत्साहित बनेका छन्। काठमाडौं महानगरपालिका–३१, शंखमूलमा रहेको अवेरनेस स्कुलका नेपाली विषयका शिक्षक घिमिरे विद्यालयका प्रबन्ध निर्देशक हुन्। लेखक घिमिरेसँग दिनेश लुइटेलले गरेको छोटो कुराकानी :

ह्रस्व, दीर्घको नियम सिकाउने यो गीत कहिले लेख्नुभयो ?
म नेपाली शिक्षक हुँ। विद्यार्थीले शिक्षणका क्रममा वर्णविन्यास र ह्रस्व, दीर्घका विषय कम बुझ्छन्। यसलाई कवितात्मक तरिकाले पढाउन सकियो भने अलि बढी बुझ्छन्। यो पहिलो प्रयास होइन, वर्षौंदेखि यस्तो गर्दै आएको छु। विद्यार्थीले गाह्रो मान्ने विषयवस्तुलाई सजिलोसँग बुझाउन गीतको साहारा लिएको हुँ।

तीजकै लागि लेखिएको हो ? 
यो तीजकै लागि लेखिएको होइन। पहिला–पहिला पनि कक्षामा पढाउने क्रममा यस्ता रचना गर्थें। यो लामो समय पढाउँदा तयार भएको गीत हो। तीजकै बेलामा नयाँ भाका र शैलीको गीत दिने प्रयासस्वरूप शैक्षिक सामग्रीका रूपमा यो गीत ल्याएका हौं।

अरू पनि यस्ता गीत सिर्जना गर्नुभएको छ ? 
कक्षाकोठामा पढाउने क्रममा सिर्जना भएका छोटाछोटा जानकारीमुलक गीत छन्। तर, यसरी रेकर्ड भएका गीत छैनन्। यसअघि संविधानको विषयमा पढाउँदा धाराधारा समेटेर गीत बनाएको थिएँ। खेलको माध्यमबाट सिकाउने प्रयास गर्छु। म ‘टिचिङ इज फन, लर्निङ इज फन’ भन्दै पढाउने गर्छु।

भिडियोचाहिँ कसरी तयार भयो ? 
अन्य वर्षका भन्दा अहिले ९ र १० का विद्यार्थी सिर्जनात्मक छन्। प्रविधिको प्रभाव पनि हुनसक्छ। छात्रछात्राको चाहनालाई विद्यालय परिवारले साथ दिएपछि यो भिडियो बनेको हो। विद्यालयको तीज कार्यक्रमका लागि बनाइएको स्टेजमै भिडियो छायांकन भएको छ।