मिलिजुली महिला बचत तथा ऋण सहकारीको १० औं बार्षिक साधारण सभा

1291 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

थांक्रे -मिलिजुली महिला बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा विहीवार थांक्रे गाउँपालिका वडा नम्बर ११ वालुवाफाँटमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष उर्मिला रेग्मीको अध्यक्षतामा भएको साधारण सभाको उदघाटन जिल्ला सहकारी संघ धादिङका अध्यक्ष नेत्रराज पौडेलको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यको बिशेष आतिथ्य रहेको थियो । कार्यक्रममा थांक्रे गाउँपालिाकाका उपाध्यक्ष अम्विका रुपाखेती, थांक्रे वडा नम्बर २ , ६ र ११ का वडा अध्यक्षहरुको साथै चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज (सिर्डस) धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेती,हाईवे बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष उमा नेपाललगायतको आतिथ्य रहेको थियो ।
साविकको थांक्रे, गोथनपानी, भुमेस्थान तसर्पु र केवलपुर गाविस हालको थांक्रे र गल्छी गाउँपालिका कार्यक्षेत्र रहेको यस संस्थामा ७५४ जना शेयर सदस्य रहेका छन । संस्थाको कुल शेयर पुँजी २८ लाख, २६ हजार ७०० रुपैया रहेको छ भने संस्थाले गत असार मसान्त सम्ममा १ करोड ५१ लाख ४४ हजार १ सय ७९ रुपैयाँ बचत गरेको कार्यक्रममा जानकारी गराईएको थियो ।
कार्यक्रममा सहकारी संस्थामा आवद्ध समूहहरुलाई नियमित आय व्यय तथा बचत सम्वन्धि हिसाव व्यवस्थापन गर्न एक एक थान रजिष्टर हस्तान्तरण गरिएको थियो ।
साधारण सभामा संस्थाका अध्यक्ष उर्मिला रेग्मी, कोषाध्यक्ष भगवती रेग्मी, लेखा समिति सदस्य तेजमाया रसाईली,सचिव यशोदा बिँडारी, ऋण उप समिति संयोजक निर्मला रुपाखेतीले बिषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाको अवसर पारेर संस्थाले तिज बिशेष कार्यक्रम समेत सम्पन्न गरेको छ ।