बचतले आत्मनिर्भर वन्दै राईगाउँका महिला

1441 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
धादिङ,२३ भदौ  : थोपा थोपा मिलेर सागर बन्छ भन्ने भनाईलाई सार्थक बनाउन धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ राईगाउँका महिला समूह लागि परेका छन । विपन्न राई समुदायका महिलाहरु समूमा आबद्ध भएर नियमित बचत गर्दै अहिले गाउँमै नमूना व्यवसायी बन्न सफल भएका छन् ।

समूहको बैठक बस्दै राईगाउँका महिला

बचतको माध्यमबाट गाउँमै व्यवसाय गरेर आत्मनिर्भर बनेका महिला नेतृत्व विकास तथा विकास निर्माणका काममा पनि उत्तिकै सहभागी बन्न थालेका छन् । राईगाउँकी सीता राईले समूहमा बचत गर्दै त्यहीँबाट लिएको ऋणले गाउँमै पसल संचालन गरिरहेकी छिन । राई बालकुमारी सामाजिक परिवार नामक समूहमा अवद्ध भएर नियमित बचत गर्छिन । नियमित बचत गर्दै जाँदा अहिले उनलाई घरखर्च चलाउन कुनै समस्या छैन । उनीजस्ता थुप्रै महिला बचतपछि आत्मनिर्भर बनेका छन । बचत गर्ने र ऋण परिचालन गर्ने गरेपछि उनीहरुको दैनिकी नै फेरिएको छ । अर्की स्थानीय ममता राई समूह गठन गरेर बचत शुरु गरेसंगै समुदायमा परिवर्तन देखिने काम पनि हुन थालेको बताउँछिन ।
केही बर्ष अघि सम्म गाउँमा नयाँ मान्छे देख्दा वोल्न त के नजिकै आउन पनि डराउने राई महिलाहरु अहिले निर्धक्क साथ आफ्नो परिचय दिन सक्ने मात्रै भएका छैनन, गाउँमा आईपर्ने समस्याहरु समाधानका लागि पहल गर्न सक्ने भएका छन्,राईगाउँका १४० घर परिवारलाई लक्षित गरी समग्र विकास सेवा केन्द्र गैर सरकारी संस्थाले २०६६ सालमा बालकुमारी सामाजिक परिवार नामक दुई वटा समूह गठन गरि नियमित बैठक, बचत संकलन,स्वास्थ्य तथा सरसफाई सम्वन्धि जनचेतनामूलक कार्यक्रम शुरु गरेको थियो । पिछडिएका राई महिलालाई सक्षम वनाएर समाजमा परिवर्तन देखिने खालका काम गराउन सामाजिक परिवार सफल हुंदै गएको समग्र विकास सेवा केन्द्र धादिङका जिल्ला संयोजक रुद्र कोइराला बताउँछन ।
राईगाउँका सबै राई महिला अहिले साधारण साक्षर भईसकेका छन् । समूहमा बसेपछि उनीहरु स्थानीय निकायले प्रदान गर्ने सेवासुविधाबारे समेत सजग बनेका छन् । पहिले घर व्यवहार, औषधि उपचार गर्नका लागि महँगो ब्याजमा ऋण लिने उनीहरु अहिले सहुलियत दरमा समूहबाट बिनाधितो ऋण पाउने भएपछि व्यवसाय तर्फ पनि उन्मुख हुन थालेका हुन । बचत समूहमा मासिक रुपमा १० रुपैयाँबाट शुरु गरेको बचत बढेर अहिले एउटा समूहमा २ लाख नाघि सकेको समूहकी अध्यक्ष फुलमाया राई बताउँछिन । संस्थामा बचत गर्दै आएकामध्ये कसैलाई पैसाको आवश्यक परेमा समूहबाट एक पटकमा एक जनालाई ५० हजार रुपैयाँसम्म ऋण लगानी गर्दै आएको अध्यक्ष राईले वताईन ।
महिलाहरु समूहमा आबद्ध भएपछि उनीहरूको दिनचर्यामा परिवर्तन भएको बताए । उनीहरुले आफूलाई आवश्यक परेको बेला सस्तो र सहज तरिकाले समूहबाटै ऋण पाउने गरेको बताउँछन ।समग्र संस्थाले समूहलाई शशक्तिकरणका लागि तालिम,प्रशिक्षण,बचत कोष निर्माण मात्रै गरिदिएको छैन, समूहलाई बाख्रा उपहार दिएको र समूहका सदस्यहरुले ती बाख्रालाई स्याहारसुसार गर्दै आयआर्जन तर्फ लागिरहेका छन् ।

समूहको बैठकमा निर्णय पुस्तिकामा हस्ताक्षर राईगाउँका महिला

समूहमा बचत गरेको रकम ऋणमा निकालेर तरकारीखेती र ब्रोइलर कुखुरा पालन, किराना पसल , खाजा घर संचालन गरेर आम्दानीको स्रोत जुटाउने तर्फ स्थानीय महिला लागि परेका छन् । यहाँका महिलाले समूहबाट पैसा लिएर बाख्रापालन, बंगुरपालन, कुखुरापालन गरेका छन त कसैले घुम्ती पसल र तरकारीखेती गरिरहेको समूहकी अगुवा सीता राईले वताईन ।
समूहमा आवद्ध भएर यहाँका महिलाले नियमित बचत मात्रै गरेका छैनन, गाउँलाई सरसफाईयुक्त पनि वनाएका छन् । पाँच बर्ष अघि सम्म राईगाउँमा खुल्ला ठाउँमा शौच गर्नु पर्ने वाध्यता थियो । नुवाकोटको चारघरेबाट विवाह गरेर राईगाउँ आएकी ममतालाई खुल्ला ठाउँमा शौच गर्नुपर्दा त्यतिबेला आंफ्ुले सबैभन्दा ठूलो पिडा भोगेको उनी बताउँछिन । एक दशकको अवधिमा राईगाउँमा धेरै परिवर्तन आईसकेको र विगतका ति दिन सम्झँदा अहिले पनि आँखा रसाउने गरेको ममताको भनाई छ ।
राजमार्गको नजिकै रहेर पनि निकै पिछडिएको बस्तीका रुपमा चिनिएको राईगाउँमा अहिले सबैघरमा शौचालय वनेर प्रयोगमा आएको, वालवालिका नियमित बिद्यालय जाने गरेको, महिलाहरु मासिक रुपमा समूहमा बसेर गाउँबस्तीको वारेमा छलफल गर्न सक्ने भएको स्थानीयको भनाई छ ।