धादिङमा मतदाता नामावली आधा घट्यो

715 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/सरकारले आगामी मंसिर ४ गतेको लागि निर्वाचनको मिति घोषणा गरेर असार मसान्तसम्मको लागि तोकेको फोटो सहितको मतदाता नामावली संकलन गर्ने समयसिमा असार ३१ गतेवाट सकिएको छ । अघिल्लो संविधानसभा निर्वाचनको तुलनामा धादिङमा फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराउनेको संख्या आधाले घटेको छ । अघिल्लो वर्षको संविधानसभा निर्वाचनको मतदातामध्ये आधा नागरिकले मात्र फोटो खिचाएका छन् ।

धादिङमा फोटो सहितको मतदाता नामावलीका लागि अघिल्लो संविधानसभा निर्वाचनको मतदातामध्ये आधा नागरिकले मात्र फोटा खिचाएका छन् । पहिलो सविधानसभाको निर्वाचनमा २ लाख ७६ हजार २ सय ५९ जना मतदाता रहेकोमा अहिले १ लाख ६८ हजारले मात्र फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय धादिङका नायव सुब्बा टेकराज पन्थीले वताए ।    जिल्ला निर्वाचन कार्यालयका अनुसार घरघरमा गएर संकलन गरिएको नामावली र विभिन्न शिविर तथा नागरिकता वितरण टोलीसंगै संचालन गरिएको कार्यक्रम समेतबाट क्षेत्र नं. १ मा ४१ हजार ७ सय ४९, क्षेत्र नं. २ बाट ६० हजार १ सय ५२ र क्षेत्र नं. ३ बाट ६३ हजार ७ सय ७९ जनाले नाम दर्ता गराएका छन् । जिल्लाको तिप्लिङ गाविसमा संविधानसभाको निर्वाचनमा २ हजार १ सय ८३ जना मतदाता रहेकोमा एक हजार १७ जनाले मात्र फोटो खिचाएका छन् । मतदाता नामावलीमा नाम दर्ता गराउन आफु स्वयं उपस्थित भएर फोटो खिचाउनु पर्ने र औठाछाप लगाउने पर्ने भएकोले मतदाताहरु धेरैको संख्यामा वैदेशिक रोजगारीमा रहेका कारण पनि नाम दर्ता गराउनेको संख्यामा कमी आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
फोटो सहितको मतदाता नामावली संकलन भएपछि यसअघिका निर्वाचनहरुमा नक्कली मतदाताले मतदान गरेकोले निर्वाचन परिणाम समेत गलत आउने गरेको जनगुनासो अवका दिनमा कमि हुने जिल्ला निर्वाचन कार्यालयले दावी गरेको छ । तर, यसरी फोटो खिच्नेहरुमा पनि पुरुष भन्दा महिलाको संख्या बढि रहेको कार्यालयले जनाएको छ ।

यता कतिपय सर्वसाधारणले भने काममा व्यस्त हुनुपर्ने बेला भएकोले असार मसान्तमा पनि आफूहरुले फोटो खिचाउन नभ्याएको प्रतिकृया दिएका छन् । कतिपय व्यक्तिले भने निर्वाचनमा मतदान गरेर पनि मुलुकले सहि निकास पाउन छाडेको भन्दै निराशा व्यक्त गरेर नाम दर्ता नगराएको वताएका छन ।
धादिङमा मतदाता संकलनमा कोही नछुटोस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यलयले संचालन गरेको एकिकृत घुम्ती शिविर, जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको नामावली दर्ता संकलन केन्द्रका साथै जिल्ला निर्वाचन कार्यालय परिसरमा राखिएको दर्ता स्थलबाट सर्वसाधारणले आफ्नो नाम दर्ता गराएका थिए ।