मलेसियामा विषाक्त रक्सी सेवनका कारण धादिङका विवश घले सहित ६ जना नेपालीको मृत्यु

3004 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । मलेसियामा विषाक्त रक्सी सेवनका कारण १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना नेपाली रहेको मलेसियास्थित नेपाली दुतावासले जनाएको छ । ती मध्ये एक जना धादिङका रहेका छन् । ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ ।मलेसियाको क्वालाम्पुरस्थित नेपाली दुतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ । मृत्यु हुनेहरुमा धादिङ गंगाजमुना गाउँपालिका ६ (बसेरी–३ ) का विवश घले भनिने मिम बहादुर घले, मसिना–६, रुपन्देहीका राम कुमार यादव, अमरगढी–५ डडेलधुराका विशाल बुढाथोकी, पश्चिम कुशाहा– ९, सुनसरीका सञ्जय उराव, सिद्धिथुम्का–९ इलामका बलबहादुर कुलुङ र ठेगाना नखुलेका आइतसिंह गोले रहेका छन् । १६ जना नेपाली बिरामी रहेको र उनीहरुको मलेसियाको विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।
उपचारका लागि अस्पताल भर्ना गरिएका मध्ये सनगाइ बुलह अस्पतालमा ५ जनाको निधन भएकाे छ भने ९ जनाको उपचार भैरहेकाे छ । त्यस्तै कजाङ अस्पतालमा १ जनाको ज्यान गएको छ भने ५ जनाकाे उपचार भैरहेकाे छ । बन्टाङ, अम्पाङ र क्लाङ अस्पतालमा १/१ जना गरी तीन जना नेपालीकाे उपचार भैरहेकाे छ ।

मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार बेलुकासम्म बिरामी पर्नेको संख्या ५१ पुगेको छ । बिरामीमध्ये तीन जना मलेसियाली नागरिक छन् भने बाँकी नेपाल, म्यानमार, बंगलादेश र भारतका नागरिक रहेका छन् । मलेसियाका स्वास्थ्य विभागका निर्देशक डाक्टर नूर हिशाम अब्दुल्लाहका अनुसार अहिलेसम्म मृत्यु हुनेको संख्या १९ पुगेको छ । १४ जनाको अवस्था गम्भीर रहेको छ ।

बिरामी परेको भनिएकाहरुले कडा रक्सी पिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । निर्देशक डाक्टर नूरका अनुसार त्यहाँको स्वास्थ्य विभाग र प्रदेशले गरेको अनुसन्धानमा बिरामीले क्वालालम्पुर सेलांगोर क्षेत्रबाट कडा खालको ‘मन्डालय ह्विस्की, किंगफिसर बियर र ग्राण्ड रोयल ह्विस्की किनेका थिए ।

मलेसिया क्वलालम्पुर क्षेत्रका विभिन्न उद्योग कलकारखानामा काम गर्ने मजदुरहरुले सोमबार सार्वजनिक बिदाको मौकामा रक्सी सेवन गरेका थिए । विषाक्त रक्सीका कारण ‘मेथानोल पोइजनिङ’ भएको र श्वासप्रश्वासमा समस्या, पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने, रिँगटा लाग्ने लगायतका समस्या देखिएका छन् ।