धादिङका आठ उपस्वास्थ्य चौकीको स्तरोन्नति, जिल्लाभर एक सय चौंतिस स्वाथ्यकर्मी रिक्त

528 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ/स्वास्थ्य मन्त्रालयले दरवन्दी अनुसारका स्वास्थ्यकर्मी जिल्लामा पठाउन नसकेपनि धादिङ जिल्लाका आठ उपस्वास्थ्यचौकी स्तरोन्नती भएर  स्वास्थ्य चौकीमा परिणत भएका छन् । थप भएका आठ वटा समेत गरी जिल्लामा स्वास्थ्य चौकीको संख्या अब ३३ पुगेको छ ।
स्वास्थ्य चौकीको पूर्वाधार तयार भएका जिल्लाका महादेवस्थान, नलाङ,ज्यामरुङ ,मुरलीभञ्ज्याङ,पिडा,खरी,सेमजोङ र लापा उपस्वास्थ्य चौकीको स्तरोन्नति भई स्वास्थ्य चौकीमा परिणत भएका हुन् । गत बर्षको पुस १९ गतेको मन्त्रीपरिषदको बैठकले धादिङ लगायतका देशका विभिन्न जिल्लामा रहेका केही उपस्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा परिणत गर्ने निर्णय गरेको थियो ।
आर्थिक बर्ष २०६८÷६९ मा जिल्लाको नौ वटा उपस्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर स्वास्थ्य चौकी वनाईएकोमा आर्थिक बर्ष २०६९÷७० मा थप आठ वटाको स्तरोन्नती भएपछि जिल्लामा १६ वटा उपस्वास्थ्य चौकी बांकी रहेको छ । उप स्वास्थ्य चौकीहरू स्वास्थ्य चौकीमा परिणत भएपछि सेवाग्राहीले विगतमा भन्दा थप प्रभावकारी तरिकाले सेवा पाउने जिल्ला स्वास्थ्य कार्यालय धादिङका प्रमुख बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउदले बताउनुभयो ।
स्वास्थ्य चौकीमा स्तरोन्नति भएका उपस्वास्थ्य चौकीमा एक जना हेल्थ असिस्टेन्ट, अहेव र अनमीको दरबन्दी थप हुने भएपनि धादिङ जिल्लामा दरवन्दि अनुसारका स्वास्थ्यकर्मी नभएका कारण व्यवस्थापनमा भने समस्या रहेको दाउद वताउनुहुन्छ । जिल्लाभर तीन सय २२ स्वास्थ्यकर्मीको दरवन्दी रहेको भएपनि लामो समयदेखि जिल्लामा दरवन्दी अनुसारका स्वास्थ्यकर्मीको अभाव रहंदै आएको छ । जिल्लामा अहिले एक सय ८८ जना स्वास्थ्यकर्मीमात्र कार्यरत छन । जिल्ला स्वास्थ्य कार्यालयको अभिलेख अनुसार मेडिकल अधिकृत ३ , हेल्थ असिष्टेण्ट २६,अहेव ५१,अनमी ४६,ल्याव टेक्निशियन १,मेडिकल रेकर्ड सुपरभाईजर १,कोल्डचेन अधिकृत १,ल्याव असिष्टेण्ट १ र तथ्याङक सहायक १ गरी एक सय ३४ जना स्वास्थ्यकर्मीको दरवन्दि रिक्त रहेको छ ।
दरवन्दी अनुसारका स्वास्थ्यकर्मीको पदपुर्ति नभएपनि जिल्लाको पचासैवटै गाविसमा स्थापना भएका एक–एक वटा बर्थिङसेन्टरमा स्थानीय गाविस,स्वास्थ्य क्षेत्रमा कार्यरत संस्थाहरुको सहयोगमा सुविधासम्पन्न चौबीसघन्टे बथिर्ङ सेवा मार्फत र सुुरक्षित सुत्केरी तथा मातृत्व सेवा भने सञ्चालनमा रहेको बरिष्ठ जनस्वास्थ्य प्रशासक दाउदले बताउनुभयो ।
उपस्वास्थ्य चौकीहरुवाट सर्वसाधारणले अतिआवश्यक २४ प्रकारका औषधि पाउँदै आएकामा स्तरोन्नतिपछि औषधिको प्रकारमा बढोत्तरी भई ३५ प्रकारको औषधि उपलब्ध हुनुपर्ने भएपनि अघिल्लो बर्ष स्तरोन्नती भएका स्वास्थ्य चौकीले अहिले सम्म पनि नयां सेवा सुविधा नपाएको स्वास्थ्यकर्मीहरुको गुनासो छ ।
धादिङ जिल्लामा जिल्ला अस्पताल एक, प्राथमिक स्वास्थ्य केन्द्र दुई,३३ स्वास्थ्य चौकी, १६ उपस्वास्थ्य चौकी,५० वटा वर्थिङ सेन्टर र चार वटा स्वास्थ्य सेवा विन्दु,एक सय ९१ गाउंघर क्लिनिक र दुई सय २५ वटा खोप केन्द्र मार्फत सर्वसाधारणले स्वास्थ्य सेवा लिंदै आईरहेका छन । स्वास्थ्य संस्थाको संरचना गाउं गाउंमा विस्तार हुंदै गएपनि दरवन्दी अनुसारका स्वास्थ्यकर्मी उपलव्ध नहुंदा समस्या बढेको बरिष्ठ जनस्वास्थ्य प्रशासक दाउदको गुनासो छ ।