धादिङमा ५१ सहकारीको दर्ता, ११ खारेजीमा

656 पटक पढिएको

सम्पादक: Dhadingnews.com

राजेन्द्र बस्नेत–

धादिङ /धादिङ जिल्लामा आर्थीक वर्ष २०६९-०७० अन्त सम्म ५१ सहकारी संस्थाहरु दर्ता भएकाछन् भने ११ वटा सहकारीहरु खारेजीमा परेकाछन् । खारेजीमा परेका सहकारी संस्थाहरुलाई खारेजी गर्नु अघि धेरै पटक ताकेता गरेपनि सञ्चालनमा नआएकाले खारेजी गर्नुपरेको डिभिजन सहकारी कार्यालय धादिङले जनाएको छ ।

सहकारी ऐन २०४८ को परिच्छेद १० को दफा ४१ उपदफा ३ बमोजिम सहकारी संस्था दर्ता खारेज तथा सम्वन्धित संस्थाको विनियम बमोजिम कार्य संचालन नगरि  ३ बर्षसम्म संस्थाको कुनै पनि बिबरण डिभिजन कार्यालयमा पेश नगरेका  सहकारीहरु खारेज गरेको सहकारी निरीक्षक महेश्वर ढकालले बताए ।

खारेजी गरिएका सहकारी संस्थाहरुमा गणेश हिमाल चिया कफी उत्पादक सहकारी संस्था मुलपानी ३, ज्यामरुङ ग्रामिण विद्युत सहकारी संस्था ज्यामरुङ ७, खरि ग्रामीण विद्युत सहकारी संस्था खरी ३, धुनीवेशी विद्युत सहकारी संस्था नौविसे ८, महांकाल दुग्ध उत्पादक सहकारी संस्था वैरेनी ८, फालिढुंगा दुग्ध उत्पादक सहकारी संस्था केवलपुर २ रहेकाछन् । यसैगरी जनकल्याण दुग्ध सहकारी संस्था जोगिमारा ९, चक्रदेवी महिला वचत तथा ऋण सहकारी संस्था वसेरी ६, बिज्यूलुङ यूङवा बचत तथा ऋण सहकारी संस्था दार्खा ४, मालिका चेपाङ बचत तथा ऋण सहकारी संस्था गोगिमारा ५ र जनजागरण कृषि सहकारी संस्था पिडा २ मा रहेका संस्थाहरु खोरेजी  गरिएको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

 निश्चित कार्यक्षेत्र बनाई जिल्लामा १६ किसिमका ३७८ वटा सहकारी संस्था, जिल्ला संघ १ वटा र विषयगत संघ ५ वटा रहेका छन् । दर्ता कायम रहेका सहकारीहरु कषि १५२ वटा, वचत तथा ऋण ८७ वटा, वहुउद्देश्य ३९ वटा, साना किसान कृषि ३५, फलफुल तथा तरकारी उत्पादक २० वटा र दुग्ध उत्पादक १८ वटा रहेका छन् ।

यसैगरी ग्रामीण विद्युत ६ वटा, सञ्चार ५ वटा, जडीवुटी उत्पादक ५ वटा, सामाजिक उद्यमी ३ वटा, चिया कफी २ वटा, स्वास्थ्य २ वटा, उपभोक्ता सहकारी १ वटा, च्याउ उत्पादक १ वटा, यातायात १ वटा र स्कुल १ वटा रहेकाछन् । धेरै किसिमका सहकारी संस्था दर्ता रहेपनि उनीहरु सवैको विषयगत संघ भने सवैको छैन । जिल्ला स्तरीय विषयगत संघहरु वचत तथा ऋण संघ १ वटा, साना किसान कृषि संघ १ वटा, फलफुल तथा तरकारी संघ १ वटा, वहुउद्देश्यीय संघ १ वटा र दुग्ध संघ १ वटा रहेका छन् भने यी सवै किसिमका सहकारीहरुको छाता संघ जिल्ला सहकारी संघ एउटा रहेको छ ।
सहकारी संस्था दर्ता प्रक्रिया लामो भएपनि शेयर पूजीं ( एक थान शेयर) र शेयर सदस्य संख्या कम (२५ जना) भए पुग्ने भएकाले पनि साउने च्याउ सरी सहकारी संस्था दर्ता भएका छन् । त्यसो त सरकारले पनि सहकारीलाई राष्ट्रिय अर्थतन्त्रको मेरुडण्ढका रुपमा लिएको छ ।

कारोबार दैनिक २०७० साउन २ गते