पारदर्शी भई गाउँपालिकालाई नमुना बनाउन अध्यक्ष सिलवालको आग्रह

1045 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

(सिद्धलेक) धादिङ १७ असोज  । सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालले भुकम्प पछिको पुननिर्माणका सबै गतिविधिमा पारदर्शी भई गाउँपालिकालाई नै नमुना बनाउन आग्रह गर्नुभएको छ । सिद्धलेक गाउँपालिकामा बुधवार भएको छलफल कार्यक्रममा अध्यक्ष सिलवालले यस्तो आग्रह गर्नुभएको हो ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले धादिङमा सञ्चालन गर्दै आइरहेको भुकम्प पछिको पुननिर्माण र पुनस्थापनामा सदाचार कार्यक्रम अन्तर्गत गाउँपालिमा आयोजना गरेको विद्यालयका प्रधानाध्यापक तथा अध्यक्षहरुसँगको छलफल कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सिलवालले गाउँमा बनेका विद्यालय भवन भुकम्प प्रतिरोधी तथा गुणस्तरयुक्त बनाउने काममा पनि शिक्षक तथा प्रधानाध्यापकहरुको उत्तिकै ठुलो जिम्मेवारी हुने समेत बताउनुभयो । उहाले विद्यालय बन्दै गरेको अवस्थामा नियमित प्राविधिक निरिक्षण गराउनुपर्नेमा सबैलाइ सचेत गराउँदै निर्माणको जिम्मा लिएका व्यक्तिहरुको मात्र भर पर्दा भवन विग्रन र गुणस्तरयुक्त नहुने भन्दै डिजाइन अनुसारको भए नभएको, गर्ने भनेका सबै प्रक्रिया पुरा भए नभएको तथा प्रयोग गर्नुपर्ने निमणिसामाग्री प्रयोग भए नभएको बारेमा सधै चनाखो हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण प्रसाद भट्टराइले निर्माणको कुरामा कुनै सम्झौता नगर्न सबैलाई सचेत गराउनुभयो । उहाले भवन बन्छ भन्दा पनि बलियो भवन बन्छ कि बन्दैन भन्नेमा सचेत हुनुपर्नेमा ध्यान दिनुपर्ने बताउनुभयो । प्राविधिक पाटोबाट बनेका संरचनाहरुको नियमित अवलोकन गर्नुपर्ने सुझाव दिँदै उहाले विद्यालय भवन बरु ढिलो बनोस तर गुणस्तरको बनोस भन्नेमा सबैले ध्यान दिनुपर्ने सुझाव दिनुभयो । यसैगरी कार्यक्रममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका बरिष्ठ कार्यक्रम अधिकृत विनोद भट्टराइले भुकम्प पछिको पुनर्निर्माणमा सदाचार अपनाउनु सबैको कर्तव्य भएको बताउनभयो । उहाले एउटा सानो कमजोरीेले हाम्रा भवनहरु कमजोर हुने भन्दै यस्ता कुरामा सधैं सबैले खवरदारी गर्नुपर्ने सुझाव दिनुभयो ।

सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कमला शर्मा, शिक्षा अधिकृत भवनकुमार केसी, श्रोतव्यक्तिहरु नवराज अधिकारी तथा सरोज खतिवडा, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षाका शव इन्जिनियर शेरबहादुर खाती तथा गाउँपालिकाका विद्यालयका प्रधानअध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।