मलेसियामा १५ लाखभन्दा बढी कमाउने नेपाली मजदुर

1318 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

क्वालालम्पुर– वैदेशिक रोजगार भन्नासाथ गाह्रो काम, थोरै कमाइ अनि कैयन बेतिथिका भोगाइ हुन्छन् भन्ने नकारात्मक धारणा छ तर विभिन्न मुलुकमा पुगेर काम गर्ने कतिपय नेपाली निकै सान, मान र इज्जतका साथ कमाइ मात्र गर्दैनन् अन्य स्वदेशी तथा विदेशीलाई रोजगारीसमेत दिलाउँदै आएका छन् । तिनैमध्येका एक छन्, सुनसरी जिल्लाको इटहरीका शम क्षत्री । जो मलेसियाको चेन होटल ‘होटल ग्राण्ड कन्टिनेन्टल’ मा इज्जतिलो पदमा कार्यरत छन् । क्षेत्रीय परामर्शदाताको रूपमा कार्यरत क्षत्रीले महिनामा १६ लाख रूपैयाँभन्दा बढी कमाउछन् । इज्जतिलो काम र राम्रै कमाइका साथै उक्त होटलमा माथिल्लो दर्जामा काम गर्न पाउने कमै भाग्यमानीमध्ये पर्छन् क्षत्री । ‘इमान र इज्जतसँगै दाम पनि ठीकै छ, महिनामा तलब मात्र रु १५ लाख हुन्छ । यता उता गर्दा १८ देखि माथि पुग्छ ।’ चेन होटल चीन, मलेसिया, सिंगापुर, बु्रनाई, संयुक्त अधिराज्य, अष्ट्रेलिया, न्युजिल्यान्डमा गरेर ६२ वटा होटल छन् । क्षत्रीले उक्त होटलेको एसिया विभाग हेर्छन् ।

सुरुमा चेन होटल सेराटनमा सेवा गरेका क्षत्रीले लेजन होटल हुँदै अहिले ग्रान्डमा विगत सात वर्षदेखि कार्यरत छन् । होटल राम्रोसँग चलेको छ । नेपाली धेरै आउँछन् । होटल क्षेत्रको १८ वर्षभन्दा बढीको यात्रामा उनी भन्छन्, ‘यहाँ धेरै नेपालीहरूमा पनि राम्रो पदमा ठूलै कमाइ गर्ने साथीहरू हुनुहुन्छ । उहाँहरूसँग मिलेर नेपालमै केही गरौँ की भन्ने सोचाइ पनि छ ।’ नेपालमै उच्च शिक्षा लिएका क्षत्रीले मलेसियामा होटल व्यवस्थापनमा स्नातकोत्तर गरे । क्षत्रीलाई पहिला पढ्नै पर्लाजस्तो लाग्दैनथ्यो अहिले काम गर्दै जाँदा शिक्षाको महत्व झल्किएको छ । ‘नेपालमा पर्यटनको भविष्य राम्रो छ किन नेपालीले अरुलाई कमाउन दिने हामी आफैँ लगानी गरेर प्रतिफल लिन सक्छौँ’, उनको भनाइ छ ।

कमाइसँगै रोजगारी पनि

क्वालालम्पुरमा व्यवसाय गर्दै आएका व्यवसायी शंकरप्रसाद आचार्य नेपाली रेस्टुरेन्ट तथा डान्स बार सञ्चालन गर्छन् । यहाँ नेपालीसहित भारत, चीन, इन्डोनेसियाका नागरिकले काम गर्छन् । व्यवसाय राम्रै चलेको छ, भविष्यमा नेपालमै आएर केही लगानी गर्ने सोच बनाएका आचार्य अनुकूल वातावरण सिर्जना गर्न सरकारले ध्यान दिनुपर्ने सुझाउँछन् । काठमाडौंका विपीन अम्गाई मलेसियाको सेलाङगोरमा रेस्टुरेन्ट चलाउँछन् । सुरुमा चारवटा रेस्टुरेन्ट र एक मिनी मार्केटसमेत चलाएका उनको हिमाल रेस्टुरेन्टमा नेपालीकै घुइँचो हुन्छ । यो क्षेत्रमा उनीजस्तै अन्य सात जनाले व्यवसाय गर्छन् । नेपालीले रेस्टुरेन्ट व्यवसाय गर्दा कम्तीमा मलेसियन रिंगेट एक लाख लगानी गर्नै पर्छ । नेपाली तथा केही विदेशी गरी ३० जनालाई रोजगार दिलाएका उनी सुरुको जस्तो राम्रो व्यवसाय नचलेको बताउँछन् ।
सिन्धुली खुर्कोटका देवीबहादुर चौहान विगत तीन वर्षदेखि होटल ग्रान्डमा काम गर्छन् । हाल १३ नेपाली कार्यरत उक्त होटलमा कम्तीमा मलेसियन रिंगेट १८ सयदेखि २५ सयसम्म कमाइ हुन्छ । काम सजिलै छ । काम लगाउने नेपाली नै भएकाले कुनै समस्या छैन । अझै एक दुई वर्ष बस्ने योजना सुनाउँदै चौहान भन्छन्, ‘समग्रमा यहाँ काम गर्ने सामान्य कर्मचारीले महिनाको एक लाख जति कमाइ गर्छन् ।’ क्षत्रीजस्तै माथिल्लो पदमा काम गर्ने स्ट्यान्डर्ड चाटर्ड बैंकका देशीय प्रमुखमा एक नेपाली छन् भने क्वालालम्पुरको टुइन टावरको मुख्य इन्जिनियरमा दिनेश पौडेल कार्यरत छन् ।

मलेसियामा प्रतिष्ठित कम्पनीमा माथिल्लो तहका काम गर्ने मात्र होइन, यहाँका विभिन्न कम्पनीमा काम गर्ने नेपाली मजदुरले पनि राम्रो कमाएर प्रगति गरेका छन् । यहाँको फम कम्पनीमा पाण्डे अपरेटरको रूपमा काम गर्छन् । कम्पनीमा दुई हजारभन्दा बढी नेपाली र बंगालीमध्ये दुई सय नेपाली नै छन् । यो कम्पनीमा लामो समयसम्म काम गरेकाले महिनामा दुई लाख रूपैयाँ पनि कमाउँछन् । कम्पनीभित्र केही समस्या छैन पर्याप्त सुविधा छ । बाहिर निस्कँदा भने चोरको खतरा हुन्छ ।
सुनसरी इटहरीका एमडी अमदाज मलेसियाकै जोहरबारुको एक गार्मेन्टमा काम गछ्र्रन् । काम राम्रो चलेका बेला महिनामा आरएम २५ सय देखि २९ सयसम्म कमाइ हुन्छ । कम्तीमा पनि दुई हजार हुन्छ । कम्पनीभित्र कुनै समस्या छैन । करिब १८ सय मजदुर रहेको उक्त कम्पनीमा नेपाली मात्रै एक हजारको संख्यामा कार्यरत छन् । नेपाली धेरै भएकाले काममा पनि रमाइलो हुने अमदाजको भनाइ छ । विश्व पर्यटनको आकर्षणको रूपमा रहेको मलेसियाको सरकारी तथ्यांकअनुसार सन् २०१७ मा तीन करोड ५९ लाख विदेशी पर्यटकले भ्रमण गरेका छन् । सन् २०२० मा तीन करोड पर्यटक पु¥यउने मलेसियाको लक्ष्य रहेको बताइएको छ । रासस