पाक्न लागेको धानमा रोगको प्रकोप

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

–केशव अधिकारी

धादिङ । पाक्न लागेको धानबालीमा रोगको प्रकोप फैलिएपछि धादिङका किसानहरु मर्कामा परेका छन् ।

धादिङको थाँक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ, सिद्धलेक गाउँपालिकाका साथै धुनिबेँसी र नीलकण्ठ नगरपालिकाका विभिन्न स्थानका फाँटहरुमा पाक्नै लागेको धानबालीमा कीराको प्रकोप फैलिएको छ । फल्दै गरेको धान सुक्दै जाने रोगको प्रकोपले धानबालीमा क्षति भएपछि किसानहरु मर्कामा परेका हुन् ।

धान पाक्ने बेलामा बोट सुकेर डढ्दै जान थालेपछि किसानहरु निराश देखिएका छन् । धानबाली चुसाहा रोगले सखाप पारेपछि धादिङका किसानहरु चिन्तित भएको थाँक्रे गाउँपालिका वडा नम्बर ११ का गोकर्ण रुपाखेती बताउँछन् । घामपानी केही नभनी दुःख गरेर खेती गरेको धानबाली फसल दिने बेलामा रोगले नष्ट गरेको रुपाखेतीले बताए ।

पाक्ने बेलाको धानमा रोगको प्रकोप फैलिएपछि किसानहरु चिन्तित बनेका हुन् । धादिङमा यो वर्ष धानबालीमा महामारी नै फैलिएको गजुरी गाउँपालिका केउरिनीका कृषक माधव भण्डारी बताउँछन् ।

फल लागेर पाक्नै लागेको धानखेतीमा कीराको प्रकोप फैलिएपछि रोकथामको उपाय खोज्दै किसानहरु स्थानीय गाउँपालिका र नगरपालिकामा सहयोगका लागि जान थाले पनि अधिकांश स्थानीय तहमा कृषि विशेषज्ञ नहुँदा किसानहरुमा झनै निराशा छाएको गल्छी गाउँपालिका वडा नम्बर ६ का कृषक रामचन्द्र अधिकारीको भनाइ छ ।

कीराले धानको बोटको रस चुसेर खाएकाले धान पाक्न नपाउँदै ढल्ने र दाना तथा पराल कामै नलाग्ने गरी सुक्ने भएको छ । साताअघि ठाउँठाउँमा धानका बोट कुहिएर खस्न थालेका थिए । अब पूरै खेतभरि कीराको समस्या देखिएको थाँक्रे गाउँपालिकाका प्राविधिक सहायक राजेन्द्र रुपाखेतीले बताए ।

थाँक्रे गाउँपालिकाले थप धानबालीमा प्रकोप फैलन नदिनका लागि विषादी छर्कने कार्य सुरू गरेको छ । थाँक्रे गाउँपालिका ११ को बालुवाफाँटमा प्रकोपका रुपमा फैलिएको धानबाली सुक्ने कार्यको वडा अध्यक्ष रविप्रकाश ओझा, प्राविधिक सहायक रुपाखेतीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका थिए ।

निरीक्षणपछि धानबालीमा चुसाहा प्रकृतिको कीराको प्रकोप देखिएको थाँक्रे गाउँपालिकाका प्राविधिक सहायक रुपाखेतीले बताए । चुसाहा प्रकृतिको कीराले धानको डाँठ र फलमा चुस्ने र रस चुसेर पराल नै सखाप बनाइदिने उनी बताउँछन् ।

थाँक्रे गाउँपालिकामा प्रकोप फैलन नदिनका लागि तत्कालका लागि खेतमा गएर कीरा मार्ने औषधिहरु हालिदिए पनि अन्य स्थानीय तहमा भने अहिलेसम्म कुनै पहल नभएको किसानहरुको गुनासो छ । थाँक्रेमा अहिलेसम्म सम्भावित प्रकोप रोक्नका लागि डेल्टामेथिन र ट्राइजोफोस साकाल नामक विषादी, बोसिन भन्ने कीटनाशक औषधि र फ्लोरिक एसिडयुक्त भिटामिन फ्लावरबुस्ट ६० जना किसानलाई वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तो प्रकृतिको कीराको प्रकोप एकरातमै धेरै क्षेत्रमा फैलिन सक्ने भएकाले किसानहरुलाई तत्काल कीटनाशक औषधि वितरण गरिनुपर्ने कृषि प्राविधिकहरुको सुझाव छ ।