धादिङमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम शुभारम्भ

820 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ११ कात्तिक  । ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नारासाथ शान्तिसुरक्षा, समृद्धि र स्थायित्वका लागि नेपाल प्रहरीले ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमको  शुभारम्भ गरिएको छ । प्रहरीले स्थानीय तह, समुदाय, सामाजिक सङ्घसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी कात्तिक ११ गते शुक्रवार देखि धादिङ लगायत देशभर एकैसाथ उक्त कार्यक्रम शुभारम्भ गरेको हो ।

धादिङमा आईतबार जिल्ला प्रहरी कार्यालयको सभा हलमा धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा  जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल को प्रमुख आतिथ्य रहेको थियो ।  कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै प्रधादिङका प्रहरी उपरिक्षक डम्बरवहादुर विकले समाजमा शान्तिसुरक्षामा समुदायसँग समन्वय गर्दै ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने सरकारको लक्ष्य प्राप्त गर्न अभियान सहयोग सिद्ध हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

कार्यक्रमअन्तर्गत केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिनेछ । अपराध रोकथाम, समुदाय सुरक्षा र सचेतना, शान्ति र सुव्यवस्था, विद्यालय सचेतनासहित समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिने प्रहरी उपरिक्षक विकले जानकारी दिनु भयो । नयाँ अभियानलाई दिगो र दीर्घकालीन बनाउने लक्ष्यसहित स्थानीय तहलाई प्रमुख साझेदार बनाईएको छ ,बालबालिका र युवा अपराधको उच्च जोखिममा रहेकाले विद्यालय केन्द्रित कार्यक्रम प्राथमिकतामा रहेको पनि विकले वताउनु भयो ।

तथ्याङ्कमा ४० प्रतिशत जनसङ्ख्या विद्यालय क्षेत्रसँग सम्बद्ध छ । अपराधमा १६–२५ वर्षका बढी संलग्न छन् । त्यस्तै १८ वर्षमुनिका बालबालिका बलात्कारको शिकार भएका छन् । त्यसैले साझेदारी कर्याक्रम विद्यालयसँग जोड्न लागिएको विकले जानकारी दिनु भयो । भयमुक्त समाज, गुणस्तरीय शिक्षा, अपराध एवं हिंसाबाट सुरक्षा, शान्ति र स्थायित्व कायम गर्ने कार्यक्रमको लक्ष्य हो । अभियान सफल पार्न टोलटोलमा प्रहरी, नागरिकमैत्री प्रहरी सेवा, समुदाय र विद्यालय सचेतना कार्यक्रम एकसाथ चलाइनेछ । स्थानीय तहसँगको समन्वयमा विद्यालयमा समेत सामुदायिक सुरक्षा पाठ्यक्रम बनाएर लागू गरिनेछ ।

धादिङमा यो कार्यक्रम २ नगरपालिका र ११ गाउँपालिका समेत गरी १३ स्थानीय तहसँग समन्वय गरिनेछ । सामाजिक संस्था, विद्यार्थी, विद्यालय,  शिक्षक, प्रहरी र  अभिभावक प्रत्यक्ष संलग्न गराइने जनाइएको छ । विगतका कार्यक्रमभन्दा यसपटक फरक परिणाममुखी काम गर्ने प्रहरीको योजना छ ।