बिशालटारमा ग्याँस बुलेट पल्टिंदा दुई जना पैदलयात्रीको मृत्यु

1565 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२५ कात्तिक – धादिङको बेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ५ को बिशालटार स्थित पृथ्वीराजमार्गमा ग्याँस बुलेट पल्टिंदा दुई जना पैदलयात्रीको ज्यान गएको छ ।
भारतबाट ग्याँस लिएर काठमाडौँ आउँदै गरेको ग्यास बुलेट अनियन्त्रित भएर सडक छेउमा पल्टिंदा दुई पैदलयात्रीको ज्यान गएको हो । पैदलयात्रीलाई ठक्कर दिंदै पल्टिएको ग्यास बुलेटमा आगलागी भएपछि स्थानीयवासी त्रसित हुन पुगेका थिए । ग्यास चुहावट वन्द गर्न घटनास्थल नजिकै रहको श्रीकृष्ण ग्याँस उद्योगका प्राबिधिक घटनास्थल ल्याएर चुहावट रोकिएको ईलाका प्रहरी कार्यालय गजुरी का ईन्चार्ज प्रहरी निरीक्षक नवराज ढुङ्गानाले वताए । भारतको बरौलीदेखि काठमाडौँको बालाजु जाँदै गरेको युपी ७५ एजे ५२०८ नम्बरको एलपी ग्यासको बुलेट आफै अनियन्त्रित भएर सडकबाट २० मिटर तल पल्टिएको स्थानीयले जानकारी दिए ।
ग्यास बुलेटको ठक्करबाट पैदलयात्री वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य ३५ बर्षिया गीता नेपाली र उनको छोरी सुनिता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । गीताको घटनास्थलमै र सुनिताको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चन्द्रोदय माविको कक्षा ११ को फर्म भर्न जाँदै गर्दा शाखा सडकमा हिडिरहेका उनीहरुलाई ग्यास बुलेटले ठक्कर दिएको थियोे । ग्यास बुलेटका चालक भारतीय नागरिक २६ वर्षका भोला कुमारलाई बेनिघाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
ग्यास बुलेट अनियन्त्रित भएर पल्टिएको स्थानीयको भनाई छ । घटनास्थलमा स्थानीय, रेडक्रसकर्मी, सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन हुनुका साथै धादिङका प्रमु्ख जिल्ला अधिकारी भागिरथ पाण्डे, प्रहरी नायव उपरिक्षक डम्बरवहादुर विक लगायत उपस्थित भएका थिए । दुर्घटनाका कारण केही बेर सडक अवरोध भएको थियो । गीताको शव गजुरी प्राथमिक स्वास्थ्य केन्द्र र सुनिताको शव राजमार्ग सामुदायिक अस्पताल मलेखुमा रहेको धादिङका प्रहरी उपरीक्षक (एसपी) डम्बर बिकले जानकारी दिए ।
ग्यास बुलेट पल्टिएको ठाउँमा आगलागी हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै नेपाल प्रहरी, शसस्त्र प्रहरीको टोली तथा नीलकण्ठ नगरपालिकाको दमकल घटनास्थलमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।