संरक्षणको अभावमा ओझेलमा पर्दै कान्द्राङगढी

947 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
कान्द्राङगढी, (धादिङ) – नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा निर्माण भएको बिश्वास गरिएको ऐतिहासिक कान्द्राङगढी प्रचार प्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ ।
धादिङ जिल्लाको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ अर्थात साविकको महादेवस्थान गाविसको वडा नम्बर ५ कान्द्राङमा रहेको ऐतिहासिक गढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो । नेपाल एकिकरण हुनुभन्दा पहिले तत्कालिन मकवानपुर राज्य अन्र्तगतपर्ने कान्द्राङमा सेन वंशका राजाहरुले आफ्नो राज्य जोगाउन गढी स्थापना गरेको जनश्रुती रहेको छ ।
जिर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुङ्गाको पर्खाल लगाईएको छ भने गढी नजिकै तीन वटा ठुला ठुला सुरुङहरु देख्न सकिन्छ । घांस र झाडीले छोपिएको सुरुङ सैन्य दस्ताले सुरक्षाका निम्ति वनाईएको हुन सक्ने अनुमान धेरैको छ । गढी रहेको स्थान उचाईमा रहनुका साथै त्यहांबाट धादिङ,मकवानपुर,गोरखा र चितवन जिल्लाका विभिन्न भुभागहरु सजिलै संग देख्न सकिन्छ । तत्कालिन शासकहरुले पनि दुष्मनहरु आफ्नो राज्यमा प्रवेश गर्न नपाओस भन्नका लागि गढीको निर्माण गरि सुरक्षा व्यवस्था मिलाएको हुन सक्ने बुढापाकाहरु वताउंछन । केही बर्ष अघि सम्म गढीमा शिलालेख रहेको भएपनि संरक्षणका निम्ति कसैले चासो नदिंदा ति शिलालेखहरु अहिले हराईसकेको स्थानीयको भनाई छ ।
तत्कालिन सेन वंशहरुको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकिकरण गरेर गोरखा राज्यमा गाभेको इतिहास रहेको छ । पृथ्वीराजमार्गको मलेखुवाट चितवनको राप्ती नगरपालिकाको ग्रामीण भेग हुंदै पुर्वपश्चिम राजमार्गको भण्डारा जोड्ने सडक खण्डको छेवैमा पर्ने कान्द्राङ गढीलाई संरक्षण र प्रचार प्रसार गर्न सके पर्यटकिय स्थलका रुपमा विकास गर्न सकिने वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष टंकवहादुर थापा बताउनुहुन्छ । गढी संरक्षणका लागि यस्को ऐतिहासिक महत्वको खोजी गरी आगामी दिनमा यो ठाउँलाई पर्यटकीय क्षेत्र निर्माणका लागि पहल गरिने वडा अध्यक्ष थापाले वताए । कान्द्राङगढी पुग्न पृथ्वीराजमार्गको मलेख्ुबाट २७ किलोमिटर ग्रामीण सडकको यात्रा पुरा गर्नु पर्दछ ।
ऐतिहासिक महत्व बोकेको कान्द्राङगढीको संरक्षणका लागि अहिले सम्म राज्यको तर्फवाट कुनै चासो नदेखाईएपनि नेपाली सेनाको टोलीले समय समयमा गएर गढी क्षेत्रको सरसफाई गर्दै आईरहेको छ । ऐतिहासिक महत्व बोकेको कान्द्राङ गढीलाई संरक्षण गरेर पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न राज्यको तर्फवाट चासो देखाइनुपर्ने नेपाल चेपाङ संघका अध्यक्ष जितेन्द्र चेपाङ वताउँछन । गढीलाई पर्यटकीय क्षेत्र वनाउँदा यस क्षेत्रको ऐतिहासिक,सामरिक महत्व धेरैले थाहा पाउनुका साथै सिमान्तकृत चेपाङ समुदायको जिवनशैलीका वारेमा अध्ययन गर्न चाहनेहरुलाई सघाउ पनि पुग्ने अध्यक्ष चेपाङको सुझाव छ ।
काठमाडौंबाट चेपाङहरूको मुख्य बसोबास क्षेत्रको केन्द्रबिन्दु ब्रुसबाङ, कान्द्राङगढी लगभग ४० एरोनटिकल माइलमा पर्छ । यसको वरिपरि फैलिएर बसेका छन्, चेपाङ बस्तीहरू । चेपाङहरूको बसोबास प्रशासनिक हिसाबले हाल विभिन्न जिल्लामा बाँडिए तापनि ऐतिहासिक भौगोलिक दृष्टिले यिनको बसोबास क्षेत्र काठमाडांै पश्चिम चन्द्रागिरि पर्वतदेखि सुरु भएको डाँडा दामनपछि त्रिशूली नदीमा पुगेर सकिने पहाड (महाभारत शृङखला) को वरिपरि नै हो । प्रशासनिक हिसाबमा यिनको मूल बसोबास क्षेत्र हालको मकवानपुर, चितवन, धादिङ र गोरखा जिल्लामा पर्छन् । चेपाङ क्षेत्रको अति नै दुर्गम भनिने गाउँबाट पनि पैदल र गाडीको माध्यमबाट काठमाडौं बढीमा एकदिनमा आइपुग्न सकिन्छ । त्यसैले कान्द्राङगढीलाई पर्यटकीय क्षेत्र घोषणा गरी यस भेगको बिकास गरिनु पर्ने अध्यक्ष चेपाङ वताउँछन ।