महिनौं देखि धादिङ मालपोत कार्यालय अधिकृत विहिन, सेवाग्राहीलाई भयो सास्ती

2105 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ मंसीर-  महिनौ देखी एक जना पनि अधिकृत नभएका कारण  जिल्ला मालपोत कार्यालय धादिङमा सेवाग्राहीहरु  सेवा पाउनबाट सेवा पाउनबाट बञ्चित भएका छन् ।
जिल्लाका दुर दराजबाट सेवा लिनका लागि सदरमुकाम स्थित मालपोत कार्यालय आएका सर्वसाधरण कार्यालयमा अधिकृतस्तरको कर्मचारी नभएकै कारण काम नभएर निराश भई फर्कनु पर्ने बाध्यतामा छन् ।
एक जना उपसचिव र तीन जना अधिकृतको दरवन्दी रहेको जिल्ला मालपोत कार्यालय धादिङ गएको दशैं देखि अधिकृत तहका कर्मचारी विहिन हुन पुगेको हो । कार्यालयमा अधिकृततहको एक जना पनि कर्मचारी नभएको कारण जमिन किनबेचको सामान्य पास र ठाडो रोक्काको काम बाहेक अरु सेवा रोकिन पुगेको छ ।
दैनिक सयौ सेवाग्राहीहरुले सेवा लिने मालपोत कार्यालय धादिङ अहिले सुब्बाको भरमा चलेको छ । मालपोत अधिकृतहरु गौरीकान्त भट्टराई ,शेखर अधिकारीको दशै अघिनै सरुवा भएको थियो भने कार्यालय प्रमुखको जिम्मेवारी पाएका मालपोत अधिकृत रामप्रसाद मचामसि पनि दशैं पछि सरुवा भएर गएका थिए । एक जना पनि नयाँ अधिकृतहरु नआएपछि भूमिसुधार तथा व्यवस्थापन विभागले कार्यालयका सुव्वा मोतिराम थपलियालाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । निमित्तलाई कामको अख्तियारी नदिंदा कामकाज प्रभावित भएको हो । प्रमुख नहुंदा जग्गाधनि पुर्जा बनाउनेदेखि जग्गा पास गर्नेसम्मका अधिकांश काम हुन सकेका छैनन् । निमित्तको जिम्मेवारी पाएका थपलिया अधिकृतबाट हुनुपर्ने तोक आदेश र सदरको काम आंफुँले गर्न नमिल्ने बताउँछन ।
कार्यालयमा आउने सेवाग्राहीहरु कर्मचारी अभावका कारण काम नभएपछी सामान्य सेवा लिन पनी कम्तिामा चार पाँच दिन लगाउनु पर्ने बाध्यतामा रहेको बताउँछन । भुमिसुधार तथा व्यवस्थापन विभागले प्रमुख मालपोत अधिकृत र अरु अधिकृत नपठाउँदा कार्यालयको दैनिक कामकाज प्रभावित भई सेवाग्राही मर्कामा परेको र यस बिषयमा जिल्लाका सांसदहरुको ध्यानाकर्षण गराउँदा पनि कुनै सुनुवाई नभएको स्थानीय कल्याण तामाङ बताउँछन् ।
कार्यालयका कर्मचारीहरुका अनुसार धादिङ मालपोत कार्यालयमा दैनिकजसो पचासदेखी साठी ओटासम्म जग्गा पासका लिखतहरु आउने गर्दछ्न भने जग्गा रोक्का अंश बण्डा लगायतका थुप्रै कामहरुका लागी पनि त्यत्तिकै सेवाग्राहीहरु आउने गर्दछन् । कार्यालय प्रमुख र अधिकृत नभएका कारण अहिले यस्ता कुनै पनी सेवा नपाउदा सेवाग्राहीहरु मर्कामा परेका हुन् ।