घलेजातीको नयाँबर्ष माघ १ गते,धादिङमा केन्द्रीय ल्होसार मनाइने

899 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १५ मंसिर –देशभरी छरिएर रहेका घले जातीको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापना भएको लि:ल फङ (घले समाज)को आयोजनामा आगामी माघ १ गते घलेहरुको नयाँ बर्ष (ल्होसार) केन्द्रीय कार्यक्रमका रुपमा धादिङमा मनाइने भएको छ । लि : ल फङ (घले समाज) केन्द्रिय समितिले शनिवार धादिङबेसीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते  ल्होसार कार्यक्रम हुन लागेको वारेमा जानकारी दिएको हो ।

घले समुदायले माघ १ गतेलाई नयाँ बर्षका रुपमा मनाउने गरेको र यो बर्ष देशभरीका घलेहरुको उपस्थितिमा धादिङमा नयाँ बर्ष (ल्होसार) मनाउन लागिएको लि : ल फङ (घले समाज) का केन्द्रीय अध्यक्ष दिनेशकुमार घलेले वताउनु भयो । घलेहरुले परापुर्व कालदेखि ल्होसार मनाउँदै आएको भएपनि २०६५ सालमा लि : ल फङ (घले समाज) स्थापना भएपछि संस्थागत रुपमा ल्होसार मनाउन थालिएको पनि अध्यक्ष घलेले वताउनु भयो । लामो समय सम्म काठमाण्डौंमा मनाईने गरिएको ल्होसार २०७३ सालमा गोरखाको बारपाकमा,२०७४ सालमा घले जातीको उद्गमस्थल मानिएको लमजु्ङको बेशीशहरमा मनाईएको पनि उहाँले जानकारी दिनु भयो । यो बर्षको ल्होसारमा खील्हो अर्थात कुकुर वर्गलाई विदाई गरी फाल्हो अर्थात मृग वर्गलाई स्वागत गरिने वताईएको छ ।

घले जातिको हक हित र जातीय पहिचान संरक्षणकासाथै सस्कृतिलाई जगेर्ना गर्ने  लक्ष्यका साथ स्थापना गरिएको घले समाजले धादिङ लगायत देशका १६ जिल्लामा जिल्ला समिति स्थापना गरिसकेको,विदेशमा पनि समितिको विस्तार गरेको र युवा, बिद्यार्थी, महिला लगायतका भात्तृ संस्थाको पनि जिल्ला जिल्लामा संगठन निर्माण गरिरहेको कार्यक्रममा वताईएको थियो ।
घले समाज धादिङका अध्यक्ष पुर्व सभासद धनवहादुर घलेका अनुसार धादिङ जिल्लामा पनि युवा तथा बिद्यार्थीको विभाग गठन गरिएको छ ।