धादिङको विकट बस्ती साविकको झार्लाङ गाविसमा पुग्यो मोटर

827 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ जिल्लाको उत्तरी क्षेत्रको खनियाबास गाउँपालिका वडा नम्बर १ र २ मा पर्ने साविकको झार्लाङ गाविसमा सडक सञ्जाल जोडिएपछि गाउँमा मोटर चल्न थालेको छ ।

धादिङबेँसी–तिप्लिङ सडकखण्डअन्तर्गत डुन्डुरे खोलादेखि खनियाबास १ मा पर्ने गस्र्योङसम्म साढे ८ किलोमिटर मोटरबाटो निर्माण कार्य सम्पन्न भएपछि झार्लाङको गस्र्योङसम्म मोटर चल्न थालेको हो ।

उत्तरी धादिङको साविकको झार्लाङ, लापा, रिगाउँ, सेर्तुङ र तिप्लिङ गाविस जोड्ने स्थलमार्गको एकमात्र नाकाका रुपमा रहेको डुन्डुरे खोलामा २ वर्षअघि नै पक्की मोटरेवल पुल निर्माण सुरू भए पनि पुल नबनेका कारण खोलाबाट अस्थायी रुपमा गाउँ जोड्ने सडक सञ्चालनमा ल्याइएकोे हो ।

डुन्डुरे खोलादेखि गस्र्योङसम्म ४५ लाखको लागतमा मोटरबाटो निर्माण भएसँगै सदरमुकाम धादिङबेँसी र राजधानी काठमाडौँबाट समेत सीधै गाउँसम्म यातायतका साधनहरु चल्न थालेको खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङले जानकारी दिए ।

डुन्डुरे खोलासम्म केही वर्षअघि नै मोटर पुगेको भए पनि खोला तरेर पारि जाने उपाय नहुँदा जिल्लाको विकटका बासिन्दा डुन्डुरेबाट हिँडेरै गाउँसम्म पुग्न बाध्य थिए ।

सडक सञ्जाल नभएकै कारण झार्लाङ, लापा, रिगाउँ, सेर्तुङ र तिप्लिङका बासिन्दाको जीवन निकै कष्टकर बन्न पुगेको थियो । दैनिक उपभोगका लागि चाहिने खाद्यान्न ढुवानी गर्नदेखि सदरमुकाम आउन–जान पनि निकै दुःख थियो, अब भने केही सजिलो भएको झार्लाङका सामाजिक अभियन्ता मंग तामाङ बताउँछन् ।

गाउँपालिका अध्यक्ष रणबहादुर तामाङको अध्यक्षतामा मंसिर १७ गते सोमबार डुन्डुरेमा एक कार्यक्रमको आयोजना गरी डुन्डुरे–गस्र्योङ सडकको उद्घाटन गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपप्रमुख माया तामाङ, वडा नम्बर १ का वडा अध्यक्ष बुद्धि तामाङ, वडा नम्बर २ का वडा अध्यक्ष टेकबहादुर तामाङ, विभिन्न राजनीतिक दलका नेता, प्रहरी पोस्ट डुन्डुरेका प्रहरी सहायक निरीक्षक मनोजकुमार चौधरीलगायतको आतिथ्यता रहेको थियो ।

  • तस्बिर दुर्गावहादुर शाहीको फेसबुकवालबाट