सम्वन्ध विच्छेदमा बैदेशिक रोजगार मुख्य कारक बन्दै

1212 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ,२१ मंसीर – नयाँ मुलुकी ऐन लागू भएपछि अहिले सम्म धादिङ जिल्ला अदालतमा पारपाचुकेका ९४ वटा मुद्दा परेका छन । सम्वन्ध विच्छेदका घटना अस्वाभाविक वृद्धि त छँदैछ, यसका कारण पनि सामान्य मात्र छैनन् । आर्थिक, सामाजिक र जात विशेष मात्र नभै वैदेशिक रोजगारीले परिवारसंग छुट्टिँदा पनि सम्वन्ध विच्छेदका घट्ना धेरै भइरहेका छन् । जिल्ला अदालतमा दायर भएका मुद्दा मध्ये २७ वटा पुरुषले दायर गरेका हुन । मुद्दा दायर गर्ने अधिकांश पुरुष वैदेशिक रोजगारीबाट फर्किएकाहरु रहेका छन् ।
श्रीमतीले घरव्यवहार चलाउन नसकेको, आफु बैदेशिक रोजगारीमा रहदा धन सम्पत्ति हिनामिना गरेको, परपुरुष सग सम्बन्ध जोडेको जस्ता आरोप सहित सम्वन्ध बिच्छेदका मुद्धा लिएर अदालत जानेहरुको संख्या धेरै रहेको छ । धादिङ अदालतमा सबै भन्दा धेरै मुद्दा नै सम्वन्ध विच्छेदको पर्ने गरेको जिल्ला अदालतले जनाएको छ ।
बाबुआमाको सम्बन्ध विच्छेदका कारण सन्तानले एकातिर अभिभावकहरुको मेलमिलापपूर्ण सरल परम्परा गुमाउन पुगेका छन् । अर्कोतिर पतिपत्नीले रुखोसुखो खाएर भएपनि शान्तिपूर्वक संगै बाँच्ने संगै मर्ने भन्ने पुरानो भावनात्मक मिलनको संस्कृति पनि समाप्त हुँदै गएको अदालती अभिलेखले देखाएको अधिबक्ता टंककुमार श्रेष्ठ वताउँछन् ।
केन्द्रीय पञ्जिकरण विभागका अनुसार अदालतबाट सम्बन्ध विच्छेद भएपछि स्थानीय तहमा दर्ता भएका विवरण अनुसार हरेक वर्ष ५० प्रतिशतका दरले सम्बन्ध विच्छेदका घटना बढिरहेको छ । २०७० साल सम्म वार्षिक ४ सयको हाराहारीमा हुने गरेको सबन्धविच्छेद त्यसयता हरेक वर्ष एक हजार भन्दामाथि पुगेको छ । २०७३ सालमा २ हजार २ सय ८३ सम्वन्ध विच्छेदका घट्ना विभागमा दर्ता भएका थिए । देशभर हरेक महिना औसत एक सय ५० जोडीको सम्वन्ध विच्छेद हुने गरेको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार दैनिक १ हजार ७ सयदेखि २ हजारसम्म नेपाली युवा विदेशिने गरेका छन् । २०६८ सालको जनगणनाअनुसार नेपाली युवाको संख्या ४० लाख छ । तीमध्ये अधिकांश युवा रोजगारीका लागि बाहिरीएका छन् नेपालभित्र रोजगारीको उचित वातावरण हुन नसक्दा र क्षमताअनुसारको उपर्युक्त जागिर नभेटिँदा युवाहरू विदेश पलायन हुने दर बढ्दै गएको हो ।
विदेश पलायनको दर नरोकिँदा कतिपयको परिवारिक सम्बन्धमा दरार आएको छ । सामाजिक सञ्जाल, आर्थिक लगायतका विषयमा असमझदारी बढी सम्बन्ध विच्छेदसम्मको अवस्था आउने गरेको छ ।
विभागको तथ्यांकअनुसार २०६६÷०६७ मा २ लाख ९४ हजार ९४, २०६७÷०६८ मा ३ लाख ५४ हजार ७ सय १६, २०६८÷०६९ मा ३ लाख ८४ हजार ६ सय ६५, २०६९÷०७० मा ४ लाख ५३ हजार ५ सय ४३, २०७०÷०७१ मा ५ लाख २७ हजार ८ सय १४, २०७१÷०७२ मा ५ लाख १२ हजार ८ सय ८७, २०७२÷०७३ मा ४ लाख १८ हजार ७ सय १३ र २०७३÷०७४ मा ६ लाख ५८ हजार ९ सय ७८ जना वैदेशिक रोजगारीका लागि विदेशिएका छन्
गैरआवासीय नेपाली महासंघका अनुसार ७० लाख नेपालीहरू रोजगारी, शिक्षा आर्जनलगायत अन्य सिलसिलामा विदेशमा कार्यरत छन् । पछिल्लो समयमा नेपाली श्रम बजारमा कामको तीव्र अभाव देखिँदा विदेशिनेको संख्या बढेको वैदेशिक रोजगार व्यवसायी संघले बताएको छ । नेपालमा पर्याप्त रोजगारीको अवसर नभएको भन्दै दैनिकरूपमा १ हजार ५ सयभन्दा बढी विदेश जाने गरेको विभागले जनाएको छ । रोजगारबाहेक शिक्षा, व्यापार, विवाह आदि कारणले विदेश गएकाहरूको पनि अभिलेख गर्न सके यो संख्या अझै बढ्ने विज्ञहरू बताउँछन्।
रोजगारीका लागि कामदार विदेशिने मुलुकमा सबैभन्दा बढी कतार, मलेसिया, ओमान, यूएई, कुबेत, साउदी अरब, बहराइन, जापानलगायतका देशहरू बढी आकर्षको रूपमा रहेका छन्। नेपाल सरकारबाट संस्थागत रूपमा वैदेशिक रोजगारका लागि १ सय ७ देश खुला गरिएको छ ।
कुनै वेला नेपाली समाजमा कोही कसैलाई अन्याय परेको खण्डमा अड्डा जानु भन्दा गाउँका भद्रभलादमी बसेर दुई पक्षलाई तामा तुलसी भकाउने,धर्मको डर मान्ने,पाप र पुण्यको अवधारणा राख्ने चलन कायम थियो, समयको क्रमसंगै न्याय माग्ने पुराना चलन हराईसकेको छ,हिजो आज जस्लाई अन्याय महसुस हुन्छ उस्ले सजिलै संग न्याय खोज्न न्यायिक निकाय जान सक्ने भएका छन् । विगतमा गाउँघरमै घर भित्रको झगडा मिलाउने भएका कारण लोग्ने स्वास्नीको झगडा परालको आगो भन्ने उक्ती चलनमा थियो । अहिले त्यो उक्ती उल्टिएर लोग्ने स्वास्नीको आगो अग्राखको आगो वन्न थालेको छ । जसका कारण पती र पत्नी बीच मतभेद बढ्द गएपछि कानूनी उपचारको माध्यमबाट सम्बन्ध विच्छेद हुने क्रम पनि बढ्न थालेको हो ।
पुरानो मुलुकी ऐनमा महिलाले अदालतमा सिधै नालिस दिएर पारपाचुके गर्न पाइने तर पुरुषले भने स्थानिय निकायको सिफारिसमा मात्रै मुद्दा हाल्न पाइने चलन रहेको थियो । हाल नयाँ मुलुकि ऐनले दुवैलाई जिल्ला अदालतमा गएर पारपाचुके मुद्दा दायर गर्न पाउने बनाईएपछि जिल्ला अदालतमा सम्वन्ध बिच्छेदको मुद्धा बढ्दै गएको छ ।