धादिङमा १४ सय १९ वर्ष कैद र तीन करोड ४० लाख ८९ हजार जरिवाना भुक्तान हुन बाँकी

1112 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ जिल्लामा विभिन्न अपराधमा अभियोग लागेकाबाट १४ सय १९ वर्ष ४ महीना १२ दिन कैद र तीन करोड  ४० लाख ८९ हजार ९ सय २० रुपैयाँ ६९ पैसा जरिवाना भुक्तान हुन बाँकी रहेको जिल्ला अदालत धादिङले जनाएको छ ।
विभिन्न अभियोग लागेर कैद सजायँ पाएका र जरिवाना तिर्नुपर्ने फैसला भएकाहरुको बक्यौता फर्छयौटका लागि अदालतले धादिङ जिल्लाका १३ वटै स्थानीय तह, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन र जिल्ला प्रहरीलाई पत्राचार गरि जानकारी गराएको जनाएको छ । जिल्ला अदालत धादिङबाट फैसला भएका र विभिन्न न्यायिक निकाय, अन्य जिल्ला अदालत, उच्च र सर्वोच्च अदालतबाट जिम्मेवारी सरि आएका हत्या, डाका, चोरी, जालसाजी, बहुविवाह, लागु औषध ,सवारी ज्यान, ज्यान मार्ने उद्योग, मानव बेचविखन,सरकारी कागज छाप दस्तखत किर्ते लगायतका अभियोगमा अदालतबाट सजाय पाएर पनि फरार अभियुक्तबाट उक्त कैद र जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला न्यायाधिश प्रकाश ढ्रुंगानाले जानकारी दिनु भयो ।
अदालतले तोकेको कैद तथा सजायँ भुक्तान गर्न बाँकी रहेकाहरुमा २००७ साल देखिका समेत छन् । कतिपय दण्ड सजायँ पाएका अभियुक्तहरु अहिले जिवित छन या मरिसके भन्ने एकिन गर्न समेत मुस्किल भएको अदालतले जनाएको छ । फर्छयौट हुन बाँकी रहेको कैद जरीवाना मध्ये धादिङ जिल्लाको सबैभन्दा पुरानो लगतमा २००७ साल पुस ५ गतेको फैसलाबाट धादिङ जिल्ला कल्लेरी विर्तामनी हाँडीखोला बस्ने मगरनी भनिने व्यक्तिलाई चोरी अन्यको आरोपमा २ बर्ष कैद सजायँ दिईएको भएपनि कैद भुक्तान नगरी बसेकोले निजको नाममा लगत कायम रहेको छ । चोरी अन्यको आरोपमा दण्डसजायँ पाएका धादिङ जिल्ला जोगिमारा गाविस फणराज ठेगाना उल्लेख भएका बलवहादुर गिरी, च्यासे खुलाल मगर र सोमराज राना मगर रहेका छन । उनिहरुलाई २००७ साल चैत २८ गतेका मितिमा १ बर्ष कैद सजायँ तोकिएको भएपनि उनिहरुले पनि कैद सजायँ भुक्तान नगरेको जिल्ला अदालतको अभिलेखमा उल्लेख छ ।
जिल्लाका आठ सय ८५ जना अभियुक्तबाट १४ सय १९ वर्ष ४ महीना १२ दिन कैद र रु तीन करोड ४० लाख ८९ हजार ९ सय २० रुपैयाँ ६९ पैसा जरिवाना भुक्तान हुन बाँकी रहेको धादिङ जिल्ला अदालतका श्रेस्तेदार नवराज दंगालले जानकारी दिनुभयो ।
अभियुक्तमध्ये कैद मात्र तोकिएका ५ सय २० जना कैद र जरिवाना दुबै सजाय तोकिएका २ सय ८६ जना रहेका छन भने कैद सजाय मात्रै तोकिएका ८८ र जरिवाना मात्रै तोकिएका २३४ जना छन् । अदालतबाट सबैभन्दा बढी २० वर्षसम्मको जेल सजाय तोकिएका १३ जना रहेका छन् भने बुढाथुम गाविस वडा नम्बर ७ का शेरवहादुर थापालाई बैकिंग कसुर सम्वन्धी आरोपमा २१ बर्ष जेल र ८८ लाख ९० हजार ८ सय २० रुपैयाँ जरिवाना तोकिएको छ । जिल्ला अदालतबाट सबैभन्दा धेरै जरिवाना असुल गर्नु पर्नेमा थापा रहेका छन भने धुंवाकोट गाविस वडा नम्बर ४ माईती भई मार्पाक वडा नम्बर ४ की बिष्णु गिरीलाई २०३१ साल चैत ३० गते ५ रुपैयाँ जरिवाना तोकिएकोमा सो समेत असुल नभएको अदालतको लगत अभिलेखमा उल्लेख छ ।
अभियोग लागेर जेल तथा जरिवाना तोकिएका कतिपय मान्छे फरार भएर, मृत्यु भएर तथा बेपत्ता भएका कारण पनि धेरै अगाडि देखिको लगत फर्छयौट हुन बाँकी रहेको देखिएको धादिङ जिल्ला अदालतका न्यायधीश प्रकाश ढुंगानाले जानकारी दिनुभयो । धादिङमा मात्रै नभइ मुलुकभर अपेक्षा अनुसार लगत फर्छयौट हुन नसकेकाले कडाइका साथ असुलउपर गर्नका लागि मुलुकभर फैसला कार्यान्वयन वर्ष समेत शुरु भएको उहाँले बताउनुभयो ।
अदालतमा आएका मुद्धाहरुमाथि कैद र जरिवाना असुल गर्ने फैसला गरेपनि असुल हुन नसक्दा अदालतलाई नै असहज भईरहेको जिल्ला अदालतका श्रेस्तेदार दंगालले बताउनु भयो । उहाँले कैद बाँकि रहेका व्यक्तिहरुको खोजीकालागि जिल्ला अदालतले स्थानीय तह, जिल्ला समन्वय समिति,जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आवश्यक विवरण सहितको जानकारी पठाएको भए पनि अदालतले दोषि ठहर गरेका व्यक्ति पक्राउ पर्न नसकेको बताउनु भयो ।