ऐतिहासिक कान्द्राङगढीको संरक्षणमा जुट्यो नेपाली सेना

3546 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

केशव अधिकारी
कान्द्राङगढी,(धादिङ), ९ पुस – संरक्षण र प्रचार प्रसारको अभावले ओझेलमा पर्दै गएको धादिङ जिल्लाको दक्षिणी भेगको विकटमा रहेको ऐतिहासिक कान्द्राङगढीको संरक्षणमा नेपाली सेनाले चासो देखाएको छ ।
वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को कान्द्राङमा रहेको ऐतिहासिक गढी नेपाल एकिकरण हुनु भन्दा पहिले तत्कालिन सेन शासकहरुको पालामा निर्माण भएको जनबिश्वास रहेको छ । समुद्री सतहबाट १४ सय ५० मिटरको उचाईमा रहेको कान्द्राङगढी संरक्षण हुन नसक्दा ओझेलमा पर्दै गएको हो । जिर्ण अवस्थामा रहेको गढीमा चारैतिर ढुङ्गाको पर्खाल लगाईएको छ भने गढी नजिकै साना ठुला गरी चार वटा सुरुङहरु देख्न सकिन्छ ।
गढी रहेको स्थानबाट धादिङ,मकवानपुर,गोरखा र चितवन जिल्लाका विभिन्न भुभागहरु सजिलै संग देख्न सकिन्छ । तत्कालिन सेन शासकहरुले पनि धादिङ, गोरखा र नुवाकोट तर्फबाट दुष्मनहरुले आक्रमण गर्न नसकुन भनेर कान्द्राङमा गढीको निर्माण गरेको हुन सक्ने जन विश्वास गरिएको छ । केही बर्ष अघि सम्म गढीमा शिलालेख रहेको भएपनि संरक्षणका निम्ति कसैले चासो नदिंदा ति शिलालेखहरु अहिले हराईसकेको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष टंकवहादुर थापा वताउनुहु्न्छ ।
तत्कालिन सेन वंशहरुको राज्य रहेको मकवानपुर राज्यलाई गोरखाका राजा पृथ्वीनारायण शाहले एकिकरण गरेर गोरखा राज्यमा गाभेको इतिहासका पुस्तकहरुमा उल्लेख गरेको पाइन्छ ।  कान्द्राङ गढीलाई संरक्षण र प्रचार प्रसार गर्न सके पर्यटकिय स्थलका रुपमा विकास गर्न सकिने स्थानीय सामाजिक अगुवा तुलसी थापाको सुझाव छ । पृथ्वीराजमार्गको मलेखुबाट २२ किलोमिटर कच्चि सडक हुंदै गढी पुग्न सकिन्छ ।
ऐतिहासिक महत्व बोकेको कान्द्राङ गढीको संरक्षणका लागि अहिले सम्म राज्यको तर्फवाट कुनै चासो नदेखाईएपछि नेपाली सेनाले नेपाली सेनाले मुलुकको स्वाधीनता र अखण्डतासँग जोडिएका महत्वपूर्ण धरोहरका रुपमा रहेका गढीको पुनःनिर्माण र संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्न रक्षा मन्त्रालय मार्फत सरकारसंग अनुमति पाएको छ ।
नेपाल एकीकरण तथा नेपाल अंग्रेज युद्ध र त्यसपछिका विभिन्न समयमा प्रयोगमा आएका गढी, किल्ला र क्षेत्रीय संग्रहालयको सुरक्षा र संरक्षण रक्षा मन्त्रालय मातहत ल्याउने र त्यसको जिम्मा नेपाली सेनालाई दिन सरकारले निर्णय गरिसकेको छ । ऐतिहासिक महत्वका गढीहरु आगामी पाँच वर्षभित्रमा पुनःनिर्माण संरक्षण गर्ने कार्ययोजना नेपाली सेनाले बनाएको र सोही अभियान अन्र्तगत कान्द्राङगढीको संरक्षणका लागि पहिलो चरणमा गढी क्षेत्र सरसफाई गरिएको नेपाली सेनाको गजुरीस्थित देवीदत्त गुल्मका सेनानी गौरव सिलवालले वताउनु भयो ।
संरक्षण हुन नसकेर जिर्णहुनुका साथै बर्षौ देखि घांस र झाडीले छोपिएको गढीको भग्नावशेषको सेनानी सिलवालको नेत्तृत्वमा देवीदत्त गणबाट खटिएको ८० जना नेपाली सेनाको टोलीले दुई दिन लगाएर भत्किएको पर्खाल लगाउनुको साथै सरसफाई गरेर गढी सम्वन्धी जानकारी दिन होर्डिङ बोर्ड समेत राखेको छ । शनिवार विहान गढीमा पुगेको नेपाली सेनाको टोली आईतबार सांझ गढीबाट फर्किएको हो ।

र यो पनि पढ्नुहोस

संरक्षण हुन सकेन ऐतिहासिक कान्द्राङ गढी