जिल्ला स्वास्थ्य कार्यालय धादिङमा १४ जनाको दरबन्दी रहने

2303 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङ-संघीय संरचना अनुसार  जिल्ला स्वास्थ्य कार्यालय धादिङमा १४ जना कर्मचारीको दरवन्दी रहने भएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयअन्तर्गत रहने स्वास्थ्य कार्यालयहरूमा दरबन्दी संख्या भने पहिलाको तुलनामा केही घटेको छ । धादिङ लगायत उच्च जनसंख्या भएका ३२ जिल्लामा  १०औँ तहका एक जनस्वास्थ्य प्रशासक सहित १४ जनाको काठमाडौंमा ११औँ तह, मध्यम जनसंख्याका २५ र कम जनसंख्याका १९ जिल्लामा ७ वा ८औँ तहका जनस्वास्थ्य अधिकृतले स्वास्थ्य कार्यालयको नेतृत्व गर्नेछन् ।

स्वीकृत संरचनाअनुसार जिल्ला तहमा सबैभन्दा बढी काठमाडौंमा १६ जनाको दरबन्दी स्वीकृत भएको छ । काठमाडौं स्वास्थ्य कार्यालयमा ११औँ तहको प्रमुख जनस्वास्थ्य प्रशासक अन्तर्गत १०औँ तहका एक जनस्वास्थ्य प्रशासक, जनस्वास्थ्य अधिकृत, तथ्यांक अधिकृत, हेल्थ असिस्टेन्टसहित १२ पद रहनेछन् ।

त्यसैगरी काठमाडौंपछि बढी जनसंख्या भएका ३२ जिल्लामा ११ पदमा १४ दरबन्दीका दरले ४ सय ४८ दरबन्दी रहने भएका छन् । ती जिल्लाहरूमा १०औँ तहका वरिष्ठ÷जनस्वास्थ्य प्रशासकले नेतृत्व गर्नेछन् । १४ दरबन्दी रहने जिल्लामा झापा, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी सर्लाही, रौतहट, बारा, इलाम, धादिङ, कपिलवस्तु, दाङ, बर्दिया, काभ्रे, पाल्पा, सुर्खेत, रूपन्देही, कैलाली, बाँके, नुवाकोट, मकवानपुर, गोरखा, कास्की, ललितपुर, चितवन, पर्सा, मोरङ, तनहुँ, स्याङ्जा, गुल्मी छन् ।

स्वीकृत दरबन्दी तेरिजअनुसार सिन्धुली, डढेल्धुरा, धनकुटा, डोटी, उदयपुर, पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, रामेछाप, अर्घाखाँची, प्युठान, रोल्पा, सल्यान, दैलेख बझाङ, जाजरकोट, अछाम, दार्चुला, बैतडी, पर्वत र लमजुङसहितका २५ जिल्लाका लागि १० वटा पदमा १२ दरबन्दीका दरले ३ सय दरबन्दी स्वीकृत भएका छन् ।

त्यसैगरी भक्तपुर, कञ्चनपुर, नवलपुर, नवलपरासी, तेह्रथुम, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, रुकुम पूर्व, रुकुम पश्चिम, डोल्पा, हुम्ला, बाजुरा, म्याग्दी, ताप्लेजुङ, जुम्ला, कालिकोटसहित कम जनसंख्याका १९ जिल्लामा १० पदमा ११ दरबन्दीका दरले २ सय ९ दरबन्दी स्वीकृत भएका छन् ।