विपन्न विद्यार्थीलाई कपडा र कम्बल वितरण

1441 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,-शरिरमा कपडाको नाममा एउटा पातलो सर्ट र पुरानो भईसकेको पाईन्ट छ, कतिको त पाईन्ट च्यातिएर ठाउँ ठाउँमा भ्वाङ परिसकेका छन, भएको सर्टमा पनि टाँक समेत छैन । जुत्ताचप्पल त टाढाको कुरा जस्तै भएको छ , चोतेशका चेपाङ बालबालिकाका लागि । तुसारोले ढाकेको भिरपाखामा खाली खुट्टा हिँडिरहेका साना बालबालिकाकोे शरीर चिसोले थरथर कामिरहेको हुन्छ ।
च्यातिएको एक सरो कपडा लगाएर खाली खुट्टामा विद्यालय धाउनु उनीहरूको बाध्यता भएको छ । चिसोले पटपटी फुटेका खाली खुट्टामा ती बालबालिका हरेक दिन बिद्यालय आवत जावत गर्दछन् । यस्ता दृश्य दक्षिणी धादिङका विकट क्षेत्रमा रहेका प्राथमिक तहका विद्यालयमा हरेक दिन देखिन्छ । कति ठाउँमा त दुई घन्टासम्मको बाटो हिंडेर बिद्यालय पुग्ने केटाकेटी पनि छन् । चेपाङ गाउँका ठुला कक्षामा पढ्ने थोरै विद्यार्थीको खुट्टामा चप्पल देखिए पनि साना कक्षामा पढ्ने विद्यार्थीले भने कमैले मात्र जुत्ता चप्पल लगाएको पाईन्छ । डाँडापाखामा आवतजावत गर्दा भिरको बाटो हिँड्नुपर्ने भएकाले पनि कतिपय अभिभावकहरू छोराछोरी चिप्लेर लड्लान भनेर चप्पल किनिदिँदैनन, कतिले भने चप्पल किन्ने रकम जुटाउन नसक्दा वालवालिका खाली खुट्टा हिंडडुल गर्न वाध्य भएका हुन् ।त्यसो त कतिपय अभिभावकसँग जुत्ता चप्पल किन्ने पैसासमेत हुँदैन ।
चेपाङ समुदाय आफैंमा गरिबीको मारमा छन् । बिहानबेलुका छाक टार्न समस्यामा रहेका चेपाङ समुदायका लागि नयाँ कपडा, जुत्ताचप्पल लगाउनु रहर मात्रै हो, थोरैले बर्षमा एक जोर कपडा किन्न सकेपनि धेरैका लागि पनि दाताहरुको मुख ताक्नु पर्ने वाध्यता छ ।
जाडो मौसममा गरिब विद्यार्थीलाई सामान्य चप्पल मात्र सहयोग हुने हो भने ठुलो राहत हुने नेपाल चेपाङ संघका केन्द्रिय सदस्य तिलक चेपाङ बताउँछन । विभिन्न संघ÷संस्थाले गर्ने सहयोग यतायातको पहुँच नजिक भएका गाउँबस्तीमा मात्र पुग्ने भएकाले विकटका स्थानमा सहयोगीदाताहरु पनि कमै पुग्न गरेको उनले बताए ।
यसै बिच खानेकुराको अभाव र एक सरो न्यानो कपडा समेत नभएर पुसको चिसोमा कठ्याग्रिंदै विद्यालय जान बाध्य विपन्न बालबालिकालाई लक्षित गरी दक्षिणी धादिङको विकटको बस्तीमा मंगलबार बिद्यालयमै पुगेर न्यानो कपडा वितरण गरिएको छ ।
दक्षिणी धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न.ं २ चोतेस स्थित बागेश्वरी आधारभुत विद्यालयका ५५ जना बिद्यार्थीलाई दाताहरुले बिद्यालयमै गएर स्वीटर, ट्रयाकसुट सेट, टोपी, पञ्जा, जुत्ता मोजा, कापी सहित स्टेशनरी र सबैलाई एक एक थान कम्बल वितरण गरेका हुन ।
वेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न सामाग्री हस्तान्तरण कार्याक्रममा २ नम्बर वडा अध्यक्ष टंकबहादुर थापा र दाताहरु सहभागि भएका थिए ।
जिल्लाकै विकटमा रहेको र उव्जाउ कम हुने बस्ती भएका कारण यहाँका गाउँबासी बर्षैभरी जसो भोकमरीको चपेटामा परेका कारण उनिहरुका वालवालिका भोकभोकै विद्यालय जानुपर्ने वाध्यतामा छन् ।
गरिब तथा विपन्न वालवालिकाको पढाईलाई निरन्तरता दिलाउन व्यक्तिगत रुपमा पहल गरी सहयोग उपलब्ध गराएको दाताहरुको तर्फबाट डा.सदानन्द कँडेलले वताए । उनि नेपाल सरकारले गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य समेत हुन । कँडेलको अग्रसरतामा, हाल अमेरिका बसोबास गर्ने भरत भट्टराई, कृति प्रज्ञानी शाक्य, हाल जापान बस्ने याङ्ला शेर्पा, ज्योती केसी काठमाण्डौ, डा. मालिका प्रसाई तेह«थुम, इन्दु पन्त घिमिरे काठमाण्डौ, अर्जुन कुमार श्रेष्ठ धादिङ, मञ्जु तामाङ काठमाण्डौ, पविता लिम्बु ललितपुर, पुस्कल प्रसाइ झापा, शान्ति गुरुङ काठमाण्डौ विनायक शिक्षालय, गोमादेबी आंङ्दम्बे हामी दिदिबहीनी सहकारी, बिमला बज्राचार्य ललितपुर, सुजन महर्जन ललितपुर, प्रभाकुमारी ढुंगेल काठमाण्डौ ३० न.ं वडा महिला स्वंसेविका, ज्योती थापा काठमाण्डौ, नवराज काफ्ले काठमाण्डौ ले सहयोग संकलन गरि सामाग्री हस्तान्तरण गरिएको पनि अभियन्त कँडेलले जानकारी दिए ।
विद्यालयमा पुगेर सबै विद्यार्थीलाई आफ्नै हातले सहयोग हस्तान्तरण गर्दै यि बालबालिकाका लागि उच्च शिक्षासम्मका लागि निरन्तर सहयोग गर्ने र उनिहरुलाई वार्षिक रुपमा अनुगमन गर्दै शिक्षा सुधारमा काम गर्ने डा. कँडेलले बताए ।