३ नम्बर प्रदेशको नाम र स्थायी राजधानी तोकिंदै

1949 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१९ माघ – देशको राजधानी समेत रहेको ३ नम्बर प्रदेशले अब छिट्टै नाम र प्रदेश राजधानी स्थायी रुपमा पाउने ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले वताउनु भएको छ ।
शनिवार धादिङबेसीमा पत्रकारहरुसंग कुराकानी गर्दै मन्त्री ढुंगेलले ३ नम्बर प्रदेशको अब बस्ने प्रदेश सभाको बैठकमा प्रदेशको नाम र राजधानीका बिषयमा टुंगो लगाउने वताउनु भएको हो । प्रदेशको नाम र राजधानी कहाँ बनाउने भन्ने बिषयमा प्रदेश सभाको अव चल्ने संसदको बहुमतले निर्णय गर्नेछ । नाम र राजधानी नतोकिएको कारण दैनिक कामकारवाहीमा कुनै समस्या नपरेको भएपनि अव यहि बर्ष यि दुवैको टुंगो लाग्ने मन्त्री ढुंगेलले वताउनु भयो
शुन्य अवस्थाबाट अघि बढेको प्रदेश सरकार एक बर्षको अवधिमा आईपुग्दा केही नमूना काम गर्न सफल भएको र अवका दिनमा गरिने कामहरुको प्राथमिकता तयार पार्न प्रदेश योजना आयोग मार्फत योजना बैंक स्थापना हुन लागेको पनि मन्त्री ढुंगेलले जानकारी दिनु भयो ।
संविधानले स्पष्ट व्यवस्था गरेपनि प्रदेश सरकार नयाँ भएकाले कर्मचारी व्यवस्थापन देखि योजना तथा कार्यक्रम वनाउने बिषयमै लामो समय अलमलमा परेको र अहिले बिस्तारै गति लिन थालेको मन्त्री ढुंगेलको भनाई थियो । ३ नम्बर प्रदेशका सबै स्थानीय तहमा बैकिङ सेवा,प्रत्येक गाउँपालिकामा कम्तिमा १५ शैयाको प्राथमिक स्वास्थ्य केन्द स्थापना, प्राविधिक शिक्षालय, पर्यटन पुर्वाधार विकास, बिद्युत्तिकरण,जलबिद्युत लगायतका दिगो विकासका सम्भावनाहरुको खोजी गरी प्राथमिकताका आधारमा योजना र वजेट विनियोजन गर्ने काम प्रदेश सरकारले शुरु गरिसकेको मन्त्री ढुंगेलले वताउनु भयो ।
कृषि, पशुपालन तथा अन्य आय आर्जनका प्रशस्त सम्भावना र अवसर भएर पनि त्यस्को सही पहिचान र सदुपयोग हुन नसकेका कारण ठुलो जनशक्ति रोजगारीको खोजीमा विदेश जानु परेकाले अवका दिनमा वैदेशिक रोजगारीमा जानेहरुको संख्यामा कमि ल्याउने गरी गाउँ गाउँबाट रोजगारी र आर्थिक उपार्जनका कार्यक्रम अघि बढाउन प्रदेश सरकारले स्थानीय तह संग पनि समन्वय गरी योजना र निति कार्यक्रम बनाईरहेको उहाँले जानकारी दिनु भयो ।
आँप देखि स्याउ सम्म,कपास देखि बहुमुल्य जडिबुटी समेत एउटै स्थानीय तहमा उत्पादन हुने ३ नम्बर प्रदेशका खेती योग्य जमिनहरु खेती गर्ने मान्छेको अभावमा उपयोग विहिन हुंदै गएको भन्दै मन्त्री ढुंगेलले खेतबारीमा जानु भन्दा साउदी, मलेसिया जानु ठिक भन्ने मानसिकता वदल्नु आवश्यक रहेको वताउनु भयो ।
धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १४ धुंवाकोटमा स्थानीय तामाङ समुदायले शनिवार आयोजना गरेको ल्होसार कार्यक्रममा सहभागी हुन जानेक्रममा मन्त्री ढुंगेलले शनिवार विहान सदरमुकाम धादिङबेसीमा पत्रकारहरु संग भेटघाट गरी आफ्नो कुरा राख्नु भएको हो । मन्त्री ढुंगेल संगै धादिङ क्षेत्र नम्बर १ का संघीय सांसद खेमप्रसाद लोहनी,धादिङ बाट प्रदेश सभा सदस्य डाक्टर रामकुमार अधिकारीको पनि सहभागिता रहेको थियो ।