धादिङ अस्पतालको नयाँ ओपिडी भवनबाट सेवा शुरु

989 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– निर्माण कार्य सम्पन्न भई अस्पताललाई हस्तान्तरण गरिएको छ महिना पछि धादिङ अस्पतालले नयाँ ओपिडी भवनबाट विरामीको उपचार शुरु गरेको छ । जिल्ला अस्पताल धादिङको नयाँ भवनबाट चैत ४ गते सोमबार देखि बहिरंग (ओपीडी) सेवा शुरु भएको हो ।

 २०७२ साल बैशाख १२ गतेको भूकम्पले अस्पतालको पुरानो भवन भत्किएपछि अस्पतालले अस्थायी संरचनाबाट ओपिडी सेवा दिंदै आईरहेको थियो । अमेरिकेयर्स फाउन्डेसनको आर्थिक सहयोगमा हिमालयन हेल्थ केयर नेपालद्वारा निर्माण गरिएको बहिरंग भवन २०७५ कात्तिक १२ गते सोमबार स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डाक्टर सुरेन्द्र यादवले अस्पताललाई हस्तान्तरण गरेका थिए ।

कुल ४ करोड ५० लाख ४१ हजार एक सय ६ रूपैयाँमा निर्माण गरिएको हो । बहिरंग भवनमा आधुनिक स्वास्थ्य उपकरण एवम् फर्निचर जडान गरिएको भनिएपछि भवन हस्तान्तरण भएको छ महिना बिति सक्दा पनि विरामीले त्यहाँबाट  सेवा लिन भने पाएका थिएनन् ।

भवन निर्माण सम्पन्न भएको छ महिना पछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट खटिएका आवसीय विशेषज्ञ चिकित्सकहरुले नयाँ ओपीडी भवनबाट सेवा दिन शुरु गरेको अस्पताल धादिङका सूचना अधिकारी कृष्ण उप्रेतीले  बताए ।

नयाँ भवन संचालमा आएसँगै बिरामीलाई सेवा दिन सहज भएको उप्रेतीको भनाइ छ, उनले भने, ‘नयाँ ओपीडी भवन अत्याधुनिक सुविधा सम्पन्न छ, ओपीडीमा चाहिने आधारभूत उपकरण छ, नयाँ भवनमा ओपीडी  सेवा शुरु भएपछि बिरामीलाई सेवा दिन सहज भएको छ ।’

जिल्ला अस्पताल धादिङमा स्त्री तथा प्रसूति, जनरल फिजिसियन, बाल रोग, छाला तथा यौन रोग, जनरल सर्जरी, हाडजोर्नी तथा नशा र रेपियोलोजी सेवा दिएको छ ।